बेलाबेला हौसिएका बेला प्रधानमन्त्री केपी शर्मा ओली अचम्म अचम्मका कुरा गरिदिन्छन् । कहिले अझै २०–३० वर्ष एमालेमा अरुले आशा नगरे हुन्छ भनिदिन्छन् । फेरि, युवाहरु तयार भए आफू पद छोड्न तयार रहेको समेत भनिदिन्छन् । ओलीको बोलीको न भेद मिल्छ, न त काम र कुराको मेल हुन्छ । केवल सार्वजनिक खपतका लागि मात्रै बोल्ने ओलीको बोलीलाई सिरियस्ली भन्दा पनि हाँसीमजाकको रुपमा लिन थालिएको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले युवा तयार भए आफू पद छाड्न तयार रहेको भनिदिए ।
‘यो युवाहरुको समय हो । युवाहरु अगाडी बढ्नुपर्छ र युवाहरुले गर्न सक्नुहुन्छ । यो कुरा भरे छाप्छन् र भन्छन् अनि तपाईँले पद किन नछोडेको भनेर ? म त छोड्न तयारै छु नि ! कोही युवाहरु तयार हुनुपर्यो नि ! म इन्करेज गर्न चाहन्छु युथहरुलाई । लेट्स रन,’ ओलीले भने ।
सो कार्यक्रममा प्रधानमन्त्री ओलीले युवाहरुलाई तयार रहन आग्रह मात्र गरेनन्, उनले सिंह र हरिणको कथा समेत सुनाए । आफूले धेरै ठाउँमा उक्त कथा सुनाउने गरेको बताउँदै उनले हरिण सिंहबाट बच्न र सिंह हरिणलाई आक्रमण गर्न बिहानै योजना बनाउने कथा सुनाए । बिहानै एउटा सिंह उठेर आफूले हरिणलाई मार्न नसकेमा आफू दिनभर भोकै रहने भन्दै दौडेर शिकार गर्ने प्रण गर्ने र हरिणले पनि सिंहभन्दा छिटो दौडिन नसके आफू आक्रमणमा परेर मर्ने भन्दै छिटो दौडिने प्रण गर्ने गरेको कथा सुनाए ।
हरिण र सिंहबाट युवाहरुले संकल्प गरेर अघि बढ्नुपर्ने सन्देश लिनसक्ने ओलीको कथाको सार छ ।
त्यसो त ओली बेला बेला आफू अझै जवान नै रहिरहेको भन्दै सकैले आशा नगर्न भनिदिन्छन् । ओलीको पार्टी पनि छ त्यस्तै, न ओलीको अघि नेतृत्वको आलोचना कसैले गर्छ, न
ओलीले नै नेतृत्व हस्तान्तरण गर्ने कुरा गर्छन् ।
एमालेभित्रको राजनीतिक सिनारियोले ओली जिवित रहनेबेलासम्म सदाबहार एमालेको अध्यक्ष ओली नै रहनेछन् !
०८० साल चैत २३ गते शुक्रबार ओलीले कास्कीमा पुगेर अझै २० वर्षजति एमालेमा आफ्नो विकल्प नखोज्न चेतावनी दिए ।
नेकपा एमाले कास्की जिल्ला कमिटीका नवनिर्वाचितहरुलाई शपथग्रहण समारोहमा बोल्दै ओलीले चेतावनी दिएका थिए ।
‘कसैले एमालेबिनाको नेपाल भने । कसैले केपी ओलीबिनाको एमाले भने, दया लागेर आउँछ । केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला,’ उनले भने, ‘पोहोर परार मेरो सबै कपाल झरेको थियो । अहिले कपाल पलाउन थालेको छ । रोपेको होइन आफै पलाउन थालेको छ । २० वर्ष जति अरू कसैले आस नगरे पनि हुन्छ ।’
एमालेभित्रको पछिल्लो राजनीतिक घटनाक्रम हेर्दा ओलीले पद छाड्ने आश्वासन भन्दा पनि दोस्रो अभिव्यक्ति सान्दर्भिक देखिएको छ । अहिले एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियताले तरंग फैलिएको छ । सम्मानित पदमा पुगिसकेको व्यक्ति पुनः राजनीतिमा आउन हुन्छ या हुँदैन भन्ने त्यो अलग्गै बहसको विषय बन्ला । तर कोही व्यक्ति राजनीतिमा आउँछु भन्दैगर्दा रोक्न लाग्ने प्रवृत्तिले नै पनि ओलीले भनेजस्तो पद छाड्ने र तयारी गर्ने विषय केवल सार्वजनिक खपत बाहेक अरु केही होइन ।
ओलीले राजनीतिका लागि युवाहरु तयार नै भएनन् भनिरहेका छन् । एमालेभित्रको केही महिनाको मात्रै राजनीतिलाई केलाउने हो भने एमालेमा युवाहरु तयार भएनन् या तयार हुन दिइएन् प्रष्ट देखिन्छ । पार्टीको भ्रातृदेखि सुभेच्छुक संस्थासम्म आफ्नो गोजीको मान्छे राख्न ठूलै कसरत स्वंयम ओलीले नै गरेका थिए । अझ ओली र ओली ग्याङसँग नेतृत्वका लागि टक्कर लिनेहरुको हालत के भएको छ राजनीतिमा छर्लङ्ग देखिएको छ ।
त्यसो त दशौँ राष्ट्रिय महाधिवेशनबाट पार्टी नेतृत्वमा लगाइएको ७० वर्षे हदम्याद र २ कार्यकालको बाउन्ड्रि अहिले खुला गरिएको छ । गत साउनमा बसेको एमाले पोलिटब्यूरो बैठकले ७० वर्षे हदम्याद हटाउने निर्णय गरेको थियो । साथै २ कार्यकाल भन्दा बढी अध्यक्ष बन्न नपाउने प्रावधान रहेकोमा त्यसलाई समेत हटाएर अब ओली नै सर्वैसर्वा अध्यक्ष बन्ने बाटो खोलिएको छ । अब यसबाट नै बुझ्न सकिन्छ एमालेमा नेतृत्व लिन युवा तयार भएनन् कि हुन दिइएन !
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।