चितवनको भरतपुर महानगरपालिका–१३ स्थित बाटुलीपोखरी जलचर पक्षी घुँगीफोर गरुड ((एसियन ओपनविल) का लागि प्रमुख प्रजनन केन्द्रको रूपमा विकसित हुँदै गएको छ । पछिल्ला वर्षहरूमा यहाँ व्यापक संख्यामा घुँगीफोरहरू आएर गुँड बनाई बच्चा हुर्काइरहेका छन् ।
बाटुलीपोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा रहेको यस पोखरी वरपर हाल सयभन्दा बढी रुखमा ४ सयभन्दा बढी गुँड बनाएका छन् । समूहका अध्यक्ष कृष्णहरि प्रसाईंका अनुसार केही सुक्खा रुखहरूमा १० वटा गुँडसम्म पनि देखिएको छ, जुन दृश्य निकै आकर्षक देखिन्छ ।
प्रजनन याममा घुँगीफोरहरूको गतिविधि हेर्न पक्षी अवलोकनकर्ता र संरक्षणकर्मीहरू उत्साहका साथ आउने गरेका छन् । यस क्षेत्र पहिले ठूलो घोलको नामले चिनिन्थ्यो, जहाँको पानी राप्ती नदीमा मिसिन्थ्यो । तर वि.सं. २०६५ मा गंगानगर सिंचाइ आयोजना र सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा ड्याम निर्माण गरी पोखरीमा रूपान्तरण गरिएको हो । अहिले यो क्षेत्र केवल सिँचाइका लागि मात्र नभई जैविक विविधताका लागि पनि महत्त्वपूर्ण बनेको छ ।
अध्यक्ष प्रसाईंका अनुसार, पहिले यहाँ जाडोयाममा साइबेरियन चरा देखिन्थे, तर अहिलेका वर्षहरूमा स्थायी रूपमा बसोबास गर्ने रैथाने पक्षीहरू देखा पर्न थालेका छन् ।
घुँगीफोर गरुडहरू मुख्यतः चैत्र–वैशाख महिनादेखि गुँड बनाउन सुरु गर्छन्, जेठमा अन्डा पार्छन् र भदौ महिनासम्म बच्चा हुर्काउँछन् । हाल पक्षी अवलोकनका लागि मात्र पोखरी क्षेत्र खुल्ला गरिएको छ । प्रजनन याममा डुङ्गा सञ्चालनजस्ता गतिविधिहरू बन्द गरिएको छ। संरक्षणको प्रभावस्वरूप, सिजनमा २ हजार ३ सय जना सम्मले पर्यटकले बाटुलीपोखरी तालक्षेत्र अवलोकन गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।