२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

जेलेन्स्कीसँग वार्ता गर्न ट्रम्पले पुटिनलाई दिए दुईहप्ते अल्टिमेटम

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामको पहलस्वरूप रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दुई साताभित्र वार्तामा बस्न अल्टिमेटम दिएका छन् ।


शुक्रबार अमेरिकी टेलिभिजन सिएनएनसँगको अन्तर्वार्तामा उनले पुटिनलाई दुई साताभित्र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग वार्ताको टेबलमा बस्नुपर्ने चेतावनी दिए ।



‘दुई हप्तापछि पनि वार्ता भएन भने म ठोस निर्णय गर्छु,’ ट्रम्पले भने ।  गत हप्ता मात्रै अलास्कामा पुटिनसँग भेट गरेका ट्रम्पले त्यसपछि ह्वाइट हाउसमा जेलेन्स्की र युरोपेली नेताहरूसँग छलफल गरेका थिए ।

उनले युद्धविरामभन्दा स्थायी शान्ति उत्तम हुने भन्दै पहिलो चरणमा पुटिन-जेलेन्स्कीबीच द्विपक्षीय वार्ता र त्यसपछि आफूसमेत सहभागी हुने त्रिपक्षीय वार्ताको प्रस्ताव अघि सारेका छन् । तर, रुसी विदेशमन्त्री सेर्गेई लावरोभले पुटिन र जेलेन्स्कीबीच नजिकैमा कुनै भेटवार्ता हुने योजना नरहेको बताएका छन्, जसले वार्ता प्रक्रिया फेरि अनिश्चित हुने संकेत गरेको छ । 



अलास्कामा भएको भेटपछि ट्रम्पले पुटिनसँग पुनः चाँडै भेट हुन सक्ने बताएका थिए । पुटिनले भने अर्को भेट मस्कोमा हुने संकेत दिएका थिए । 

शुक्रबार ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने, ‘दुई हप्तापछि कुन दिशामा जाने भनेर म निर्णय गर्छु । दुईमध्ये एउटाको पक्षमा जान्छु । त्यसपछि उनीहरूले बुझ्नेछन् ।’

उनले पुटिनसँग अलास्कामा खिचिएका तस्बिरहरू देखाउँदै पुटिनले आफूलाई सम्मानजनक व्यवहार गरेको दाबी पनि गरे । साथै, पुटिन आगामी विश्वकपका लागि अमेरिकामा सहभागी हुने/नहुने निर्णय पनि यही दुई साताभित्रको राजनीतिक घटनाक्रममा निर्भर रहने ट्रम्पले उल्लेख गरे । 



  • प्रकाशित मिति : ७ भदौ, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया