१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

टप एण्ड टी-२० सिरिज : पाकिस्तानलाई हराउँदै सुखद अन्त्य गर्ने सोचमा नेपाल

अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले छैटौँ तथा अन्तिम खेलमा पाकिस्तान साहिन्सको सामना गर्ने तालिका छ । यी दुई टिमबीचको खेल शुक्रबार अपरान्ह ३ः१५ देखि सुरु हुनेछ ।  


यस प्रतियोगितामा नेपाल तेस्रो जितको खोजीमा छ । सुरुवातमा लगातार तीन खेलमा हार बेहोरेको नेपाल तेस्रो जित नजिक पुगेको हो । नेपालले प्रतियोगिताको सुरुवातमा एन्टी स्ट्राइकविरुद्ध ४२ रनको हार बेहोर्‍यो । 



दोस्रो र तेस्रो खेलमा नेपाल क्रमशः बंगलादेश ‘ए’ सँग ३२ रन तथा मेलबर्न स्टाटर्सविरुद्ध ३१ रनले पराजित भयो । चौथो र पाँचौं म्याचमा भने नेपालले उत्कृष्ट कमब्याक गर्दै लगातार जित हासिल गर्यो । 



चौथो खेलमा नेपालले उत्कृष्ट ब्याटिङ गर्दै होबार्ट हरिकेन्सलाई ६६ रनले हरायो । त्यस खेलमा नेपालले १ सय ८० रन बनायो । होबार्टविरुद्ध नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गर्‍यो ।

उक्त म्याचमा नेपालले होबार्टलाई १६.१ ओभरमै १ सय १४ रनमै समेट्यो । होबार्टलाई सस्तैमा अलआउट गर्नेक्रममा फास्ट बलर नन्दन यादवले घातक बलिङ गरे । उनले तीन ओभरमा १७ रन दिएर ५ विकेट लिए ।  

नेपालले पाँचौं खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्‍यो । मेलबर्न रेनेगेड्सविरुद्धको उक्त म्याचमा नेपालले पहिला ब्याटिङ गर्दै १ सय ३९ रन बनायो । लक्ष्य बलियो दिन नसके पनि नेपालले उत्कृष्ट बलिङ गर्दै रेनेगेड्सलाई १ सय ६ रनमै अलआउट गर्‍यो । र, उक्त म्याचमा नेपाल ३३ रनले विजयी भयो ।



रेनेगेड्सविरुद्ध सोमपाल कामीले सानदार बलिङ गरे । उनले चार ओभरमा १७ रन मात्र दिएर सर्वाधिक ५ विकेट लिए । 

नेपाल अब पाकिस्तान साहिन्सविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गरेर प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । उता पाकिस्तानको टोली नेपाललाई हराएर तालिकाको शीर्ष स्थानमा उक्लिने दाउमा छ । अहिले दोस्रो स्थानमा रहेको उसले पाँच म्याच खेल्दासम्म तीनमा जित र दुई खेलमा हार बेहोरेको छ । 

पाकिस्तानले जारी प्रतियोगितामा सन्तुलित प्रदर्शन गरिरहेको छ । उसका लागि ब्याटर अब्दुल समद र बलर फैसल अक्रमले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । अब्दुलले ५ खेलमा १६३ को उत्कृष्ट स्ट्राइक रेटमा १९५ रन बनाएका छन्, त्यसक्रममा उनले एक शतक र एक अर्धशतकीय पारी खेलेका छन् । 

यस्तै, अक्रमले ५ खेलमा ५.३८ को राम्रो इकोनमीमा १२ विकेट लिएका छन् ।  यता नेपालको टिममा बलिङमा सन्दीप लामिछाने, सोमपाल कामी र नन्दन यादवले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । सन्दीपले ८ तथा सोमपाल र नन्दनले ६/६ विकेट लिएका छन् । 

ब्याटिङमा भने नेपाली खेलाडीले चित्तबुझ्दो प्रदर्शन गरिरहेका छैनन् । यदि पाकिस्तानविरुद्ध जित निकाल्ने हो भने नेपालले अलराउन्ड प्रदर्शन गर्नुपर्नेछ ।   

  • प्रकाशित मिति : ५ भदौ, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया