२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

विदेशमा तीज : कलाकारलाई भ्याइनभ्याई
नेपाली संस्कृति सात समुद्रपार

नेपाली हिन्दु संस्कृतिमा तीजको ठूलो महत्त्व छ । उसो त तीज मात्रै होइन, हरेक चाडपर्व तथा संस्कार, संस्कृति सबै उत्तिकै महत्त्वपूर्ण हुन्छन् । 


नेपालीका लागि सबैभन्दा ठूलो चाड मानिने दसैँ र तिहार भन्दा अहिले तीज भने लामो, खर्चिलो र तडकभडकपूर्ण हुन थालेको देखिन्छ । 



पहिले तीज भन्ने बित्तिकै बुबाको मुख हेर्ने दिन देखी ऋषिपञ्चमीसम्मको दिनलाई विशेष रूपमा मनाइन्थ्यो । अझ भनौँ आमा, हजुरआमाहरु त झन् चार, पाँच दिनको काम सकेर दर खाने दिनको बिहान मात्रै घरबाट माइती निस्किन्थे । घरको काम, पशु चौपायाहरूको स्याहार, खेत बारी गोडमेलको कामले फुर्सद नै कहाँ हुन्थ्यो र ?

तर, आज भोलि समय त्यस्तो छैन ।  बढ्दो सहरीकरण र आधुनिकीकरणले तीज आउनु भन्दा करिब दुई महिना अघि देखि नै  गाँउदेखी सामाजिक सञ्जाल र सहर बजारमा तीजको तडकभडक सुरु भइसकेको हुन्छ । सबै तिर रातो सारी, गरगहना, नाच गान, भोजभतेरले सहर बजारका हरेक जसो घर, टोल, बस्ती र बजार तातेका हुन्छन् ।



पछिल्लो समय विदेशमा रहेका नेपालीले पनि तीज पर्वलाई उल्लासका साथ मनाउँदै आएका छन् ।  नेपालबाट चल्तीका गायक गायिकालाई बोलाएर कार्यक्रम आयोजना गर्ने चलन पनि बढ्दो छ । आयोजकले महिला कलाकारलाई मात्र नभएर पुरुष कलाकारलाई पनि तीज कार्यक्रमका लागि उत्तिकै महत्त्व दिएर निम्त्याउने गरेका छन् । 

कलाकारहरूलाई पनि तीज पर्व कमाइको माध्यम बन्न थालेको छ । कयौँ कलाकारलाई तीजमा भ्याइनभ्याई छ ।  उसो त अहिले कलाकारले यो समयलाई कमाइको सिजनको रूपमा पनि हेर्ने गरेका छन् । 

यस्तै यो वर्षको तिजमा पनि धेरै कलाकार देश बाहिर तीज कार्यक्रममा व्यस्त छ । 

तीज विशेष साङ्गीतिक कार्यक्रमका लागि गायक पशुपति शर्मा, मोडल नारायणी खत्री दुबई, जापान र युकेको  साङ्गीतिक यात्रामा व्यस्त छन् । यस्तै गायिका एलिना चौहान, बद्री पङ्गेनी, प्रताव दास, अस्मिता अधिकारी, महेश काफ्ले, कला लम्साललगायत कलाकारहरूले अमेरीकाका फरक फरक ठाउँहरूमा  साङ्गीतिक प्रस्तुति दिइरहेका छन् । 



गायिका रचना रिमाल, शान्ति श्री परियारहरू युरोपको साङ्गीतिक कार्यक्रममा व्यस्त छन् । खेम सेन्चुरी, लक्ष्मी मल्ल, जानुका तामाङ, शान्ता रानी परियार, रामजी खाँड, सम्झना भण्डारी, नीता ढुंगाना लगायतका कलाकारहरू अस्ट्रेलियातर्फ व्यस्त छन् । अन्य धेरै कलाकारहरू पनि देश बाहिरका सांगीतिक कार्यक्रममा अहिले रमाइलो गरिरहेका छन् ।

सम्बन्धित समाचार
बिगारिँदै तीज गीत : मौलिक संस्कृति र गरिमामाथि नै प्रश्न

परिवारबाट टाढा रहेका नेपालीहरूलाई चाडपर्वमा एक्लोपन महसुस नहोस् र उनीहरूलाई मनोरञ्जन दिन सकियोस् भन्ने उद्देश्यले पनि कलाकारहरू विदेशका कार्यक्रममा जाने गरेको कलाकारहरू बताउँछन् । साथै विदेशमा रहेका नेपालीहरूलाई आफ्नो संस्कृति जोगाउन, विशेष गरी त्यहीँ हुर्केका बालबालिकालाई आफ्नो परम्पराबारे जानकारी दिन कार्यक्रम आयोजना गर्ने गरिएको आयोजकहरूले बताउने गरेका छन् ।  

यही मौकामा विदेशमा रहेका नेपालीहरूका लागि पनि आफ्ना प्रिय कलाकारहरूलाई प्रत्यक्ष रूपमा हेर्न पाउनु खास अवसर बनिरहेको छ। नेपाली समुदायको बाक्लो उपस्थितिका कारण विदेशमा तीज कार्यक्रमहरूले विशेष आकर्षण पाएको देखिन्छ । नेपाली कलाकारहरूको प्रस्तुति हेर्न र तीजको रमाइलो सँगै मनाउन प्रवासी नेपालीहरू उत्साहित देखिन्छन्।

यसले एकातर्फ कलाकारहरूको अन्तर्राष्ट्रिय पहुँचलाई बलियो बनाइरहेको छ भने अर्कोतर्फ नेपाली संस्कृति र पर्वहरूलाई विश्वसामु चिनाउने अवसर पनि जुटिरहेको छ । तीजको समयमा नेपाली कलाकारहरूको विदेश यात्रालाई केवल आर्थिक वा पेसागत अवसरको रूपमा मात्र नभई सांस्कृतिक दूतको रूपमा पनि हर्न थालिएको छ । 

त्यति मात्र होइन, यस्ता कार्यक्रमहरूले विदेशमा बसोबास गर्ने नेपालीहरूलाई आफ्नो संस्कृति र चाडपर्वप्रति अझ नजिक बनाउने काम गरिरहेका छन् । त्यस्तै यसले नेपाली कला र संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा समेत महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।  

  • प्रकाशित मिति : ७ भदौ, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया