काठमाडौं– सवारी ज्यानमुद्दामा संलग्न चालक जोगाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले नेपाल प्रहरीका इन्स्पेक्टर लोकबहादुर जिसी नवलपरासीबाट पक्राउ गरेकाे छ ।
इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख जिसी मंगलबार पक्राउ परेका हुन् ।
जिसीलाई २०७६ वैशाख ११ गते राती बोधराज पाण्डेले पूर्वपश्चिम राजमार्गको गैंडाकोट खण्डमा चलाएको कारको ठक्करबाट मृत्यु भएको सवारी ज्यान मुद्दामा नक्कली चालक खडा गरेर प्रमाण नष्ट गरेको अभियोग लगाइएको छ ।
पाण्डेसँग १० लाख रुपैयाँ लिएर प्रहरीसँग मिलेर किसुन महताेलाई चालकका रुपमा खडा गरेपछि जिसीविरुद्ध उजुरी परेकाे थियाे ।
विपरीत दिशातिरबाट आएको मोटरसाइकललाई पाण्डेले चलाएको कारले ठक्कर दिएको थियो । पाण्डेले चलाएको कारको ठक्करबाट मोटरसाइकल पछाडी बस्ने युवतीको मृत्यु हुनुका साथै चालक घाइते भएका थिए ।
सोही उजुरीमाथी छानबिन गर्दा जिसीको संलग्नता खुलेपछि उनलाई पक्राउ गरिएको हो । जिसीमाथि अनुसन्धान भइरहेकाे आयाेगले जानकारी दिएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।