चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को ग्राण्ड प्रिमियर शो आयोजना गरिएको छ । बुधबार नयाँ बानेश्वर स्थित वान सिनेमाजमा प्रमियर आयोजना गरिएको हो । प्रिमियरमा उपस्थित कलाकार तथा आगन्तुक दर्शकहरू ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को कथासँग भावनात्मक रूपमा जोडिएका थिए । चलचित्र हेरेपछि धेरै दर्शक भावुक पनि भएका थिए ।
नोस्टाल्जिक बनाउँदै बुवा, आमा र दाजुभाइबीचको पारिवारिक सम्बन्ध, सम्झना र जिम्मेवारीको कथा सिनेमामा देखाइएको छ । प्रिमियरमा सहभागिभएकाहरूले चलचित्रले मन छोएको र आफ्नै परिवारको याद दिलाएको प्रतिक्रिया दिए ।
बुवा र आमाले छोराछोरीका लागि गर्ने सम्झौता र बुवाआमाप्रतिको जिम्मेवारी निभाउने क्रममा छोराछोरी परिबन्धमा परेर उजाडिएको जिन्दगीको कथा चलचित्रमा समेटिएको छ । चलचित्रले सम्बन्धको महत्व, सपना पूरा गर्न गरिने संघर्ष र पारिवारिक मूल्यमान्यतालाई मार्मिक ढंगले प्रस्तुत गरेको देखिन्छ, जसका कारण दर्शकहरूले यसलाई भावनात्मक रूपमा बलियो चलचित्रको रूपमा लिएका छन् ।
शुक्रबारबाट रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा केकी अधिकारी, विजय बरालसँगै मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।
अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।