धानका लागि अत्यन्तै उर्वर मानिएको रुपन्देहीको मर्चावार क्षेत्रमा यति बेला मलको चरम अभावमा छ । समयमा वर्षा नहुँदा जेनतेन ढिलै रोपाइँ भए पनि अहिले मर्चवारका किसान मलको लागि तड्पनुपरेको छ ।
यहाँका किसानले एक बोरा मल पाउनका लागि घण्टौँ लाइन बस्नुपर्ने र अनेक हण्डर खप्नुपर्ने अवस्था सृजना भएको छ । सरकारी अनुदानको मल न्यून मात्रामा पाएर पनि यसले अपुग भएका किसान अझै भारतीय कमसल र कम तौल भएको मलको भर पर्नु परेको गुनासो गरिरहेका छन् । त्यही पनि चर्को मूल्य र भारतीय तथा नेपाली सुरक्षाकर्मीहरूको गाली, खप्की र लात खाँदै ।
मल वितरण हुने कतिपय सहकारीहरूमा भीड नियन्त्रण भन्दा बाहिर पुग्ने गरेको छ । मल लिन आएका किसानबीच ठेलाठेल र धक्कामुक्की हुँदा कयौँले चोटपटक पनि खानुपर्ने बताउँछन्, स्थानीय किसान रमाशंकर यादव ।
नेपालमा मल नपाए पछि किसान भारतीय मलको भर पर्न पर्छ । तर, भारतीय मलमा पनि तस्करको सिन्डिकेट छ । भारतमा २८० रुपैयाँ भारु पर्ने मल तस्करहरूले बढी मूल्य दिई खरिद गरेको कारण अहिले सीमावर्ती क्षेत्रमा समेत युरिया मलको हाहाकार मच्चिएको हो ।
मल पाइए पनि भारतीय सुरक्षाकर्मीको लाठी र बुट खानु परेको छ । २८० रुपैयाँ भारु पर्ने मल तस्करहरूले भने सीमा कटाएर नेपाल तर्फ २ हजार ५ सय देखि ३ हजार रुपैयाँसम्म प्रतिबोरा बिक्री गर्ने गरेका छन् ।
किसान निजामुद्दिन मुसमलमानले धान बालीको लागि आफूलाई ४० बोरा सम्म युरिया मल आवश्यक रहेको बताए । तर, सहकारीबाट एक बोरो मलसमेत नपाइने गरेको उनको गुनासो छ ।
समयमा मल हाल्न नपाएकाले कतिपयको धानबाली पहेँलो भएर सुक्न थालेको छ । कृषिप्रधान देश भनिने नेपालमा हरेक वर्ष किसानले मलको समस्या झेल्दै आएका छन् । मर्चावारका किसानले स्थानीय तह र सम्बन्धित निकायलाई बारम्बार आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो गरेका छन् ।
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार जिल्लाकै सबै भन्दा बढी धान उत्पादन हुने क्षेत्रमा पर्दछ । मायादेवी गाउँपालिकाको केही भाग, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाका केही वडा समेटिएको क्षेत्र मर्चवारको नामले प्रख्यात छ ।
मुख्य पेसा कृषि नै रहेको यहाँका स्थानीयहरू समयमै आफूलाई आवश्यक पर्ने मल नपाउँदा सरकारप्रति रुष्ट देखिएका छन् । उनीहरूले यस विषयमा संघीय सरकार र कृषि मन्त्रालयले तत्काल ध्यान दिनुपर्ने र मलको सहज आपूर्तिका लागि दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।