१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

ट्रम्पको कर चेतावनीपछि भारत-अमेरिका व्यापार सम्बन्ध तनावग्रस्त, के गर्दै छन् मोदी ?
मोदीले बिहारबाट अघि सार्न सक्छन् नयाँ रणनीति

दैनिक वस्तुहरूमा उपभोग कर घटाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दबाबले वार्षिक अर्बौं डलरको राहत दिलाउन सक्ने र अमेरिकी भन्सार शुल्कको कडा असर झेलिरहेको अर्थतन्त्रमा माग बढाउन मद्दत पुर्‍याउने विशेषज्ञहरूले बताएका छन् ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल खरिद गरेको भन्दै नयाँदिल्लीमाथि सजायस्वरूप आयात शुल्क २५ प्रतिशतबाट दोब्बर गरेर ५० प्रतिशत पुर्‍याउने धम्की दिएका छन् । यस सम्भावित कदमले विश्वको पाँचौँ ठूलो अर्थतन्त्रको भविष्यलाई अनिश्चित बनाएको छ । भारतीय निर्यातकर्ताहरूले यसले अर्डर गुम्ने र रोजगारीमा गम्भीर सङ्कट आउने चेतावनी दिएका छन् ।



नयाँदिल्लीले वासिङ्टनको कदमलाई ‘अनुचित, अन्यायपूर्ण र अस्वीकार्य’ भनेको छ । तर मोदीले गत हप्ता भारतको स्वतन्त्रता दिवसमा दिएको भाषणमा ‘आम मानिसमाथिको करको बोझ कम गर्ने’ वाचा गर्दै यस अमेरिकी प्रहारलाई कम गर्ने प्रयास गरेका थिए । 

मोदीको प्रस्तावित वस्तु तथा सेवा कर (जिएसटी) कटौतीले साना कारदेखि वातानुकूलनसम्मका सामान उपभोक्ताका लागि सस्तो बनाउने अर्थशास्त्रीहरूको भनाइ छ । हाल जिएसटी प्रणाली एक जटिल चार–स्तरीय संरचनामा आधारित छ, जसमा कर दर पाँचदेखि २८ प्रतिशतसम्म लाग्छ ।



मोदीको सुधार अनुसार, अधिकांश सामान दुई तहमा पर्नेछन्- पाँच प्रतिशत वा १८ प्रतिशत दरमा । भारतीय प्रधानमन्त्रीले यस परिवर्तनलाई ‘दीपावली उपहार’ भनेका छन् । दीपावली, प्रकाशको वार्षिक हिन्दू पर्व हो, जसमा उपभोक्ताहरू सुन, कपडा र उपभोक्ता इलेक्ट्रोनिक्सजस्ता सामानमा धेरै खर्च गर्छन् ।

ट्रम्पको भन्सार शुल्क नीतिले भारतमा कस्तो असर पार्छ भन्ने कुरा रुस-युक्रेन शान्ति सम्झौतामा कति प्रगति हुन्छ र नयाँदिल्लीले अमेरिकी राष्ट्रपतिको अगस्ट २७ को समयसीमा अघि वैकल्पिक तेल आपूर्तिकर्ता पाउन सक्छ कि सक्दैन भन्नेमा निर्भर गर्नेछ ।

विशेषज्ञहरूका अनुसार मोदीको कर सुधारले कर सङ्कलन १३ देखि १७ अर्ब डलरसम्म घटाउनेछ र यसले घरेलु माग बढाउन सहयोग गर्नेछ । एम्के ग्लोबल फाइनान्सियल सर्भिसका विश्लेषकहरूले नीतिलाई ‘घरेलु उपभोग बढाउने दिशामा स्वागतयोग्य कदम’ भनेका छन् । 

उनीहरूको अनुमानमा, हाल शीर्ष २८ प्रतिशत दरमा रहेका धेरै सामानहरू १८ प्रतिशतमा झर्नेछन् भने १२ प्रतिशत श्रेणीका ‘लगभग सबै’ सामान पाँच प्रतिशत तहमा जानेछन् । मोतीलाल ओसवाल फाइनान्सियल सर्भिसका विश्लेषकहरूले भने परिवर्तनहरूले धेरै क्षेत्रलाई लाभ दिने र घरपरिवारमा ‘ठूलो बचत’ ल्याउने बताएका छन् ।



तर प्रस्ताव कार्यान्वयन हुने–नहुने अन्ततः जिएसटी परिषद्मा निर्भर छ । यस परिषद्मा राज्य सरकारका प्रतिनिधिहरू रहेका छन् । उनीहरूले अघिल्ला वर्षहरूमा व्यापक सहमति बनाउन सङ्घर्ष गर्दै आएका छन् । विशेषज्ञहरूका अनुसार यदि प्रस्ताव स्वीकृत भयो भने सार्वजनिक वित्तीय स्थिति कमजोर हुनसक्छ । तर यसले अमेरिकी करको जोखिमलाई केही हदसम्म पन्छाउने र मध्यम वर्गमा मोदीको लोकप्रियता बढाउने सम्भावना पनि छ ।

यो प्रस्ताव यस वर्षको अन्त्यतिर हुने अपेक्षित बिहार चुनावअघि आएको हो । बिहार १३ करोड जनसङ्ख्या भएको ठूलो हिन्दू बहुल राज्य हो । बिहार मोदीका लागि प्रमुख राजनीतिक युद्धभूमि मानिन्छ ।

भारत–अमेरिका व्यापार वार्ता 

अर्थशास्त्रीहरूले वर्षौंदेखि जिएसटी प्रणाली सुधारको माग गर्दै आएका थिए । तर मोदीको यो अप्रत्याशित घोषणा अमेरिका–भारत सम्बन्ध विगत केही दशककै तल्लो तहमा पुगेको समयमा आएको हो ।

अर्थशास्त्रीहरूले यदि दुवै देशबीच व्यापार सम्झौता भएन भने ट्रम्पको भन्सार शुल्कले भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर यस वर्ष छ प्रतिशतभन्दा तल झार्न सक्ने अनुमान गरेका छन् । यो दर भारतीय केन्द्रीय बैंकको छ दशमलव पाँच प्रतिशतको अनुमानभन्दा कम हुनेछ ।

हालका धेरै कार्गोहरू ट्रम्पको धम्की आउनुअघि नै सम्झौता भएकाले रूसी तेल आयातबारे भारतको स्थिति सेप्टेम्बरको अन्त्यसम्म प्रस्ट हुने व्यापार खुफिया संस्था केप्लरले बताएको छ ।
    
‘भारतीय रिफाइनरहरूले अमेरिका, पश्चिम अफ्रिका र ल्याटिन अमेरिकी कच्चा तेलमा बढ्दो चासो देखाइरहेका छन् । यसले भारतको लचिलोपन देखाउँछ, तर यो कुनै जानाजानी गरिएको रणनीतिक परिवर्तन होइन,’ केप्लरका विश्लेषक सुमित रिटोलियाले भने, ‘स्पष्ट नीतिगत परिवर्तन वा व्यापार रणनीतिमा निरन्तर बदलाव नभएसम्म रूसी तेल भारतको कच्चा तेल आपूर्तिको मुख्य स्रोत रहिरहनेछ ।’

भन्सार शुल्क वृद्धिको समयसीमा नजिकिँदै गर्दा अमेरिका–भारत व्यापार वार्ताको भविष्य अझै अनिश्चित छ । नयाँदिल्लीले सम्झौता गर्न प्रतिबद्ध रहेको जनाएको छ । तर भारतीय सञ्चारमाध्यमले अमेरिकी वार्ताकारहरूले अगस्टको अन्त्यतिर हुने भनिएको भारत भ्रमण स्थगित गरेको दाबी गरेका छन् । 

  • प्रकाशित मिति : ८ भदौ, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया