संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का प्रमुखले खोपसम्बन्धी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरसँगको विवादका क्रममा राजीनामा दिन नमानेपछि ह्वाइट हाउसले उनलाई बर्खास्त गर्न लागेको बुधबार पुष्टि गरेको छ ।
केनेडीले अमेरिकी खोप नीतिमा व्यापक फेरबदल गरेको विषयमा बढ्दो विवादका कारण सिडिसीका अन्य पाँचजना वरिष्ठ अधिकारीले पनि राजीनामाको घोषणा गरेको एजेन्सीका केही कामदारको प्रतिनिधित्व गर्ने एक युनियनले जनाएको छ ।
उनी स्वास्थ्य वैज्ञानिक तथा लामो समयदेखि अनुभव प्राप्त सरकारी कर्मचारी सुसन मोनारेज सीडीसीको प्रमुख थिइन् । तर, केनेडीको स्वास्थ्य तथा मानव सेवा विभाग (एचएचएस) ले उनी ‘अब निर्देशक नरहेको’ घोषणा गरेको छ ।
केनेडीले राजनीतिक लाभका लागि सार्वजनिक स्वास्थ्यलाई हतियार बनाएको र लाखौँ अमेरिकीको जीवन जोखिममा पारेको आरोप लगाउँदै वकिलहरूले भने, ‘उनी निष्ठावान र विज्ञानप्रति समर्पित व्यक्ति हुन् र उनले राजीनामा दिने छैनन् ।
मोनारेजले अवैज्ञानिक, लापरबाहीपूर्ण निर्देशन र समर्पित स्वास्थ्य विशेषज्ञलाई बर्खास्त गर्न नमानेपछि उनलाई नै निशाना बनाइएको बताइएको छ ।
ह्वाइट हाउसले भने मोनारेजलाई बर्खास्त गरिएको पुष्टि गरेको छ । ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले इमेलमार्फत जारी गरेको एएफपीलाई प्राप्त विज्ञप्तिमा भनेका छन्, ‘सुसन मोनारेज राष्ट्रपतिको अमेरिकालाई स्वस्थ बनाउने कार्यसूचीसँग मेल खानु हुँदैन ।’
‘सुसन मोनारेजले एचएचएस नेतृत्वलाई राजीनामा दिन चाहेको जानकारी गराए पनि राजीनामा दिन आलटाल गरेपछि ह्वाइट हाउसले मोनारेजलाई सीडीसीको पदबाट बर्खास्त गरेको छ,’ देसाईले भने ।
मोनारेजको बर्खास्तीबारे पहिलो पटक समाचार प्रकाशित गर्ने वासिङ्टन पोस्टका अनुसार केनेडीले उनको खोप नीति परिवर्तनलाई समर्थन गर्ने प्रतिबद्धता जनाउन नमानेपछि सिडिसी प्रमुखबाट राजीनामा दिन दबाब दिएका थिए ।
अति भयो
सिडिसीका दुई हजारभन्दा बढी कर्मचारीको प्रतिनिधित्व गर्ने एक युनियनका अनुसार सिडिसीका पाँच उच्च पदस्थ अधिकारीले इमेलमार्फत राजीनामा दिएका छन् ।
एएफजीई लोकल २८८३ युनियनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सिडिसीका धेरै अनुभवी जनस्वास्थ्य नेतृत्वले अचानक राजीनामा दिएको सुनेर हामी स्तब्ध भएका छौँ ।’
‘राजनीतिले उनीहरूलाई कुनै विकल्प नछाडेका कारण धेरैले आफूले मन पराएको कामबाट टाढा जान बाध्य भए’, युनियनले भनेको छ, ‘खोपले जीवन बचाउँछ ।’सिडिसीको राष्ट्रिय खोप तथा स्वासप्रश्वास रोग केन्द्रका निर्देशक पदबाट राजीनामा दिएका डेमेट्रे दासकलाकिसले भने,’ यो त अति भयो ।’
‘सिडिसीलाई वैज्ञानिक वास्तविकता प्रतिबिम्बित नगर्ने नीतिहरू र सामग्रीहरू उत्पन्न गर्ने उपकरणको रूपमा व्यवहार गरिएको छ र यसले जनताको स्वास्थ्य सुधार गर्नुको सट्टा चोट पुर्याउने छ । म त्यस्तो वातावरणमा सेवा गर्न असमर्थ छु, उनले एक्समा लेखेका छन् ।
सिडिसीका प्रमुख चिकित्सा अधिकृत डेब्रा होउरी र संस्थाको ‘नेशनल सेन्टर फर इमर्जिङ एन्ड जुनोटिक इन्फेक्शियस डिजिज’ का निर्देशक डेनियल जर्निगनले पनि राजीनामा दिएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।