नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको मिति सार्वजनिक भएसँगै टोलीहरू तयारीमा जुट्न थालेका छन् । आउँदो १ मंसिरदेखि सुरु हुन लागेको एनपिएल–२ का लागि आठवटै टोली आन्तरिक तयारीमा व्यस्त हुन थालेका हुन् ।
पहिलो सिजनले दर्शक र खेलाडीमा उत्साह जगाएको थियो । यसपटक प्रतियोगिता अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ । टिमहरू अहिले रणनीति तय गर्दै विदेशी खेलाडी भित्र्याउन केन्द्रित छन् ।
गत सिजन प्लेअफसम्म पुगेको कर्णाली याक्सले यसपटक मिनी अक्सनपछि टिमलाई थप सशक्त बनाएको छ । अनुभवी नेतृत्व, प्रतिभाशाली अलराउन्डर र विविध बलिङ विकल्पले टिमलाई बलियो आधार दिएको छ ।

कर्णालीको ११ सदस्यीय स्वदेशी स्क्वाडलाई राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले प्रशिक्षण दिइरहेका छन् । यस्तै, कर्णालीको टिममा कप्तानको जिम्मेवारी अनुभवी अलराउन्डर सोमपाल कामीले सम्हालिरहेका छन् ।
उनीसहित कर्णालीले गुल्सन झा, नन्दन यादव, अर्जुन घर्ती, दीपेन्द्र रावत, विपिन शर्मा र युनिशविक्रम सिंह ठकुरीलाई रिटेन गरेको थियो । उसले मिनी अक्सनमार्फत चार खेलाडीलाई अनुबन्ध गरेको छ ।
कर्णालीले पवन सर्राफलाई १५ लाख, युवराज खत्रीलाई १० लाख, इमरान शेख र दीपक डुम्रे दुई/दुई लाखमा भित्र्याएको हो । उसले अक्सनमा ४७ लाखमध्ये २९ लाख खर्च गरेको छ । कर्णालीसँग अझै १८ लाख रकम बाँकी छ ।
मिनी अक्सनपछि कर्णालीको टिम बलिङ लाइनअपमा बलियो देखिएको छ । सोमपाल कामी, नन्दन यादव र गुल्सन झाले टिमको फास्ट बलिङ धारिलो बनाएका छन् । गुल्सन मिडिल अर्डरमा आक्रामक ब्याटिङ गर्न पनि सक्षम छन् । यस्तै, नन्दन र सोमपाल तल्लोक्रममा बलिङका साथै ब्याटिङ गर्न सक्छन् । पवन सर्राफको आगमनले बलिङ र ब्याटिङमा कर्णालीलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
स्पिन बलिङमा पनि कर्णालीसँग पर्याप्त विकल्प छन् । बायाँ हाते स्पिनर विपिन शर्मा, अफस्पिनर दीपेन्द्र रावत तथा लेगस्पिनर युवराज खत्री र युनिसविक्रम सिंहले बलिङमा विविधता प्रदान गरेका छन् । यस्तै, पवन सर्राफ पनि स्पिन बलिङमा सक्षम छन् ।
कर्णालीमा विकेटकिपरको रूपमा अर्जुन घर्ती र दीपक डुम्रे रहेका छन् । यद्यपि कर्णालीको टिममा टप अर्डरमा स्थिरता अझै चुनौतीपूर्ण छ । गत वर्ष पनि यही कमजोरीले महत्वपूर्ण क्षणमा टिम समस्या परेको छ । कर्णालीमा इमरान शेख, अर्जुन र दीपक मिडिल अर्डर ब्याटरको रूपमा छन् । तर, अनुभवको कमीले उनीहरूमाथि टिमको पूर्ण भरोसा छैन ।

डेथ ओभरमा कमजोर प्रदर्शन गर्ने समस्या कर्णालीले यसपटक सुधार गर्नुपर्ने देखिन्छ । उसँग यो भूमिका निर्वाह गर्न नन्दन यादव छन् । यद्यपि कर्णालीमा उनलाई साथ दिने फास्ट बलर छैनन् । टिममा सोमपाल भए पनि डेथ ओभरमा उनको विगत त्यति राम्रो छैन । कर्णालीले उनलाई पावरप्लेमा सदुपयोग गर्ने देखिन्छ ।
एनपिएलको नियमअनुसार चार विदेशी खेलाडी अनुबन्ध गर्ने अधिकारसहित कर्णालीले यसपटक बलिङका साथै ब्याटिङमा ध्यान केन्द्रित गर्ने योजना बनाएको छ । विशेषगरी आक्रामक ओपनर र मिडिल अर्डरमा विस्फोटक ब्याटर तथा फास्ट बलरको खोजी कर्णालीको प्रमुख प्राथमिकता हो । गत सिजनमा उसले उत्कृष्ट पुनरागमन गर्दै प्लेअफसम्मको यात्रा गरेको थियो ।
पहिलो चरणमा कर्णालीले सात म्याचमध्ये चारमा जित र तीन खेलमा हार बेहोर्यो । यद्यपि कर्णाली क्वालिफायर–२ मा जनकपुर बोल्ट्ससँग हार बेहोरेर उपाधि दौडबाट बाहिरिएको थियो ।
यसपटक भने ऊ अझ बलियो बनेर च्याम्पियन बन्ने लक्ष्यमा छ । त्यसका लागि कर्णाली विदेशी कोटाबाट स्टार खेलाडी भित्र्याउने तयारी गरिरहेको छ । उसले गत सिजनमा भारतीय स्टार शिखर धवनलाई अनुबन्ध गरेर सबैलाई चकित पारेको थियो । कर्णाली यसपालि पनि चर्चित खेलाडी भित्र्याउँदै उपाधि जित्ने दाउमा छ ।
यो पनि
कुन विभागमा कस्ता विदेशी खेलाडीको खोजीमा छ पोखरा एभेन्जर्स ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।