२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

शिक्षा समितिबाट शिक्षक निराश, प्रतिनिधि सभाबाट माग पूरा हुने आशा

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुगेको करिब २२ महिनापछि पास भएर अहिले विद्यालय शिक्षा विधेयक पुनः प्रतिनिधिसभामा पुगेको छ ।


शैक्षिक सरोकारवाला पक्षसँग आवश्यक छलफल गरेर शिक्षा विधेयकमाथि दफावार छलफल गरेको शिक्षा समितिले सबै विषय टुङ्ग्याएर विधेयकलाई प्रतिनिधिसभामा पेस गरेको हो ।



यद्यपि समितिको उक्त कार्यशैलीप्रति विधेयकको प्रमुख सरोकारवाला पक्ष शिक्षक, निजी विद्यालय सञ्चालक असन्तुष्ट देखिएका छन् । शिक्षा विधेयकमा आफ्ना माग नसमेटिएको भन्दै अहिले दुवै पक्ष आन्दोलनमा होमिएका छन् ।

निजी विद्यालय सञ्चालक शिक्षा विधेयकमा समावेश गरिएको ‘पूर्णछात्रवृत्ति’ र निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउँदै लग्ने व्यवस्थाविरुद्ध आन्दोलनमा छन् ।



यस्तै, नेपाल शिक्षक महासंघ  २०७५, २०७८, २०८०, ०८१ र ०८२, सालमा शिक्षक आन्दोलनपछि भएका सहमतिलाई समेटेर विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री ऐन जारी हुनुपर्ने भएपनि त्यसो नभएको भन्दै आन्दोलनमा छ ।

समितिले प्रतिवेदन प्रतिनिधिसभामा पेस गरिसकेको भएपनि उक्त प्रतिवेदन शिक्षक–कर्मचारीको भावना र सहमतिप्रति बेवास्तापूर्ण देखिएको महासंघको आरोप छ । शिक्षा समितिबाट आफ्ना सबै माग पूरा गराउन नसकेको महासंघलाई अब प्रतिनिधिसभाको आशा छ । त्यसैले अहिले महासंघ संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका ढोका ढकढक्याउन पुगेको छ । बुधबार नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिएको महासंघले बिहीबार च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको छ ।

अस्थायी शिक्षकको स्थायित्व, सेवा सुरक्षा सम्बन्धी व्यवस्था, विभागीय कारबाहीको मापदण्ड, शिक्षण परिषद् र शिक्षक ट्रेड युनियन अधिकार जस्ता विषयहरू विधेयकमा नसमेटिएको जनाउँदै महासंघले अब प्रतिनिधिसभाबाट ती माग पूरा हुने आशा गरिरहेको छ । यस्तै, शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्था, प्रधानाध्यापकको ट्रेड युनियन अधिकार कटौती, पुनर्बहाली शिक्षकको सेवा गणना लगायत विषयमा पनि आपत्ति जनाएको छ ।

अझै पनि प्रतिनिधिसभा तथा राष्ट्रिय सभाबाट विधेयक संशोधन गरी शिक्षक, विद्यार्थी र विद्यालयमैत्री ऐन ल्याउन सकिने भएकाले राजनीतिक दलहरुलाई सक्रिय भूमिका खेल्न नेपाल महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आग्रह गरे । 



शिक्षा समितिका केही सांसदले नेपाल शिक्षक महासंघ र आम नेपाली शिक्षक–कर्मचारीप्रति इगो साँध्ने ढंगले शिक्षकका माग मुद्दामा बाधा उत्पन्न गरेको जनाउँदै अध्यक्ष सुवेदीले प्रतिनिधिसभाबाट ऐन जारी हुँदा पनि आफूहरूका माग पूरा नभए ऐन संशोधनको लागि २०८१/०८२ सालको भन्दा पनि ठूलो आन्दोलन लिएर आउने अध्यक्ष सुवेदीले दिए ।

  • प्रकाशित मिति : १२ भदौ, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया