२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

उज्यालोको आँकडामा रमाउँदै सरकार, अझै टुकीको भरमा कयौँ गाउँघर

बागलुङको निसेलढोरको सिङ्गो गाउँ अहिलेसम्म अन्धकारमा छ । निसीखोला गाउँपालिका–५ स्थित यो गाउँमा झण्डै ३०० घरमा स्थानीय बसोबास गर्छन् ।


फाट्टफुट्ट केही घरमा सोलार प्यानलमार्फत विद्युतीय सुविधा लिए पनि अधिकांश स्थानीयहरू भने टुकी र दियालोकै भरमा छन् । 



पहिले बर्खाको समयमा मात्रै निसेलढोर पुग्ने निसीवासी अहिले स्थायी रूपमै यहाँ बस्न थालेका हुन् । निसेलढोरमा बस्ती विस्तार भए पनि अहिलेसम्म विद्युतको पहुँच नपुग्दा सयौँ स्थानीय समस्यामा पर्ने गरेका छन् । यहाँ विद्युत् विस्तारका लागि राज्यले चासो नदिएको उनीहरूको गुनासो छ । सक्नेहरूले विभिन्न विद्युतीय उपकरण लिएर उज्यालो बनाए पनि सामान्य परिवारले भने टुकीकै भरमा रात कटाउनु परिरहेको स्थानीय प्रेमकुमारी घर्ती मगरले गुनासो गरिन् । 

निसेलढोरमा विद्युत् पुर्‍याउनका लागि केन्द्र र प्रदेश सरकारसँग निसीखोला गाउँपालिकाले सहकार्य गरी रहेको जनाएको छ । स्थानीय हाइड्रोपावरबाट ताल तानेर विद्युत् लैजाने भनिए काम हुन सकेन । गाउँमा विद्युत् नहुँदा अन्धकारमै रात बिताउनका साथै सञ्चार माध्यमको पहुँचबाट टाढा हुनु पर्ने अवस्था रहेको निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगर बताउँछन् । 



सिङ्गो यो गाउँ र यस्ता कयौँ गाउँले अन्धकारमा रात बिताउनुपरिरहेको बेला नेपाल विद्युत् प्राधिकरणमा राजनीति छ । केपी शर्मा ओली नेतृत्वको सरकारमा ऊर्जाकै व्यवसायी दीपकबहादुर खड्काले मन्त्रीको जिम्मेवारी पाएपछि विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई जिम्मेवारी दिइयो । अहिले पनि मन्त्री खड्का सन्तुष्ट छैनन्, हितेन्द्रबाट सोचेअनुसारको साथ नपाएको महसुस उनलाई भइरहेको छ सायद । तर, पनि आफ्नो कार्यकालमा काम भएको देखाउन डाटा बढाउन भने लागिनै रहेका छन् । 

मन्त्री खड्काले भनेजस्तै विद्युतिकरणको तथ्याङ्क यकिन छैन । आफूले नेतृत्वसम्हालेपछि हितेन्द्रदेवले जारी गरेको श्वेतपत्र अनुसार विद्युतको पहुँच ९७.५ प्रतिशत पालिकाहरूमा र ९५ प्रतिशत वडाहरूमा पुगेको उल्लेख गरेको छ । प्राधिकरणले यसै साता आफ्नो ४० औँ वार्षिक उत्सव मनाएको छ । तर, उक्त कार्यक्रममा भने मन्त्री र कार्यकारी निर्देशकले ५ प्रतिशत घरधुरीमा विद्युत पुर्‍याउन बाँकी रहेको बताएका छन् । कयौँ गाउँमा अझै बिजुली नपुगिरहेको बेला प्राधिकरण भने विद्युतको गुणस्तर वृद्धि र स्माट बनाउनतर्फ लागेको छ । कार्यकारी निर्देशक शाक्यले त्यस्तो योजना सुनाएका हुन् ।  

ऊर्जा देशको विकास र नागरिकको जीवनस्तर उकास्ने आधारशिला हो । बिजुलीले शिक्षादेखि स्वास्थ्य, कृषि, उद्योग र रोजगारीसम्म सबैतिर सम्भावनाको ढोका खोल्छ । त्यसैले ग्रामीण होस् वा सहरी, हिमाल होस् वा तराई, प्रत्येक नागरिकले समान अवसरका साथ बिजुली उपभोग गर्न पाउनुपर्छ । त्यसैले नेतृत्व गर्नेहरू र सिङ्गो सरकार नै सबै नागरिकलाई बिजुली दिनको लागि अझै गम्भीर बन्नुपर्ने देखिन्छ ।  



  • प्रकाशित मिति : ४ भदौ, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया