नेपाल ‘ए’ क्रिकेट टोलीले पछिल्लो डेढ वर्षयता कुनै पनि प्रतियोगिता खेलेको छैन । प्रतियोगिता नपाउँदा खेलाडीको अभ्यासमा कमी आउनुका साथै उनीहरू फुर्सदिलाजस्तै बने । तर, अब भने ‘ए’ टिमले फेरि मैदानमा आफ्नो क्षमता देखाउने अवसर पाएको छ ।
यसपटक नेपाल ‘ए’ ले भारतको गुवाहाटीमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो । भारत भ्रमणमा रहँदा नेपालले आसाम स्टेट टिमसँग पाँचवटा टी–२० खेल खेल्ने तालिका छ ।

नेपाल ‘ए’ टोलीका लागि यो भ्रमण महत्त्वपूर्ण छ । प्रतिद्वन्द्वी टोलीसँगको म्याचले खेलाडीहरूको रणनीति, मानसिक तयारी र सहकार्यमा सुधार ल्याउने आशा छ । विदेशी मैदानमा खेल्दा खेलाडीले पिचको भिन्नता, मौसमको चुनौती र प्रतिस्पर्धी शैलीको अनुभव पाउनेछन्, जसले आगामी प्रतियोगिताका लागि खेलाडीलाई अझ सुदृढ बनाउनेछ ।
आसामको टिम कति बलियो ?
नेपाल ‘ए’ र आसामबीचको पहिलो खेल बिहीबार बिहान ११ बजेदेखि सुरु हुनेछ । नेपाल ‘ए’ विरुद्ध सिरिज खेल्न लागेको आसामको टिममा केही अनुभवी खेलाडी छन् । आसामको टिम सुमित घडिगाँकरको कप्तानीमा नेपालविरुद्ध खेल्ने तयारीमा छ ।
सुमित टिमका अनुभवी खेलाडीमध्ये एक हुन् । उनले १७ प्रथम श्रेणी क्रिकटको म्याच र १६/१६ लिस्ट ‘ए’ र टी–२० म्याच खेलेका छन् । ३३ वर्षीय घडिगाँकर विकेटकिपरसमेत हुन् ।

नेपाल ‘ए’ विरुद्ध खेल्ने आसामको टिममा रहेका सर्वाधिक अनुभवी खेलाडी हुन्, शिवशंकर रोय । उनले ६७ फस्र्ट क्लास म्याच तथा ९२ लिस्ट ‘ए’ तथा ५३ टी–२० खेलेका छन् । रोय पार्टटाइम बलरसमेत हुन् ।
यस्तै, आसामको टिममा आकाशसेन गुप्ता, मृन्मय दत्ता र अभिनव चौधरी पनि रहेका छन् । उनीहरूले पनि भारतको प्रतिष्ठित घरेलु प्रतियोगिता रणजी ट्रफी, विजय हजारे ट्रफी र सैयद मुस्ताक अलि ट्रफी खेलिसकेका छन् । त्यस्तै, अभिलाष गोगोई, रुहिनन्दन पेगु र हृषिकेश तमुली पनि नेपाल ‘ए’ विरुद्ध खेल्ने छन् । उनीहरूले पनि भारतका चर्चित घरेलु प्रतियोगिता खेलिसकेका छन् ।
यद्यपि आसामको टिममा आइपिएल र अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका खेलाडी भने छैनन् । घरेलु क्रिकेटमा आसाम टिमको कप्तानी अलराउन्डर रियान परागले गर्दै आएका छन् । तर, हाल एसिया कप टोलीको रिजर्भ खेलाडीमा समावेश भएका कारण उनले नेपाल ‘ए’ विरुद्धको सिरिज गुमाउने छन् । यता नेपाली टिमको कप्तानी विकेटकिपर अनिलकुमार साहले गर्ने छन् ।

उनले पहिलोपटक नेपाल ‘ए’ को कप्तानी गर्न लागेका हुन् । यसपटक क्यानले विनोद भण्डारीलाई टिम बाहिर राख्दै अनिललाई कप्तानको जिम्मेवारी दिएको हो ।
यस्तै, नेपाल ‘ए’ टोलीमा मोहम्मद आदिल आलम, अर्जुन घर्ती मगर, तृतराज दास, शुभ कंसाकार, इशान पाण्डे, देव खनाल, सन्दीप जोरा, विवेक यादव, पवन सर्राफ, बसिर अहमद, आकाश चन्द, कमल सिंह ऐरी, शेर मल्ल, सागर ढकाल र युवराज खत्री पनि टिममा रहेका छन् ।
उनीहरू अब भारत भ्रमणमा उत्कृष्ट प्रदर्शन गर्दै आउँदो अक्टोबरमा हुने टी–२० विश्वकप छनोटका लागि नेपालको प्रमुख टोलीमा स्थान बनाउने पूरा कोसिस गर्ने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।