१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

साफ यू-१७ च्याम्पियनसिप : नेपालले जगाउन सकेन आशा
किन खस्किँदै छ नेपालको प्रदर्शन ?

उमेर समूहको फुटबल प्रतियोगिता युवा खेलाडीको विकासका लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छ । यसले खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको अनुभव प्रदान गर्ने, टोली व्यवस्थापन, रणनीति र सहकार्य सिकाउने अवसर दिन्छ ।


साथै, उमेर समूहको प्रतियोगिताले भविष्यको राष्ट्रिय र अन्तर्राष्ट्रिय टोलीको आधार तयार पार्ने काम गर्छ । तर, नेपालमा पर्याप्त प्रशिक्षण र नियमित प्रतियोगिता नहुँदा युवा खेलाडीको सीप विकासमा ठूलो बाधा देखिएको छ ।



यही कारण नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पछिल्लो समय लगातार कमजोर प्रदर्शन गरिरहेको छ । 

उमेर समूहमा खस्कँदो प्रदर्शन 



भुटानमा जारी १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा पनि नेपालको सुरुवात कमजोर देखिएको छ । बुधबार भएको पहिलो खेलमा नेपालले भारतसँग ७–० को फराकिलो अन्तरको हार बेहोर्‍यो । 

विगतमा नेपालले भारतविरुद्ध प्रतिस्पर्धात्मक म्याच खेल्थ्यो । तर, अहिले भने नेपाली टोली भारतविरुद्ध निकै निरीह देखिएको छ । यसले प्रमाणित गर्छ, नेपाली फुटबलको विकास अझै ढिलो छ ।

नेपालले विगतका संस्करणमा केही सफलता हासिल गरेको थियो । सन् २०२२ को १७ वर्षमुनिको साफमा नेपाल च्याम्पियन बन्यो । तर, बाँकी संस्करणमा भने नेपालको प्रदर्शन अपेक्षाकृत रहन सकेन ।



सन् २०१७ को साफमा नेपाल चौथो भयो । दोस्रो संस्करणमा पनि नेपालले सोही स्थान दोहोर्यायो । सन् २०१९ मा तेस्रो भएको नेपालले २०२२ मा उपाधि जित्दै आशा जगायो । तर, सन् २०२३ मा नेपाल चौथो स्थानमा सीमित रह्यो  । र, यसपालि पहिलो खेलमै ठूलो अन्तरले पराजित हुनु नेपालको वर्तमान फुटबलस्तर कमजोर रहेको देखाउँछ ।

नेपालका मुख्य प्रतिद्वन्द्वी भारत र बंगलादेशले पहिलो खेलमै सहज जित निकालिसकेका छन् । र, उनीहरूलाई उपाधि दाबेदारको हेरिएको छ । कुनै बेला नेपालसँग सहजै पराजित हुने बंगलादेश र भुटानले पछिल्लो समय उत्कृष्ट फुटबल खेलिरहेका छन् ।

महिला फुटबलमा बंगलादेशसँग त नेपाल पछिल्लो समय लगातार हारिरहेको छ । र, यसपालि पनि बंगलादेशविरुद्ध नेपाललाई जित निकाल्न कठिन छ । यी दुई टिमबीचको प्रतिस्पर्धा आउँदो आइतबार हुनेछ । त्यसअघि नेपालले शुक्रबार भुटानसँग खेल्ने तालिका छ । पहिलो खेलको प्रदर्शन हेर्दा नेपालले यसपालि फाइनलमा स्थान बनाउने सम्भावना न्यून छ । त्यसका लागि नेपालले बंगलादेश र भुटानलाई हराउनुपर्नेछ ।  

अहिलेको अवस्थामा नेपाली टिमलाई घरेलुस्तरमा नियमित प्रतियोगिता, गुणस्तरीय प्रशिक्षण र अनुभवी प्रशिक्षकको उपलब्धता अपरिहार्य छ । हाल टोली केही दिनको सामान्य अभ्यासमै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न बाध्य छ । यसले खेलाडीको आत्मविश्वासमा असर पार्दै दीर्घकालीन विकासमा चुनौती सिर्जना गरेको छ । नेपाल फुटबल संघ (एन्फा) ले उमेर समूहको फुटबललाई पर्याप्त प्राथमिकता नराख्दा खेलाडीको भविष्य नै अन्योल बनेको छ ।

राष्ट्रिय प्रतियोगितामा लगातार कमजोर प्रदर्शन, घरेलु प्रतियोगिताको अभाव र प्रशिक्षणमा ध्यान नदिनु नेपालको फुटबल विकासलाई नराम्रोसँग प्रभावित गरिरहेको छ । युवा खेलाडीलाई स्तरीय प्रशिक्षण र नियमित प्रतियोगिता दिने हो भने उनीहरूको क्षमता सुधार गर्न सकिन्छ ।

त्यसैले आगामी दिनमा नेपाली फुटबलले प्रतिस्पर्धात्मक स्तर उकास्न र अन्तर्राष्ट्रिय सफलता हासिल गर्न एन्फा र सम्बद्ध निकायले तत्काल सुधारात्मक कदम चाल्न आवश्यक छ । 

  • प्रकाशित मिति : ६ भदौ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया