प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओलीले एमालेको दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिलाई सरकारी निवास बालुवाटारमा भेला गर्न लगाए ।
११ भदौमा आयोजित उक्त अनौपचारिक छलफलमा ओलीले दिएको वक्तव्यमा धेरै समय आफूलाई एमालेको आगामी अध्यक्षको दाबेदारका रूपमा प्रस्तुत गर्दै आएकी पूर्वराष्ट्रपति विद्या भण्डारीप्रति तीतो पोख्न खर्चिए । अध्यक्ष ओलीले आफ्ना कार्यकर्तालाई भने, ‘उहाँको सम्मानका लागि हामी सबैले उहाँलाई फर्किएर आएर उम्मेदवार बन्ने, बनाउने गल्ती नगरौँ ।’
आगामी महाधिवेशनमा पनि नेकपा एमालेको सर्वसम्मत अध्यक्ष बन्ने योजनामा रहेका ओली पूर्वराष्ट्रपति भण्डारीले पार्टी राजनीतिमा आउने घोषणा गरेसँगै बेचैन भइरहेका छन् । सुरुमा भण्डारीको पार्टी राजनीति पुनरागमनलाई हल्का रुपमा लिएका ओली एमालेभित्र भण्डारीले देखाएको सक्रियता, पार्टी अध्यक्ष बन्ने महत्वकांक्षा र उनको पार्टीभित्र र कार्यकर्तामाझ बढ्दै गएको क्रेजले आत्तिन थालेका छन् ।
यदि पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा आइन र उनी एमालेको अध्यक्ष बन्ने अवस्था आयो भने आफ्नो राजनीतिक भविष्य समाप्त हुनसक्ने सम्भावना देखेका ओलीले कुनै पनि हालतमा भण्डारीलाई पार्टी राजनीतिमा आउन नदिने चाल चलिरहेका छन् ।
अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले महाधिवेशनमा जित्ने अवस्था नरहेको जनाउँदै चुनाव हारेर डा. भीम रावलको तरिकाले असन्तुष्ट भएर खाँबो चिर्थाेन थालेपछि (पार्टीको विरोध गर्न थालेपछि) पार्टीले स्पष्टीकरण सोध्नुपर्ने अवस्था आउने भएकाले राष्ट्रपति भइसकेको व्यक्तिलाई स्पष्टीकरण सोध्नुपर्ने ठाउँमा पुर्याउन नहुने बताए । अहिले भण्डारीको पार्टी सदस्यता नभएकाले पार्टीले स्पष्टीकरण सोध्न नसक्ने उनले बताए ।
भण्डारीको सक्रिय देखेर रिसले चुर बनेका ओलीले भण्डारीले महाधिवेशनमा हार्न अहिले नै ठोकुवा गर्नुले उनी भण्डारीसँग आत्तिएको संकेत गर्छ । उक्त छलफलमा अध्यक्ष ओलीले भण्डारीलाई कारबाही गर्ने संकेतसमेत गरेका छन् । उनले बैठकमा भण्डारीलाई स्पष्टीकरण सोध्नुपर्ने र कारबाही गर्नुपर्ने अवस्थामा पार्टी पुग्यो भने नराम्रो देखिने र सुनिने प्रक्रिया दिए ।
भण्डारी महाधिवेशनमा चुनाव लडेको खण्डमा उनले हार्ने निश्चित भएको ओलीको दाबी छ । पार्टीको हितका लागि भएपनि भण्डारीले हार्नुपर्ने उनको भनाइ छ । यो संघर्षको मैदान भएकाले सबैको आँखामा हाल्दा पनि नबिझाउने लालगेडी भएर चल्न नसकिने ओलीको तर्क छ ।
भण्डारीलाई पार्टी राजनीतिमा आउन नदिने अध्यक्ष ओलीले अनेक तिकडम गरिरहेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन संविधानले नरोक्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्रको प्रदेश सचिवालय बैठकमा सहभागी हुन बिहीबार बिहान विराटनगर पुगेका प्रचण्डले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन आफूले बाटो खोलिदिएको दाबी गर्दै आफूले उपराष्ट्रपतिलाई पार्टीको सक्रिय राजनीतिमा ल्याएपछि त्यसले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा भण्डारीलाई पार्टी राजनीतिमा आउन ढोका खोलिदिएको बताएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।