प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन सरकार लागिरहेकाले सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् । सिस्नु पानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका भएका सकारात्मक प्रयास र विकासलाई पनि उत्तिकै महत्त्व दिन आग्रह गर्दै कसैलाई सरापेर नभई कर्मठ भएर लाग्दा मात्रै नेपाल बन्ने स्पष्ट गरेका हुन् ।
‘कर्णालीमा हामीले विश्वविद्यालय, स्वास्थ्य प्रतिष्ठान, कर्णाली कोरिडोर, हुम्ला जोड्ने बेलिब्रिज, रंगशाला आदि बनाइसकेका छौँ,’ उनले अगाडि भने, ‘कर्णालीको स्याउले अब बजार पाउँछ । अब सबै सदरमुकामसहित हुम्लामा पिच बाटो पनि जान्छ । हामी सबैले सकारात्मकता र आशा जगाउनुपर्छ । मोटरबाटो चढी जाउँला रारा घुम्न जस्ता गीतहरू अब यथार्थ भइसकेका छन् ।’
प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने तयारी भएको स्मरण गराए । उनले भने, ‘निरंकुश राजतन्त्रको अँध्यारो युगमा जस्तो होइन, लोकतान्त्रिक गणतन्त्रमा कर्णालीले न्याय पाउँछ । नेपाल बन्छ, बन्दै छ । कर्णाली बन्छ, बन्दै छ । सिङ्गै नेपाल उठ्छ, कर्णाली जुरुक्क उठ्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।