अघिल्लो वर्ष असार पहिलो साताको एक संसद बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कवाड व्यवसायीलाई संसदबाटै उक्साउँदै भने, ‘कवाड लगेर बालेनको घर र महानगरमा फाल्नुस्’ । त्यति मात्रै होइन, उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनलाई हिटलर बन्न खोजेको टिप्पणी गरे ।
सांसद सिंहले मेयर बालेनले पपुलिजमको आडमा न्यायलाई नै निषेध गर्न खोजेको आरोप लगाउँदै कवाडी व्यवसायीमाथि दमन भइरहेको तर्क गरेका थिए ।
सिंहको यो अभिव्यक्तिको ८ महिना पछि अर्थात् गत माघमा आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले पनि संसदबाट काठमाडौं महानगरले गुन्डागर्दी प्रदर्शन गरिरहेको बताए । उनले काठमाडौंको टेकुमा कवाडमा काम गर्ने मजदुरहरूमाथि साङ्घातिक हमला गरेर काठमाडौं महानगरपालिकाले गुन्डागर्दी प्रदर्शन गरिरहेको त्यस बेला आरोप लगाएका थिए ।
यसरी राजनीतिक संरक्षणकै कारण कवाड व्यवसायी र महानगरबीचको किचलो अझै पनि चलिरहेको छ । अहिले पनि काठमाडौंमा कवाड व्यवसायी आन्दोलनरत छन् । नेताहरूकै भाषा बोल्दै कवाड व्यवसायीहरू बालेनले गुण्डा गर्दा गरेको भन्दै विरोध प्रदर्शन गरिरहेका हुन् ।
कवाड व्यवसायी सङ्घर्ष समितिमा संयोजक राम केवल गुप्ताले काठमाडौंबाट कवाडलाई हटाएर एक अरब रुपैयाँ महानगरलाई आउने भएको हुनाले हामीलाई हटाउन खोजिएकोसम्मको आरोप लगाउँदै आएका छन् । वर्षदेखि नगर प्रमुखले कवाडी व्यवसायीका घर र व्यवसायमा डोजर लगाउने काम गरेको आरोप लगाउँदै अहिले त्यसको विरुद्धमा व्यवसायीहरू सडकमा उत्रिएको बताए ।
काठमाडौंमा करिब तीन हजार कवाड सङ्कलन केन्द्र रहेको अनुमान छ । कवाड व्यवसायी ओमप्रकाश सिंहले युरोपियन देशको डिजाइनमा बालेनले आफूहरूलाई लखेटिरहेको बताएका छन् । उनले अब काठमाडौं महानगरविरुद्ध निर्णायक आन्दोलन गर्ने चेतावनी दिए ।
काठमाडौं महानगरपालिकाले दुई वर्षअघि नै गरेको भित्री सहरका कवाड गोदाम हटाउने निर्णय अहिले पनि साम्य हुन सकेको छैन । कवाड व्यवसायी समाज नेपालले अहिले पनि विभिन्न पाँच बुँदे माग राख्दै आन्दोलन गरिरहेको छ । संविधानले दिएको पेसा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, सङ्कलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने,ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।
काठमाडौं महानगरले भने स्थानीय गुनासो र वातावरणीय समस्या समाधानका लागि कदम चालिएको बताउने गरेको छ । कवाड मुद्दालाई लिएर बालेनविरुद्ध राजनीतिक घेराबन्दी भइरहेको टिप्पणी पनि धेरैले गरिरहेका छन् । किनकि, यो मुद्दामा अमरेश र प्रभुलगायत नेताको प्रवेशले यस्तै सङ्केत गर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।