समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज नेपाल आइपुगेकी छिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् ।
उपराष्ट्रपति सुआनलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गरेका छन् । त्यस अवसरमा नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्तित्व उपस्थित रहेको थियो ।
उपराष्ट्रपति सुआनले उनको सम्मानमा नेपाली सेनाले प्रदान गरेको गार्ड अफ अनरको निरीक्षण गरेकी थिइन् । उनीसँग आजै परराष्ट्रमन्त्री डा. राणाले शिष्टाचार भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । उनले यही भदौ ९ गतेसम्म नेपालको भ्रमण गर्ने छिन् ।

भियतनामको तर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबीच भदौ ८ गते काठमाडौंमा प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता हुने मन्त्रालयले जनाएको छ ।
उपराष्ट्रपति सुआनले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठ समेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।