युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका प्रयास अवरुद्ध भए पनि शान्ति खोज्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ता सबैभन्दा प्रभावकारी बाटो हुने बताएका छन् ।
उनले रोकिएका कूटनीतिक प्रयासबीच वार्ता नै स्थायी समाधानको मुख्य मार्ग रहेको औंल्याएका हुन् । युक्रेनको स्वतन्त्रता दिवसका अवसरमा गरेको टेलिभिजन सम्बोधनमा उनले रुससँगको वार्तामा जोड दिए ।
युक्रेनीहरूले आफ्नो स्वतन्त्रता दिवस मनाइरहँदा ‘युक्रेनमा रुसी आक्रमण’ चौथो वर्षमा प्रवेश गरेको छ । युद्ध जारी रहँदा आइतबार युक्रेनले रुसमाथि ड्रोन आक्रमण गरेको छ ।
आक्रमणका कारण एक रुसी आणविक ऊर्जा संयन्त्रमा आगो लागेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन–रुस शिखर सम्मेलनका लागि मध्यस्थता गर्ने भन्दै युद्ध अन्त्यका लागि दबाब दिए पनि रुसले पुटिन र जेलेन्स्कीबीच तत्काल कुनै पनि भेटवार्ता हुन नसक्ने बताएपछि युक्रेनमा शान्तिको आशा क्षीण भएको छ । तर, जेलेन्स्कीले आइतबार पुटिनसँग द्विपक्षीय शिखर वार्ताको आह्वान गर्दै ‘नेताहरूबीचको वार्ताको ढाँचा नै सबैभन्दा प्रभावकारी बाटो भएको’ बताएका छन् ।
रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले यसअघि पश्चिमा मुलुकहरूले ‘वार्ता अवरुद्ध गर्ने बहाना’ खोजेको आरोप लगाउँदै जेलेन्स्कीले ‘कुनै पनि हालतमा तत्काल बैठकको माग’ गरेको भन्दै आलोचना गरेका थिए । जेलेन्स्कीले अमेरिकी राजदूत किथ केलोग र अन्य पश्चिमी अधिकारीहरूको उपस्थितिमा आयोजित समारोहमा रूसलाई शान्तितर्फ धकेल्ने प्रतिबद्धता व्यक्त गरे ।
युद्धले दसाैँ हजार मानिसको ज्यान लिइसकेको अवस्थामा रुसले हालै पूर्वी डोनेट्स्क क्षेत्रका दुई गाउँलाई शनिबार आफ्नो कब्जामा लिएर नयाँ प्रगतिको दाबी गरेको छ ।
युक्रेनी कमाण्डर इन चिफ ओलेक्सान्डर सिस्र्कीले आइतबार डोनेट्स्कमा रहेका अन्य तीनवटा गाउँलाई पुनः प्राप्त गरिएको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।