पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो सन् २०२३ को जनवरीदेखि साउदी क्लब अल नासरमा आबद्ध छन् । तीन वर्षको यस अवधिमा उनको नेतृत्वमा नासरको प्रदर्शन ठीकठाक छ ।
यद्यपि निर्णायक खेलहरूमा भने ऊ चुक्दै आएको छ । रोनाल्डो जोडिएपछि नासरले एकपटक मात्र उपाधि जित्न सकेको छ । उसले सन् २०२३ मा अरब क्लब च्याम्पियन्स कपको उपाधि जितेको थियो । त्यसयता भने रोनाल्डो नेतृत्वको नासर च्याम्पियन बन्न संघर्षरत छ । नासर अब साउदी सुपर कप विजेता बन्दै तीन वर्षदेखिको उपाधि खडेरी तोड्न चाहन्छ ।

१२औँ संस्करणसम्म आइपुग्दा हालसम्म अल नासरले तीनपटक उपाधि जितेको छ । ऊ सन् २०१४, २०१५ र २०१९ को साउदी सुपर कप च्याम्पियन हो । तर, पछिल्लो सात वर्षयता भने उसले यो प्रतियोगिताको उपाधि जित्न सकेको छैन ।
नासर गत सिजनको फाइनलमा अल हिलालसँग ४–१ ले पराजित भएको थियो । यसपालि भने ऊ फाइनलमा अल–अहली एफसीको सामना गर्दैछ । यी दुई टिमबीचको उपाधि भिडन्त शनिबार बेलुका ५ः४५ देखि हङकङ स्टेडियममा सुरु हुनेछ ।
अल नासरमा रोनाल्डोको आगमनले क्लबमा खेलको स्तर र चर्चामा ठूलो उछाल ल्याएको छ । उसले घरेलु र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नियमितरूपमा बलियो प्रदर्शन गरिरहेको छ ।
रोनाल्डोले व्यक्तिगतरूपमा नियमित गोल गर्दै क्लबको खेलमा ठूलो प्रभाव पारिरहेका छन् । तर, समग्र प्रदर्शन र उपाधि जित्ने कुरामा अझै चुनौती देखिन्छ ।

अल नासरले पछिल्ला केही वर्षमा घरेलु प्रतियोगिताको उपाधि जित्ने निरन्तर प्रयास गरिरहेको छ । साउदी प्रो लिग, किङ्स कप र एएफसी च्याम्पियन्स लिगमा रोनाल्डोको उपस्थिति हुँदा पनि नासर ठूलो सफलता हासिल गर्न चुकेको हो । यसपालि साउदी सुपर कप फाइनलमा पुग्नु अल नासरको लागि मात्र होइन, रोनाल्डोका समर्थकका लागि पनि विशेष महत्व राख्छ ।
क्लबले पनि यस फाइनललाई ‘सिजनको टर्निङ पोइन्ट’ का रूपमा हेरेको छ । अर्कोतर्फ, अल–अहली एफसी पहिलोपटक सुपर कप उचाल्ने दाउमा रहेकोले खेल अझ रोमाञ्चक हुने अनुमान गरिएको छ ।
साउदी सुपर कपमा सर्वाधिक उपाधि जित्ने टिमको रेकर्ड अल हिलालको नाममा छ । उसले सर्वाधिक पाँचपटक उपाधि जितेको छ । तर, यसपालि पनि अलहिलाल फाइनल पुग्न चुक्यो । ऊ फाइनल दौडबाट बाहिरिँदा नासरले उपाधि खडेरी र अल–अहली एफसीले पहिलोपटक च्याम्पियन बन्ने मौका पाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।