कुनैबेला भारतविरुद्ध खरो उत्रिएर नेपाली राजनीतिमा लोकप्रियता कमाएका प्रधानमन्त्री ओलीले अहिले भारत भ्रमणको लागि खुट्टा उचालिरहेका छन् । ओली प्रधानमन्त्री भएको वर्षदिन भन्दा पछि मात्रै, हालै भारतीय विदेश सचिव विक्रम मिश्रीले समकक्षी नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको निम्तो पनि दिएर गएका छन् ।
अघिल्लो असारको अन्तिमबाट सरकारको नेतृत्व गरिरहेका ओलीले चीनभन्दा पहिले भारतको भ्रमण गर्ने चाहना राखेका थिए । तर, भारतबाट निम्तो नै नआएपछि उनले यसअघि नै चीन भ्रमण गरिसकेका छन् ।
चौथोपटक सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीले यसपटक सत्ता सम्हालेको केही दिनमा नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । उनले मोदीलाई नेपाल भ्रमणको निम्तो गर्न परराष्ट्रमन्त्री आरजु राणा देउवालाई दिल्ली नै पठाए । आरजुले दिल्लीमा अभूतपूर्व स्वागत पाइन्, तर, ओलीले भने त्यसबेला निम्तो पाएनन् ।
ओली-मोदी सम्बन्ध बिग्रिएको भारतीय नाकाबन्दीको बेला हो । त्यसपछि ओलीले नै संविधान संशोधन गराएर चुच्चे नक्सालाई संवैधानिक मान्यता दिलाएपछि मोदी थप चिढिएका थिए । तर, अहिले मोदीले ओलीलाई भारत भ्रमणको निम्ता दिइसकेको बेला सोही चुच्चे नक्सामा समेटिएको भू-भागबारे विवाद उत्पन्न भएको छ ।
दुई छिमेकी भारत र चीनले नेपाली भू-भाग लिपुलेक पासबाट व्यापार गर्ने सहमति गर्दा नेपाललाई जानकारीसमेत दिइएन । सुगौली सन्धिअनुसार काली नदीको मुहान लिम्पियाधुरा भएकाले यो भू-भाग नेपालको हो । अहिले भारतले लिपुलेकको बाटो प्रयोग गर्न चीनसँग सहमति गरेर नेपाललाई झस्काएको छ । यसमा चीनले समेत भारतसँग सहमति गरेर अतिक्रमणकारी प्रवृत्ति देखाएको छ ।
हिजो कालापानी, लिपुलेक, लिम्पियाधुरालाई नेपाली नक्सामा समेटेर ओलीले राष्ट्रवादी छवि बनाएका थिए । आज सोही मुद्दामा ओलीले अग्निपरीक्षा दिनु पर्ने देखिएको छ । विवाद भइरहेको बेला ओलीले अडान लिँदै भारतभ्रमणलाई रोक्छन् या भ्रमणमा गएर समस्याको समाधान खोज्छन्, केही दिनमा देखिने नै छ । भारतले एकपक्षीय कृत्रिम भौगोलिक दाबी अस्वीकार्य हुने बताउँदा अब ओलीले विगतझैँ अडान कस्छन् कि भारत भ्रमण नै रोक्छन् भन्ने चासोको विषय बनिरहेको छ ।
ओलीले भ्रमणलाई नरोके एजेन्डामा लिपुलेकको विषय समेट्नु पर्छ । दुई देशबीच हुने समझदारी सम्झौतामा भ्रमणअघि नै एजेन्डा तय हुन्छन् ।
तर, सत्ताधारी एमाले महासचिव शंकर पोखरेलले भने प्रधानमन्त्री ओलीको भारत भ्रमण नरोकिने बताइसकेका छन् । उनले आपसी संवाद र छलफलबाट प्रत्येक समस्याको समाधान खोजिने बताउँदै भ्रमण नै अवसर बन्ने बताएका हुन् । विवाद उठ्दैमा नेपालको तर्फबाट भ्रमण रोक्ने कुनै कारण नरहेको उनले बताएका छन् ।
भारत–चीनले लिपुलेकमार्ग हुँदै व्यापार गर्ने सहमति गरेर फेरि नेपाललाई बेवास्ता गर्दा अब ओलीको कूटनीतिक हैसियत र राष्ट्रवादी दाबीको वास्तविक परीक्षा सुरु भएको छ । चुच्चे नक्सा सार्वजनिक गरेर जनतामाझ लोकप्रियता कमाएका ओलीले अहिले पनि त्यही अडान दोहोर्याउने साहस देखाउँछन् वा यति संवेदनशील मुद्दा थामथुम पारेर भ्रमण मात्रै गरिछाड्छन् त्यो प्रश्न गम्भीर बनेको छ ।
यस्तो अवस्थामा प्रधानमन्त्रीले अल्पकालीन कूटनीतिक लाभभन्दा दीर्घकालीन राष्ट्रिय हितलाई प्राथमिकता दिन सक्नुपर्छ, अन्यथा राष्ट्रलाई त हानी हुने नै छ, राष्ट्रवादका ओलीका पुराना नाराहरू खोक्रा सावित हुनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।