स्पेनको राज्य मौसम विभाग (एएमईटी) ले जानकारी दिँदै यस अगस्ट महिनामा देशभर फैलिएको तापक्रम वृद्धिसँगै त्यसका प्रभाव पनि अभूतपूर्व रेकर्ड तोड्ने किसिमको भएको जनाएको छ ।
प्रारम्भिक तथ्याङ्कअनुसार अगस्ट ३ देखि १८ सम्मको अवधिमा औसत तापक्रम मौसमी मानकभन्दा ४.६ डिग्री सेल्सियस बढी रहेको छ, जुन–जुलाई २०२२ मा कायम भएको ४.५ डिग्री सेल्सियसको रेकर्डभन्दा माथि रहेको छ ।
एएमईटीले अगस्ट ८ देखि १७ सम्म लगातार १० दिनसम्म तापक्रममा उल्लेखनीय वृद्धि भएको र यो १९५० देखि मापन सुरु भएदेखि सबैभन्दा तीव्र तापक्रम वृद्धि भएको बताएको छ । साथै, अगस्टको पहिलो २० दिन पनि १९६१ देखि सबैभन्दा गर्मीको अवधिको रूपमा दर्ता गरिएको छ ।
अगस्ट ११, १६ र १७ तारिख स्पेनमा १९४१ देखि रेकर्ड भएका सबैभन्दा गर्मी दिनमा पर्दछन् । सन् १९७५ देखि अहिलेसम्म स्पेनमा ७७ पटक तीव्र तापक्रम वृद्धिसँग सम्बन्धित घटना देखा परेका छन् ।
तीमध्ये ६ वटा घटनामा औसत तापक्रमभन्दा ४ डिग्री सेल्सियस बढी वृद्धि भएको छ र तीमध्ये ५ वटा सन् २०१९ पछि देखिएका हुन्, जसले लामो समयदेखि तीव्र तापक्रम वृद्धि बढिरहेको देखाउँछ ।
सरकारको दैनिक मृत्यु अनुगमन प्रणालीअनुसार यस वर्षका तापक्रम वृद्धिका कारण १ हजार १४९ जनाको मृत्यु भएको छ ।
त्यसैगरी, अत्यधिक तापक्रम वृद्धिसँगै स्पेनमा सबैभन्दा खराब वन आगलागीको स्थिति पनि देखा परेको छ । युरोपेली वन अग्नि सूचना प्रणालीका तथ्याङ्कअनुसार यस अवधिमा ४ लाख ६ हजार १०० हेक्टर जमिन जलेको छ, जुन सिङ्गापुरको क्षेत्रफलभन्दा करिब ५.५ गुणा ठूलो हो ।
वन आगलागीका कारण चार जनाको ज्यान गयो भने ३० हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्नु परेको थियो । अधिकांश विस्थापित फिर्ता भइसकेका छन् । तर, धेरै वन आगलागी अझै नियन्त्रण बाहिर रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।