१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

गलत सूचनाले अफ्ठ्यारोमा गौशाला प्रहरी वृत्त
चोरीमा संलग्न व्यक्तिमाथि अनुसन्धान : गलत सूचना प्रवाहले दबाबमा प्रहरी

काठमाडौं महानगरपालिका-९ स्थित रुद्रमति मार्गमा रहेको ‘शिवालय द क्याफे एण्ड बार’मा गत भदौ ४ गते बिहान करिब २ बजे चोरी हुन्छ । चोरी भएको भिडियो फुटेज क्याफेमा रहेका सिसिटिभी क्यामेरामा कैद हुन्छन् । फरकधारलाई प्राप्त उक्त सिसिटिभी फुटेजमा ती व्यक्तिले क्याफेको घर्राबाट केही नगद र ल्यापटपलगायत सामान चोरेको प्रष्ट देखिन्छ ।


सोही प्रमाणको आधारमा क्याफे सञ्चालक शिवराज रेग्मीले घटनाको अनुसन्धान गरी चोरीमा संलग्नलाई कारबाही गर्न गौशालास्थित प्रहरी वृत्तिमा उजुरी दिन्छन् । उजुरी दिएको दुई दिनपछि चावहिल क्षेत्रबाट चोरी गर्दा प्रयोग गरेको पोसाकमै प्रहरीले आरोपिलाई नियन्त्रणमा लिन्छ । प्रहरीले नियन्त्रणमा लिएपछि चोरीमा संलग्न ती व्यक्ति धादिङका अनिल बिसंखेले रहेको तथ्य खुल्छ ।



नियन्त्रणमा लिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले उनी लागूऔषध दुर्व्यसनको कुलतमा फसेको र लागूऔषध सेवन गर्नकै लागि चोरी गर्ने गरेको पत्ता लगाउँछ ।

क्याफेमा चोरी गरेपछि अनिल बिसंखे नाम गरेका ती व्यक्तिले प्रहरीले पक्राउ गर्नुअघि काठमाडौं कपनस्थित दीपेन भण्डारी नाम गरेका अर्का व्यक्तिको घरबाट पनि तीन थान मोबाइल चोरी गरेको फेला परेको छ । क्याफेमा चोरी गरेको भिडियो सार्वजनिक भएपछि सोही हुलियाको व्यक्तिले आफ्नो घरमा पनि चोरी गरेको भन्दै भण्डारीले अहिले प्रहरी वृत्त गौशालामा उजुरी दिएका छन् ।



क्याफे सञ्चालक रेग्मीका अनुसार बिसंंखेले नगद दश हजारसँगै एक थान ल्यापटप, चुरोट र हुक्काका ‘फेलेबर’ चोरी भएका छन् । उनका अनुसार क्पाफेबाट करिब १ लाख २५ हजार रूपैयाँ बराबरको समान तथा नगद चोरी भएको छ ।

प्रहरीले नियन्त्रणमा लिएर क्याफेबाट चोरी गरेको ल्यापटपको बारेमा सोधपुछ गर्दा सुरुमा बिसंखेले अरु व्यक्तिले लुटेको भन्ने बयान दिएको र पछि थप केरकार गर्दै जाँदा पाँच फाइल ‘कामाडोल’ नामक औषधीसँग साटेको बयान दिएको प्रहरीले जनाएको छ । ‘कामाडोल’ नामक औषधीलाई लागू औषध दुर्व्यसनीहरुले लागू औषधका रुपमा प्रयोग गर्ने गरेका छन् ।

सञ्चार माध्यममा गलत सूचना प्रवाह : अनावश्यक दबाबमा प्रहरी, अन्योलमा अनुसन्धान

प्रहरी वृत्त गौशालाको हिरासतमा रहेका ती आरोपीमाथि अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीले निर्घात कुटपिट गरेको समाचार विभिन्न अनलाइन सञ्चार माध्यमहरुमा प्रकाशन हुन्छ । उक्त गलत सूचना कसरी र कसले प्रवाह गर्याे भन्ने जानकारी प्रहरी वृत्त गौशालालाई पनि जानकारी छैन ।



परिवारका सदस्यलाई हवाला दिँदै सञ्चारमाध्यमहरूमा प्रकाशन भएका ती समाचारमा कुनै सत्यता नरहेको र आरोपीको अवस्था सामान्य रहेको गौशाला प्रहरी वृत्तका डीएसपी सुकदेव खनालको भनाइ छ । कुटपिटबाट आरोपीको बायाँ गालाको माथिल्लो भागको हड्डी फुटेको भनिए पनि त्यस्तो केही पनि नभएको र आरोपीको अवस्था सामान्य रहेको डीएसपी खनाल बताउँछन् ।

आरोपित बिसंखेका परिवारका सदस्य केही दिनअघि मात्र प्रहरीको सम्पर्कमा आएको गौशाला प्रहरी वृत्तको भनाई छ । डीएसपी खनालका अनुसार बिसंखेलाई​ चोरीको आरोप लागेको छ । उनी पक्राउ परेपछि उनीसँग सम्बन्धित अन्य चोरीका केसहरु पनि आएका छन् ।

डिएसपी खनालले भने, ‘आरोपीमाथि कुटपिट भएको छैन । यो गलत सूचना कहाँबाट कसरी फैलाइयो मलाइ थाहा छैन । हामी अनुसन्धान गरिरहेका छौँ । थुनुवाहरूको नियमित स्वास्थ्य चेकअप हुन्छ । ती आरोपीलाई केही पनि भएको छैन । अस्पतालले अवस्था सामान्य रहेको जनाएको छ ।’

आरोपी बिसंखेको टाउकोमा घाउको खत रहेको र उक्त घाउ पुरानो भएको स्वास्थ्य परीक्षणमा संलग्न डाक्टरले पुष्टि गरेको गौशाला प्रहरीले जनाएको छ । तर प्रकाशित समाचारलाई आधार बनाएर मानव अधिकारकर्मीहरूले प्रहरीको अनुसन्धानलाई नै प्रभावित पार्न खोजेको जनाइएको छ ।

पीडित पक्ष (चोरी भएका)ले सञ्चारमाध्यमहरूमा गलत समाचार आएको बताएका छन् । उनीहरुले चोरीमा संलग्न व्यक्तिसँग कुरा गर्दा उनीमाथि कुटपिट भएको जस्तो नदेखिएको चोरले आफू उम्किन विभिन्न बहाना बनाएर गलत सूचना प्रवाह गरेर भ्रम फैलाउने काम गरेको उनीहरुको भनाइ छ ।

आरोपित अनिल बिसंखेले ‘शिवालय द क्याफे एण्ड बार’मा चोरी गरिरहेको सिसिटिभी फुटेज :

  • प्रकाशित मिति : १२ भदौ, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया