अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाती, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए । ती युवाका पछि ढ्याङ्ग्रो ठट्याउँदै आइरहेका थिए, झाँक्रीहरू । माथिदेखि दौडिँदै आएको झाँक्री र एक हुल युवाको दृश्य अनौठो थियो । यो अवसरको साक्षी बन्न निसेलढोरमा सयौं मानिस जम्मा भएका थिए ।
यसलाई निसीवासीले नांखा (गाउँ) पूजा भन्छन् । यो पूजा एक हजार वर्ष पुरानो भएको स्थानीयको विश्वास छ । हरेक दुई÷दुई वर्षमा हुने गाउँ पूजा पछिल्लो समय मेलाकै रुपमा लिन थालिएको छ । गाउँ पूजालाई मगर खाम भाषामा नांखा पूजा भन्ने गरिन्छ । यो अन्य पूजाभन्दा भिन्न छ । भदौ १ गते निसीवासीले गाउँ पूजालाई धुमधामका साथ मनाउने गर्छन् ।
स्थानीयले साउन मसान्तकै दिनदेखि विभिन्न देवीदेवताका नाममा पूजा गर्ने र साँझा गाउँभरीका झाँक्रीहरु एकै ठाउँमा जम्मा भएर तन्त्रमन्त्र गर्छन् । बिहान सबेरै निसेलढोर गाउँभन्दा माथि रहेको बराह थानमा पुगेर पूजा गर्छन् । बराह थानमा पुगेपछि युवाहरुले अर्ध नग्न बनेर अनुहार र शरीरमा मोसो दली राक्षसको स्वरुप धारण गर्ने गर्छन् । सुरुआती समयमा निसेलढोर गाउँमा अनिष्ट हुन थालेपछि गाउँलेले गाउँ पूजा गर्न थालेको इतिहास छ ।
एक हजार वर्ष पहिले निसेलढोरबाट स्थानीय बसाइँसराइ गरेर अन्तै जाँदा हिँड्न नसक्ने बुढाबुढी (जुजाजुजी) लाई गाउँमाथिको ओडारमा लगेर छोडेको र महिनौँपछि हेर्न पुग्दा उनीहरुको मृत्यु भइसकेको हुँदा उनीहरुको आत्माको शान्तिका लागि गाउँ पूजा थालिएको बुढापाकाको भनाइ छ । पहिले निसेलढोर आसपासमा ठूलो बस्ती रहेको प्रमाणित गर्ने अवशेषहरू अहिले भेटिन्छन् ।
अर्को अनौठो त के छ भने बराह थानबाट पूजा गरेर फर्किएका राक्षसको रुप धारण गरेका कापै अग्लो झोलुङ्गे पुलबाट उर्लिएको उत्तरगंगा नदीमा हाम फल्छन् । हाम फाल्ने कापैलाई चोट पटक लाग्दैन भने नदीलेसमेत बताउँदैन । जसलाई स्थानीयले भूत प्रेतलाई धपाएको भन्ने गर्छन् । यसरी भूत धपाएपछि गाउँमा कुनै पनि किसिमको अनिष्ट नहुने स्थानीयको विश्वास छ ।
यस्ता ऐतिहासिक संस्कार संस्कृति स्थानीयको पहिचान हो । यसको संरक्षण गर्न स्वयं नागरिक र राज्यको दायित्व हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।