अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिज नेपालका लागि अपेक्षाकृत रहन सकेन । नेपालले प्रतियोगितामा ६ मध्ये चारमा पराजय र दुई खेलमा मात्र जित निकाल्यो । नेपालले उपाधि दाबेदारविरुद्ध हार बेहोर्दा कमजोर टिमविरुद्ध जित निकालेको हो ।
नेपालले गत संस्करणको सेमिफाइनल खेलेको एन्टी स्ट्राइकविरुद्ध ४२ रनले पराजित हुँदै प्रतियोगिताको सुरुवात गरेको थियो । यस्तै, नेपालले दोस्रो खेलमा गत उपविजेता बंगलादेश ‘ए’ विरुद्ध ३२ रनको हार बेहोर्यो ।
तेस्रो खेलमा नेपाल मेलबर्न स्टार्सविरुद्ध ३१ रनले पराजित भयो । लगातार तीन हारपछि नेपालले होबार्ट हरिकेन्स र मेलबर्न रेनेगेड्सविरुद्ध भने लगातार जित निकाल्यो । नेपालले होबार्टविरुद्ध ६६ रन तथा रेनेगेड्सविरुद्ध ३३ रनको जित निकालेको हो ।

नेपालसामु अन्तिम खेलमा पाकिस्तान साहिन्सलाई हराएर प्रतियोगिताको सुखद अन्त्य गर्ने मौका थियो । तर, नेपाल फिसिसिङमा चुक्दा पाकिस्तानसँग एक रनले स्तब्ध भयो ।
नेपालले यस खेलमा उत्कृष्ट बलिङ गर्दै पाकिस्तानलाई १४४ रनमा रोकेको थियो । पाकिस्तानविरुद्ध कसिलो बलिङ गर्नेक्रममा सोमपाल कामीले चार ओभरमा ३० रन दिएर महत्वपूर्ण तीन विकेट लिए ।
यस्तै, नन्दन यादवले चार ओभरमा ३२ रन दिएर तीन विकेट नै लिए । उकप्तान दीपेन्द्र सिंह ऐरीले पनि सानदार बलिङ गरे । उनले तीन ओभरमा १५ रन खर्चेर दुई विकेट हात पारे । यस्तै, कुशल भुर्तेलको नाममा एक विकेट रह्यो ।

ब्याटिङतर्फ कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले सन्तोषजनक पारी खेले । रोहितले ४४ बलमा ६ चौका र एक छक्कासहित ५२ तथा दीपेन्द्रले २१ बलमा दुई चौक र एक छक्काको सहयोगमा ४१ रन बनाए । बाँकी ब्याटरको प्रदर्शन सन्तोषजनक रहन सकेन ।
पाकिस्तानविरुद्ध कहाँ चुक्यो नेपाल ?
पाकिस्तानविरुद्धको खेलमा नेपालको जितको सम्भावना उच्च थियो । अन्तिम ओभरमा नेपाललाई ८ रन मात्र चाहिएको थियो । र, नेपालसँग ५ विकेट बाँकी थियो । तर, फिनिसिङमा नेपाल असफल रह्यो ।
अन्तिम ओभरमा कुशल मल्लले स्ट्राइक सम्हालेका कारण नेपाल हार्यो । दबाबमा खेलिरहेका कुशल तेस्रो बलमा आउट हुँदा नेपालले आवश्यक रन जुटाउन सकेन । यदि फुर्तिलो खेलाडी क्रिजमा पठाइन्थ्यो भने सिंगल–डबल रन लिएर पनि खेल जित्न सकिन्थ्यो ।
यस्तै, नेपाल हारको अर्को कारण हो, प्रारम्भिक ब्याटरको कमजोर प्रदर्शन । पाकिस्तानविरुद्ध नेपालको ब्याटिङ सुरुवात निकै खल्लो रह्यो । आवश्यकताभन्दा बढी जोगिएर खेल्दा नेपालले पारप्लेको सदुपयोग गर्न सकेन ।

नेपालले सुरुवाती ६ ओभरमा एक विकेट गुमाएर २८ रन मात्र बनायो, जसमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखको खासै महत्वपूर्ण भूमिका रहेन । कुशलले ९ बलमा चार रन मात्र बनाए ।
यस्तै, ओडिआई शैलीमा ब्याटिङ गरेका आसिफले क्रिजमा लामो समय बिताए पनि त्यसको सदुपयोग गर्न सकेनन् । उनीहरूमध्ये एक जनाले पनि राम्रो स्ट्राइक रेटमा ब्याटिङ गरेको भए नेपालले खेल जित्ने पक्काजस्तै थियो ।
नेपाल हारको अर्को कारण बन्यो, खेलाडीको उपयोगमा चुक्नु । अघिल्लो खेलहरूमा उत्कृष्ट फिनिसिङ गरेका लोकेश बमलाई पाकिस्तानविरुद्ध छैटौँ नम्बरमै ब्याटिङ ल्याइयो, जहाँ उनी सफल देखिएनन् ।
सात बलको सामना गरेका बमले १० रन मात्र जोडे । यदि उनलाई कुशल वा आरिफको ठाउँमा ल्याइएको भए नेपालले खेल जित्ने सम्भावना बलियो थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।