काठमाडौं उपत्यका विकास प्राधिकरणका आयोजना प्रमुख एवं जिल्ला आयुक्त सुभाष बस्नेतले काठमाडौंमा कम्तीमा पनि एक लाख रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको बताएका छन् ।
सोमबार प्राधिकरणको कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले धोबी खोलामा मात्रै पनि कम्तीमा तीन हजार रोपनी जग्गा अतिक्रमणमात्र नभई व्यक्तिको नाममा दर्ता भएको पनि खुलासा गरे ।
उनले भने, ‘डाटा हेर्दा १ लाख ३४ हजार तीन हजार ५९ वर्गमिटर स्क्वायर अतिक्रमण छ । धोबी खोलामा मात्रै पनि कम्तीमा तीन हजार रोपनी जग्गा अतिक्रमणमात्र छैन, दर्ता पनि छ । एउटा त बुद्धनगर वरिपरी चर्चित कम्पनी छ त्यसको नाममा तीन रोपनी १० आना जग्गा छ ।’
बस्नेतले खोला किनारमा बनेका घरहरूका शौचालय ढलमा जोडिएको कारण काठमाडौंका नदीहरू फोहोर भएको पनि बताए । सबै शौचालयको सेफ्टी ट्यांकी बनाइने हो भने एक वर्षभित्र काठमाडौंका सबै नदी नालाहरू सफा हुने उनको भनाइ छ ।
‘काठमाडौंका नदीनालाहरू जसरी फोहोर भए, त्यो कारण के हो त ?सबैको शौचालय ढलमा जोडियो र ढल खोलामा गयो । यसमा सजिलो उपाय के छ भने उहाँहरूले सेफ्टी ट्यांकी बनाइदिनुपर्छ । त्यति गर्यो भने एक वर्षभित्र काठमाडौंका सबै नदी नालाहरू सफा हुन्छ,’ उनले भने ।
स्थानीयका अनुसार खोलानाला अहिले आएर मासिएका होइनन्, पहिल्यैदेखि चल्दै आएको बताउँछन् । अधिवक्ता युवराज कोइरालाले ललिता निवासको अपचलन भएको एक सय ४३ बिगाह जग्गा सर्वोच्च अदालतको विशेष मिलेमतोमा सरकारको नाममा आउनबाट रोकिएको आरोप लगाए ।
विभिन्न राजनीतिक दल, व्यवसायी र अदालतका न्यायाधीशको पनि मिलेमतो रहेको उनको आरोप छ । स्थानीयबासी र विज्ञहरूले उठाएका यी प्रश्न र आरोपहरूले काठमाडौं उपत्यकामा सार्वजनिक जग्गा अतिक्रमण र नदी नालाको फोहोर अवस्थाको जटिलता देखाउँछन् ।
प्राधिकरण र प्रशासनिक निकायले तत्काल आवश्यक कदम उठाए पनि सार्वजनिक जग्गाको संरक्षण, खोलानालाको सफाइ र निष्पक्ष नियमन सुनिश्चित गर्न नागरिक, प्रशासन र न्यायपालिका सबैको अझै जिम्मेवार हुनुपर्ने देखिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।