इजरायली सेनाको आक्रमणमा गाजाको दक्षिणी क्षेत्रमा रहेको नासिर अस्पताल क्षतिग्रस्त भएको छ । यस आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ, जसमध्ये पाँचजना पत्रकार पनि हुन् ।
गाजाको नागरिक सुरक्षा निकायले सोमबार उक्त जानकारी सार्वजनिक गरेको हो । सुरक्षा निकायका प्रवक्ता महमुद बसालका अनुसार खान युनिसस्थित नासिर अस्पतालमा भएको आक्रमणमा पाँच पत्रकार र नागरिक सुरक्षाका एक सदस्यसहित कम्तीमा २० जनाको मृत्यु भएको छ ।
इजरायली सेनाले पनि सोमबार जारी गरेको विज्ञप्तिमा आक्रमणको पुष्टि गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यसमा लडाकू समूहसँग संलग्न नभएका व्यक्तिहरूलाई क्षति पुगेकोमा इजरायली सेना दुस्ख व्यक्त गर्दछ। पत्रकारहरूलाई लक्षित गर्नु हाम्रो नीति होइन ।’
कतारस्थित टिभी नेटवर्क अल जजिराका प्रवक्ताले आफ्ना फोटो पत्रकार तथा क्यामेराम्यान मोहम्मद सलामामाको मृत्यु भएको जानकारी दिएका छन् । अल जजिराले आक्रमणलाई ‘योजनाअनुसार पत्रकारलाई निशाना बनाइएको भयानक अपराध’ भनेको छ ।
एसोसिएटेड प्रेस (एपी) ले पनि आफ्नी ३३ वर्षीया फोटो पत्रकार मरियम डग्गाको मृत्युको खबरले स्तब्ध र दुःखी बनाएको जनाएको छ । रोयटर्सका प्रवक्ताले हुसाम अल–मसरीको मृत्यु र हातेम खालिदको घाइते भएको जानकारी दिएका छन् । उनीहरू तत्काल गाजा र इजरायली अधिकारीसँग चिकित्सा सहायता उपलब्ध गराउन आग्रह गरिरहेका छन् ।
‘प्यालेस्टिनी जोर्नालिस्ट सिन्डिकेट’ले मृत्यु भएका अन्य दुई पत्रकार मोअज अबु ताहा र अहमद अबु अजीज भएको पुष्टि गरेको छ । एएफपीका अनुसार अबु ताहाले केही प्यालेस्टिनी र अन्तर्राष्ट्रिय प्रकाशनमा काम गर्दै आएका थिए ।
गाजामा सञ्चारमाध्यममा लगाइएको प्रतिबन्ध र धेरै क्षेत्रमा पहुँचमा कठिनाइका कारण स्थानीय सुरक्षा निकाय वा इजरायली सेनाले उपलब्ध गराएका तथ्यांक स्वतन्त्ररूपमा पुष्टि गर्न गाह्रो छ । आक्रमणलगत्तैका फुटेजमा अस्पताल बाहिर धुवाँ उठिरहेको र भग्नावशेष फैलिएको देखिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।