काठमाडौंको मुटु भृकुटीमण्डप फेरि एकपटक चम्किएको छ । नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनीको रूपमा चिनिने ‘नाडा अटो शो’ यस वर्ष भव्य रूपमा सुरु भएको छ । गत मंगलबारदेखि अटोमोबाइल व्यवसायीहरूको छाता संगठन अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा सुरु भएको सवारीसाधन प्रदर्शनी मेला ‘नाडा अटो शो २०२५’ मा अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको छ ।
अटो शोको पहिलो दिन मंगलबार १९ हजार ७ सय ६ जनाले अवलोकन गरेका थिए । अटो शोमा दोस्रो दिन करिब १० हजारले बढेर २८ हजार ९ सय ७८ जनाले अवलोकन गरेका छन् । आज पनि नाडा अटो शो मा उस्तै भिड लागेको छ । दुई दिनको तथ्याङ्क हेर्दा नाडाले अनुमान गरेको भन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ । जुन स्वभाविक पनि हो ।
नेपालमा अटो शो भन्नेबित्तिकै धेरैको दिमागमा नाडा अटो शो आउँछ । हुन पनि यो संस्थाले साढे दुई दशकभन्दा अघिदेखि अटो प्रदर्शनी गर्दै आएको छ । अटोमोबाइल क्षेत्रमा अर्को दोस्रो प्रदर्शनी नभएको अवस्थामा मानिसहरूमा यसको छाप पर्नु स्वाभाविकै पनि हो । यो मेला केवल किनमेल वा प्रदर्शन मात्र होइन, नेपाली अटो उद्योग र प्रविधि प्रेमीहरूका लागि एउटा उत्सव पनि हो ।
यो मेलामा साधारण दुई पाङ्ग्रे मोटरसाइकलदेखि लिएर भविष्यमा आकाशमै गुड्ने ट्याक्सीसम्मका नवीनतम प्राविधिक नमुना प्रस्तुत भएको बताउँछन्, नाडाका केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल । ‘मेलामा उत्साहजनक सहभागिता छ । व्यापार, व्यवसाय प्रवर्धन राम्रो भएको छ,’ उनी भन्छन्, ‘शोको मुख्य आकर्षणको रुपमा फ्लाइङ ट्याक्सी, रोबोटिकहरु रहेका छन् । शोमा फ्लाइङ ट्याक्सीजस्ता नवीनतम प्रविधिहरूको प्रदर्शन गर्नु आउने पिढीको लागि मोबिलिटी सस्टेनेबल र सेफर मोबिलिटी हुनुपर्छ भन्ने सन्देश दिएको छ ।’
दिनहुँ बिहानैदेखि भृकुटीमण्डप परिसरमा युवा, विद्यार्थी, व्यापारी, इन्जिनियर, पारिवारिक दर्शक सबैको भीड लाग्छ । नयाँ प्रविधि हेर्ने उत्सुकता, सस्तो फाइनान्स योजनाबारे जानकारी लिने चाहना र भविष्यको यातायात कस्तो होला भन्ने कल्पनाले गर्दा यो प्रदर्शनी विशेष बनाएको छ । नाडा अटो शो एउटा इभेन्ट मात्र नभएर गौरभको विषय भएको बताउँछन्, नाडाका अध्यक्ष करण चौधरी ।
‘मेरो लागी नाडा अटो शो एउटा इभेन्ट मात्र नभएर गौरभको विषय हो,’ उनी भन्छन्, ‘ अध्यक्ष चौधरीले भने, ‘यस अटो शोले रोजगारी र राजस्वमा ठूलो सहयोग गर्नेछ । नेपालमा बिक्ने ४० प्रतिशत गाडी यही थलोमा बुकिङ भएर बिक्ने गर्छ ।’ साथै उनले नाडा अटो शो प्रदर्शनी केन्द्रमात्र नभएर अटो मोवाइल्स क्षेत्रका लागि व्यवसायीक थलो भएको बताए । यो क्षेत्रले १० लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको र ३ हजारभन्दा बढी व्यवसायीलाई संगठित गरेको अध्यक्ष चौधरीले दाबी गरे ।
सवारीसाधनका सौखिनहरूका लागि ‘नाडा अटो शो’ मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि ‘उड्ने कार’ हेर्न दर्शकहरुको भिड लागेको देखिन्छ । मुख्य आकर्षण युनिट्री रोबोटिक डग, अत्याधुनिक चारपांग्रे रोबोट्स र दीपलको ईभीटीओएल फ्लाइङ ट्याक्सी (उड्ने ट्याक्सी) छ । अटो शो ८ भदौसम्म चल्ने छ ।

भृकुटीमण्डपमा सुरु भएको यस वर्षको ‘नाडा अटो शो’ वास्तवमै अटो उद्योगको ऐतिहासिक उपलब्धि पनि हो । यहाँ केवल गाडी मात्र किन्न पाइन्छ भन्ने होइन, भविष्यको यातायात कस्तो हुने हो ? नेपाल कस्तो प्रविधि आत्मसात गर्दैछ भन्ने पनि प्रस्ट देखिन्छ । दुई पाङ्ग्रेदेखि चार पाङ्ग्रे, भारी सवारीदेखि उड्ने ट्याक्सीसम्मसबै एकै छानामुनि देख्दा नेपाली अटो बजार कति गतिशील बन्दै गएको छ भन्ने अनुभूति हुन्छ ।
हुन त ‘नाडा अटो शो’ सुरु हुन एक हप्ता अघि मात्रै ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ भएको थियो । गाडी प्रदर्शनीमा २७ वर्ष एकछत्र राज गरेको नाडाको प्रतिस्पर्धीका रुपमा नाइमा आएको छ । नाडाबाट आयातकर्ता र उत्पादक छुट्टिएर बनेको संस्था नाइमाले हालैमात्र मोबिलिटी एक्स्पो आयोजना गरेको हो । नाडा अटो हुनुभन्दा एक साता अघिमात्रै भएको यो एक्स्पोले पनि राम्रै चर्चा पनि पाएको थियो । व्यापारिक हिसाबले पनि यो प्रदर्शनी सफल भएको दाबी आयोजकले गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।