गाजाको युद्ध अन्त्य गर्दै त्यहाँ रहेका बन्धकलाई सुरक्षित फिर्ता ल्याउन मागसहित मङ्गलबार बिहान इजरायलका प्रदर्शनकारी सडकमा उत्रिएका छन् । उनीहरूले साँझका लागि तोकिएको सुरक्षा क्याबिनेट बैठकअघि सरकारलाई दबाब दिने प्रयास गरेका हुन् ।
एएफपीका पत्रकारले तेल अभिवमा प्रदर्शनकारीहरूले सडक अवरुद्ध गरी इजरायली झण्डा फहराएको र बन्धकहरूको तस्बिर बोकेको दृश्य देखेका थिए । यस्तै, इजरायली मिडियाका अनुसार अमेरिकी दूतावासको शाखा नजिकै र देशभरका मन्त्रीहरूको घर अगाडि पनि र्याली भएका छन् ।
‘टेबलमा प्रस्ताव तयार छ । हामी हाम्रा नेताहरूलाई वार्तामा बस्न र सहमति नभएसम्म उठ्न नदिने माग गर्छौँ’, अक्टोबर २०२३ मा आफ्नो छोरा अपहरणमा परेका परिवारको प्रतिनिधित्व गर्ने फोरमले विज्ञप्ति जारी गर्दै भनेको छ ।
सुरक्षा मन्त्रिपरिषद् बैठकको एजेन्डा आधिकारिकरूपमा सार्वजनिक गरिएको छैन । तर, स्थानीय समाचारले युद्धविराम र बन्धक मुक्तिको नयाँ वार्ताबारे छलफल हुने सम्भावना औंल्याएका छन् ।
मन्त्रिपरिषदले अगस्टको सुरुमा सेनाले गाजा सहर कब्जा गर्ने योजनालाई अनुमोदन गरेको थियो । यसले बन्धकहरूको सुरक्षामा थप चिन्ता पैदा गरेको छ । पछिल्ला हप्तामा देशभर हजारौं मानिस सडकमा उत्रिएर विरोध प्रदर्शनमा सहभागी भए ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गत हप्तामै गाजामा बाँकी रहेका सबै बन्धकको रिहाइका लागि तत्काल वार्ता सुरु गर्न आदेश दिएका थिए । तर, सोसँगै उनले गाजाको सबैभन्दा ठूलो सहर कब्जा गर्ने आक्रमण योजनालाई अझ प्रबल बनाएका थिए ।
हमासले मध्यस्थकर्ताले अघि सारेको नयाँ युद्धविराम प्रस्ताव स्वीकार गरेको बताएकै बेला यो घटनाक्रम आएको हो । उक्त प्रस्तावअनुसार प्रारम्भिक ६० दिनको अवधिमा कब्जामा रहेका प्यालेस्टिनी कैदीहरूको सट्टामा बन्धकहरूको चरणबद्ध रिहाइ हुने योजना छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।