देशभित्र उत्पादन कम भएर आवश्यकता पूरा नहुँदा विदेशबाट सामान आयात गर्नुपर्छ । विश्वका अधिकांश देशहरूले आफ्ना बढी उत्पादन भएका वस्तु निर्यात गर्छन् र अपुग वस्तु आयात गरेर नागरिकको आवश्यकता पूरा गर्ने गर्छन् । नेपाल पनि त्यसै मार्गमा छ, जसले निर्यात भन्दा कैयौँ गुणा बढी आयात गर्छ । कृषि प्रधान देशको रूपमा चिनिँदै आएको नेपाल, अहिले दिन प्रतिदिन आयातमा झन् बढी निर्भर बन्दै गएको हो ।
चालु आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार साउन महिनामा मात्रै एक खर्ब ४३ अर्ब चार करोड बराबरको आयात भएको छ भने २३ अर्ब ९३ करोड २४ लाख बराबरको निर्यात भएको छ । यो अवधिमा देशलाई एक खर्ब १९ अर्ब १० करोड ८२ लाख बराबर व्यापार घाटा भएको छ ।
गत आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात ११ दशमलव ४२ र निर्यात ९५ दशमलव ७५ प्रतिशतले बढेको छ । नेपालले पेट्रोलियम पदार्थ, ग्यास, औषधि, इलेकट्रोनिक सामान, सुनचाँदी, लत्ताकपडा, गाडी, कच्चा पदार्थ, खाद्यान्नदेखि दैनिक उपभोग्य वस्तुहरू समेत ठूलो मात्रामा आयात गर्छ ।
चालु आर्थिक वर्षको पहिलो महिनामा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थको भएको छ । साउनमा मात्र पाँच अर्ब ७७ करोड १४ लाख बराबरको पेट्रोल मात्रै आयात भएको छ । यस्तै, पाँच अर्ब ८८ करोड ७७ लाखको डिजेल आयात हुँदा चार अर्ब ६६ करोड ६४ लाख रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ ।
यस्तै दोस्रोमा कच्चा सोयाबिन तेल रहेको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा १० अर्ब ८० करोड ९५ लाख रुपैयाँ बराबरको कच्चा सोयाबिन तेल आयात भएको छ । सोयाबिन तेलको कच्चा पदार्थ स्वदेशमा उत्पादन नभई विदेशबाट आयात गरिन्छ । त्यसबाट तेल निकालेर पुनः विदेश निर्यात गरिन्छ ।
यसैगरी चालु आर्थिक वर्षको पहिलो महिना चार अर्ब ६५ करोडको डिएपी रासायनिक मल आयात भएको छ । कृषि सामग्री कम्पनी र साल्ट्र ट्रेडिङ ककर्पोरेसनले मल आयात गर्ने गरेका छन् । र, सहकारी संस्थामार्फत किसानलाई मल वितरण हुने गर्छ । नेपालमा मुख्य गरी बर्खे र हिउँदे बालीमा मलको प्रयोग गरिन्छ ।
यस्तै, पछिल्लो समय फलामजन्य वस्तु आयात बढ्दो छ । चालु आर्थिक वर्षको पहिलो महिना तीन अर्ब ९१ करोड रुपैयाँ बराबरको फलामजन्य वस्तु आयात भएको हो । यसैगरी चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो महिनामै नेपालमा करिब साढे तीन अर्ब रुपैयाँ भन्दा बढीको स्मार्टफोन आयात भएको छ । साउन महिना भित्र विभिन्न मुलुक बाट ३ अर्ब ४१ करोड ९२ लाख २२ हजार रुपैयाँ बराबरका १ लाख ९८ हजार ३३३ ओटा स्मार्टफोन आयात भएको हो । नेपालमा चीन, भारत, जर्मनी, क्यानडा बेल्जीयम, हङकङ, जापान, थाइल्यान्ड, स्विजरल्यान्ड लगायत मुलुकबाट स्मार्टफोन आयात हुन्छ ।
यस्तै नेपालमा धेरै आयात हुने वस्तुमा पाम तेल, सूर्यमुखी तेल, सवारी साधन लगायत रहेका छन् । यस्तै, मुलुकबाट निर्यात भएका वस्तुमा भटमासको तेल पहिलो स्थानमा छ । भटमासको तेल निर्यात हिस्सा ४४.६९ प्रतिशत छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउनमा १० अर्ब ८० करोड रुपैयाँको कच्चा भटमासको तेल आयात गरेका व्यापारीले प्रशोधन गरेर १० अर्ब ६९ करोड रुपैयाँको निर्यात गरेका छन् । यस्तै ८२ करोड पाँच लाखको गलैँचा निर्यात हुँदा ६७ करोड १२ लाखको प्रशोधित पाम तेल निर्यात भएको छ ।
यस्तै, ६५ करोड १४ लाखको सूर्यमुखी तेल निर्यात भएको छ । आयातित कच्चा तेलको आयात, प्रशोधन र निर्यातमा निर्भर रहनुभन्दा नेपालले आफ्नै उत्पादनलाई प्राथमिकता दिएर निर्यात बढाउने ठूलो सम्भावना छ । ६० प्रतिशत जनसङ्ख्या अझै कृषिमा आश्रित रहेको मुलुकले कृषिजन्य उत्पादनलाई केन्द्रमा राख्न सके आयातमा कमी आउन सक्छ ।
चिया, कफी, अलैँची, अदुवा जस्ता उत्पादनहरूको अहिले पनि युरोपदेखि अमेरिकासम्म माग छ । पछिल्ला वर्षमा नेपाली फ्याक्ट्रीमा उत्पादित प्लाइउड, सिमेन्ट, जुत्ता, फलामजन्य वस्तु, तयारी कपडा र जुटका कपडाको निर्यात बढ्दो क्रममा छ । यी र यस्तै वस्तुको उत्पादन र निर्यातलाई अझ व्यापक बनाउन सकिन्छ । यसलाई सफल बनाउन तीनै तहका सरकार मिलेर उत्पादन, प्रशोधनमा ध्यान दिनुपर्छ ।
देश विकासको आधार वस्तु निर्यात नै हो । त्यसका लागि आन्तरिक उत्पादनमा वृद्धि गर्न अपरिहार्य हुन्छ । उत्पादन बढेपछि एकातिर देशभित्रको आवश्यकता पूरा हुन्छ भने अर्कातिर वस्तु निर्यात गरेर देशको अर्थतन्त्र सबल हुँदै जान्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।