२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

कुशे औँसी : बाबुप्रति श्रद्धा, पितृकार्य र पुण्यदानको पर्व
घर-घरमा कुश भित्र्याइँदै, बिहानैदेखि गोकर्णेश्वरमा हजारौँ भक्तजन

प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।
 
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।


सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतिक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवम् पितृकार्यमा प्रयोग गरिन्छ । 



पितृसम्मान 

यसै अवसरमा छोराछोरी परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।



आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको घुइँचो छ ।

मन्दिरमा लाग्ने मेलाका सबै तयारी गरिएको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले राससलाई जानकारी दिए । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि लाग्ने मेला लाग्ने गर्छ । बेत्रावतीमा पनि पिता दिवङ्गत भएका तर्पण, सिदादान र पिण्डदान गर्न पुग्ने गर्छन् ।

‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुलस्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाए । अरु दान दीन दुःखीलाई दिएपनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।



पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा हजारौँ भक्तजन

दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौंको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजारौँ भक्तजनको घुइँचो छ ।

भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ताअघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास रही आएकाले आज बिहानैदेखि यहाँ हजारौँ भक्तजनको घुइँचो भएको हो । यही धार्मिक विश्वासका कारण आज बिहानैदेखि वैदिक सनातन हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बीको समेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको छ ।

गोकर्णमा भक्तजनको भीडका कारण आज बिहानैदेखि सुन्दरीजल–जोरपाटी  र वाग्मतीको कोरिडोर भएर गुड्ने सवारीसाधन निषेध गरिएको ट्राफिक प्रहरी वृत्त बौद्धले जनाएको छ । यातायात व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, खोजतलासलगायत सेवा पनि मन्दिर क्षेत्रमा दिइएको गोकर्णेश्वर मेला समितिका संयोजक एवं गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले जानकारी दिए ।

सत्ययुगमा ब्रह्माले नै स्थापना गरेकाले यस ठाउँमा आई पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्दछन् भन्ने धार्मिक विश्वासका कारण पनि भाद्रकृष्ण औंसीका दिनमा यस मन्दिरमा भक्तजनको भीड बढ्ने गरेको मन्दिरका पूजारी जगदीश भट्टले जानकारी दिए ।

गोकर्णेश्वरमा आएका भक्तजन भने धार्मिक रूपमा धेरै महत्त्व भए पनि गोकर्णेश्वरमा राम्रो व्यवस्थापन हुन नसक्दा दुःख पाएको बताउँछन् । डोल्पाबाट आएका दर्शनार्थी रणेन्द्र बुढाथोकी गाडीको असुविधाले मेलामा दुःख पाइएको बताए । 

मन्दिरक्षेत्रमा सार्वजनिक जग्गामा घर बनाई बाटो साँघुरो भएकाले जोरपाटीदेखि हिँड्नुपर्दा समस्या भएको पनि उनले गुनासो गरर् । शास्त्रीय रूपमा महत्त्व रहेको पवित्र तीर्थस्थलको सुव्यवस्थापनमा तीन तहका सरकारमध्ये कसैको पनि ध्यान नगएको यहाँ आएपछि थाहा पाएको धेरै भक्तजन बताउँछन् ।

यस क्षेत्रमा वैदिक सनातन हिन्दू धर्मावलम्बी मात्र होइन बिहानैदेखि बौद्ध धर्मावलम्बीको पनि भीड लागेको छ । एक वर्षभित्र पिताको दिवङ्गत भएका बौद्धमार्गी यहाँ आएर श्राद्ध र पूजाआजा गरी भोज खाने प्रचलन रहेको बौद्धधर्म गुरु डुण्डुप लामाले बताए । 

बौद्धमार्गीले आजको दिनमा गोकर्णमा आई दर्शन गरेमा दिवङ्गत पिताको स्वरूप दर्शन गर्न पाइने विश्वास समेत गर्ने गरेको पनि उनले जानकारी दिए । गोकर्णमा मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथ दर्शन गर्नेले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्ने मान्यता रही आएको छ ।

आजैको दिन हिन्दू धर्मावलम्बीले वर्षभरि घरमा धार्मिक कृत्य गर्नका लागि आवश्यक कुश भित्र्याई कुशे औँसी पर्व मनाउँछन् । कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ । त्यसैगरी आफ्ना बाबुलाई मीठो मीठो खान दिई बाबुको मुख हेर्ने पर्व पनि आज देशभर मनाइँदै छ । 

  • प्रकाशित मिति : ७ भदौ, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया