वीरगञ्जमा झाडापखाला र हैजाजस्ता रोगका लक्षण देखाएर अस्पताल पुग्ने व्यक्तिको संख्या ५ सय नाघेको छ । वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाले बुधबार साँझ सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म ५२८ जनामा संक्रमण पुष्टि भएको छ ।
बुधबार साँझसम्म ११४ जनामा हैजा पुष्टि भएको थियो । बिहीबार थप १८ जना नयाँ संक्रमित भेटिएका हुन् । गत २४ घण्टामा मात्रै १०६ जना नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन् ।
तथ्यांकअनुसार अहिले आईसीयूमा ३५, एचडीसीयूमा ४ र सामान्य वार्डमा २३२ जना बिरामी उपचाररत छन् । गत शुक्रबार यता २५७ जना बिरामी उपचारपछि घर फर्किसकेका छन् ।
आरडीटी परीक्षणअनुसार नारायणी अस्पतालमा ४७, तराई अस्पतालमा ४३ र नेशनल मेडिकल कलेजमा १७ जना बिरामीमा हैजा पुष्टि भएको छ । वीरगञ्ज हेल्थ केयर ५ र मंगलम प्याथोलोजी तथा भवानी अस्पतालमा समान ४ जनामा हैजा पुष्टि भएको छ । अली अर्थो अस्पताल र एड्भान्स सेन्ट्रल अस्पतालमा दुई/दुई जनामा संक्रमण भेटिएको छ ।
मंगलबार झाडापखालासहित अस्पताल आएका एक बालक र दुई पुरुषमा हैजा पुष्टि भएको अस्पतालले जनाएको छ । वीरगञ्जका विभिन्न १६ वटा अस्पतालमा हाल २७१ जना बिरामी उपचाररत छन् ।
पर्साकै पोखरिया नगरपालिकामा पनि आठ जनामा हैजा पुष्टि भएको छ । बुधबार तीन र बिहीबार थप पाँचजना बिरामी भेटिएका थिए ।
झाडापखाला जस्तो देखिने हैजा केही घण्टादेखि पाँच दिनभित्र लक्षण देखाउने गर्छ । मुख्य स्रोत फोहोर र दूषित पानी हुन् ।
संक्रमण भएका धेरैमा साधारण लक्षण मात्र देखिन्छ र केही दिनभित्र निको हुन्छ । तर, गम्भीर अवस्थामा तत्काल उपचार नपाए मृत्यु हुनसक्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।