नेपाललगायत विश्वभर मासुमंश वा तामासिक खानपानमा रमाउनेको संख्या ठूलो छ । त्यस्तै अर्काथरी मानिस पनि छन् जो सीमित र सन्तुलित खानेकुरा खान्छन् र त्यसैमा रमाउने गर्छन् । उनीहरू शाकाहारी भोजनमा अभ्यस्त हुन चाहन्छन् ।
शुद्ध शाकाहारीले सेवन गर्ने खानेकुरालाई भेगन डाइट भनिन्छ । अहिले विश्वभर यस किसिमको खानेकुरा खानेहरूको संख्या बढ्दो छ । यसले शरीरलाई मात्र होइन, भावनालाई पनि शुद्ध बनाउँछ भन्ने मान्यता छ ।
केही समयदेखि नेपालमा पनि भेगन बन्ने नयाँ अभ्यासको विकास भइरहेको छ । उनीहरूले मासुजन्य परिकार मात्र होइन दूधजन्य परिकार समेत खाँदैनन् । मासुजन्य र दुधजन्य खानेकुरा शरीरमैत्री नभएको भेगनहरूको तर्क छ । अहिले भेगन डाइटका लागि छुट्टै रेष्टुरेण्टसमेत सञ्चालन भएका छन् ।
काठमाडौंको ठमेलस्थित पहिलो नेपाली भेगन लभिङ हार्ट रेष्टुरेन्टले भेगनबारे बुझाउँदै परिकार दिइरहेको सञ्चालक सामु योञ्जनको भनाई छ ।
नरिवलको दूधबाट खीर, भटमासको दूधबाट दही, बदामको दहीबाट पनीर बनाइने गरिएको छ। हिंसारहित माछा र मासु पनि पाइन्छ भन्ने देखाउँदै हिंसाबाट टाढा रहनुपर्ने धारणा विकास भइरहेको हो । कलाकार सरिता राजोपाध्यायले भेगनले मानिसको मनमा सकारात्मक उथलपुथल ल्याउने बताउँछिन् । मानिस सबैभन्दा उत्कृष्ट रचना भएका कारणपनि करुणा र दयाले भेगन हुनुपर्नेमा उनले जोड दिइन् ।
यस्तै, अर्की भेगन सरिता श्रेष्ठले मासुसाथै डेरी प्रडक्ट खाने भनेको गौहत्यामा संलग्न हुनु भएको बताइन् । शुद्ध र निराहार व्रत बस्नुपर्नेमा अघिल्लो दिनमा मासु खाएर भोलिपल्ट व्रत बस्नाले फलिफाप नहुने उनको बुझाइ छ ।
स्थानीय दीपेश श्रेष्ठ भेगन कुनै पनि प्रोडक्टको लागि जनावरलाई शोषण गरेको छ भने पैसा हालेर म सपोर्ट गर्दिनँ भन्ने फिलोसफी रहेको दाबी गर्छन् । अझ पर्वहरूमा रमाइलोका लागि कुनै पनि पशुको हत्या गर्न नहुने उनी सुझाउँछन् ।
भेगन जनावरजन्य कुनै पनि पदार्थ नखाई वनस्पतिमा आधारित भोजन रोज्ने जीवनशैली हो । यसले स्वास्थ्यलाई मजबुत बनाउनुका साथै पशु अधिकारको सम्मान, वातावरण संरक्षण र स्वस्थ जीवनशैली अपनाउन मद्दत गर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।