२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

अस्पतालमा गोप्यरूपमा भिडियो खिच्ने डाक्टर पक्राउ

अस्ट्रेलियाली अस्पतालका शौचालयमा सयौं मेडिकल सहकर्मीहरुको गोप्य भिडियो खिचेको आरोपमा एक प्रशिक्षार्थी शल्यचिकित्सकलाई शुक्रबार अदालतले जमानतमा रिहा गरेको छ ।


भिक्टोरिया राज्य सर्वोच्च अदालतमा पेश गरिएका कागजातअनुसार प्रहरीले २८ वर्षीय रायन चोले सन् २०२१ देखि मेलबर्नका तीन अस्पतालका स्टाफ शौचालयमा फोनमार्फत गोप्य रूपमा रेकर्ड गरेर करिब चार हजार पाँच सय अन्तरङ्ग भिडियो तयार गरेको बताएको छ ।



यससँग सम्बन्धित करिब पाँच सय आपराधिक आरोप उनीमाथि लगाइएका छन् । न्यायाधीश जेम्स इलियटले आदेश दिँदै चो आफ्ना आमाबाबुसँग बस्ने शर्तमा रिहा हुने बताएका छन् ।

उनका आमाबाबु यसै उद्देश्यका लागि सिङ्गापुरबाट मेलबर्न सर्नुभएको थियो । रिहाइका लागि ५० हजार अस्ट्रेलियन डलर (३२ हजार अमेरिकी डलर) बराबरको जमानत राख्नुपरेको छ । अभियोजकले यी गम्भीर आरोपहरुले चोलाई भाग्ने प्रलोभन दिनसक्ने भन्दै उनको जागिर निलम्बित भएकाले अस्ट्रेलियासँग उनको बलियो सम्बन्ध नरहेको तर्क प्रस्तुत गरे ।



चो अप्रिलमा मात्र अस्ट्रेलियाको स्थायी बासिन्दा बनेका थिए । तर यदि दोषी ठहर भई १२ महिना वा सोभन्दा बढी जेल सजाय भयो भने उनलाई निर्वासनमा पठाइनेछ । न्यायाधीशले चोले आफ्नो सिङ्गापुर पासपोर्ट बुझाइसकेको र उनलाई देश छाड्न मद्दत गर्ने कुनै आपराधिक सम्बन्ध नभएको देखिएको बताए ।

प्रहरीका अनुसार चोले कम्तीमा चार सय ६० महिलाको अन्तरङ्ग भिडियो खिचेका थिए । तर ती तस्बिर वा भिडियो बाहिर फैलाइएको कुनै प्रमाण भने भेटिएको छैन । गत जुलाईमा, अस्टिन अस्पतालको शौचालयमा झुन्डिएको मेश ब्यागभित्र लुकाइएको फोन रेकर्डिङ भेटिएपछि चोलाई पक्राउ गरिएको थियो ।

उनले पिटर म्याकलम क्यान्सर सेन्टर र रोयल मेलबर्न अस्पतालको शौचालयमा पनि यस्तै रेकर्डिङ गरेको प्रहरीले आरोप लगाएको छ । अभियोजन पक्षले उठाएको, चोले रिहा भएमा साक्षीहरूसँग हस्तक्षेप गर्न सक्छन् भन्ने डर निराधार रहेको उनका वकिल जुलियन म्याकमोहनले बताए ।  

ती आरोपमा बिना अनुमति जानाजानी अन्तरङ्ग भिडियो खिचेको आरोपसमेत समावेश छ । वकिल म्याकमोहनका अनुसार मुद्दा अदालती प्रक्रियामा जाने वा नजाने भन्ने कुरा भन्न अझै धेरै चाँडो हुन्छ । हालसम्म चोले कुनै निवेदन पेश गरेका छैनन् । चो सन् २०१७ मा विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका थिए र मेलबर्नको मोनास विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गरेका थिए ।



  • प्रकाशित मिति : ६ भदौ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया