पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सको प्रदर्शन उत्कृष्ट रह्यो । उसले लिग चरणमा सातमध्ये पाँचमा जित र दुई खेलमा हार बेहोर्यो ।
अंक तालिकामा दोस्रो स्थान हासिल गरेको जनकपुरले प्लेअफमा क्वालिफायर–१ खेल्यो, जहाँ ऊ सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित भयो । तर, जनकपुरले क्वालिफायर–२ मा कर्णाली याक्सलाई २ विकेटले हराउँदै फाइनलमा स्थान बनायो ।
फाइनल भिडन्तमा ऊ सुदूरपश्चिमविरुद्ध ५ विकेटको जित निकाल्दै च्याम्पियन बन्यो । जनकपुर यसपालि पनि उत्कृष्ट प्रदर्शन गरेर उपाधि रक्षा गर्ने योजनामा छ । त्यसका लागि ऊ उत्कृष्ट रणनीति र प्रभावशाली विदेशी खेलाडी अनुबन्ध गर्ने योजनामा छ ।

डिफेन्डिङ च्याम्पियन जनकपुरले गत साउनमा सम्पन्न एनपिएल मिनी अक्सनमार्फत् चार खेलाडी अनुबन्ध गरेको छ । ३३ लाख रुपैयाँको पर्ससहित अक्सनमा सहभागिता जनाएको जनकपुरले १९ लाख ७५ हजार खर्च गर्यो ।
उसले अक्सनमार्फत ब्याटर मयन यादवलाई ७ लाख ७५ हजार, बलरहरू विकास आग्री र आदित्य महतालाई पाँच/पाँच लाख तथा सचिन भट्टलाई २ लाखमा अनुबन्ध गरेको हो ।
योसँगै जनकपुरले घरेलु स्क्वाड लगभग पूरा गरेको छ । उसले अब विदेशी खेलाडी र ‘ट्यालेन्ट हन्ट’मार्फत् एक स्थानीय प्रतिभा भित्र्याउन बाँकी छ । अहिलेको अवस्थामा जनकपुरको टिम सन्तुलित देखिन्छ ।
उससँग ओपनिङ ब्याटरको रूपमा राष्ट्रिय टिमका लागि पटक–पटक खेलिसकेका आसिफ शेख र अनिलकुमार साह रहेका छन् । जनकपुर यो भूमिकाका लागि थप एकजना आक्रामक ब्याटरको खोजीमा छ । ऊ त्यो अभाव विदेशी ब्याटरलाई भित्र्याएर पूरा गर्ने सोचमा छ ।

गत सिजनमा जनकपुरलाई च्याम्पियन बनाउन श्रीलंकनमूलका अमेरिकन ओपनिङ ब्याटर लाहिरु मिलान्थाको भूमिका अहम् थियो । उनले लिगमा सर्वाधिक २ सय ९३ रन बनाए ।
जनकपुर यसपालि पनि स्थिर प्रदर्शन गर्ने विदेशी ब्याटरलाई अनुबन्ध गर्ने योजनामा छ । उससँग मध्यक्रमका लागि पनि पर्याप्त विकल्प छैनन् । अहिलेको अवस्थामा जनकपुरसँग यो भूमिकाका लागि शुभ कंसाकार र मयन यादव रहेका छन् ।
जनकपुर मध्यक्रमलाई बलियो बनाउन विदेशी कोटाबाट एकजना राम्रो अलराउन्डर भित्र्याउने योजनामा छ । ऊ बलिङमा भने बलियो देखिन्छ । विशेषगरी जनकपुर स्पिन विभागमा अगाडि छ । उससँग स्पिनरको रूपमा ललितनारायण राजवंशी, आदित्य महता, तुलबहादुर थापा र सचिन भट्ट रहेका छन् ।
फास्ट बलिङमा भने जनकपुरसँग प्रशस्त विकल्प छैनन् । उससँग फास्ट बलरको रूपमा किशोर महतो, विकास आग्री र रुपेश सिंह रहेका छन् । त्यस कारण जनकपुर एकजना फास्ट बलर भित्र्याउन सक्छ ।

यस्तै, ऊ विदेशी कोटाबाट एकजना पावर–हिटर ब्याटर अनुबन्ध गर्ने सम्भावना छ । जनकपुरमा विकेटकिपरको विकल्पमा आसिफ र अनिल रहेका छन् ।
जनकपुर बोल्ट्सको वर्तमान स्क्वाड हेर्दा ऊ बलिङ र शीर्षक्रममा मजबुत छ । विदेशी खेलाडीको अनुबन्धपछि जनकपुरको मध्यक्रम पनि उत्कृष्ट बन्ने सम्भावना छ, जसले टोलीको समग्र प्रदर्शनलाई अझ प्रभावशाली बनाउनेछ ।
बलिङमा स्पिनरहरूको विविधताले विपक्षी टिमलाई दबाबमा राख्ने सम्भावना छ । विदेशी खेलाडीको सही छनोट हुन सके उसले उपाधि रक्षा गर्न सक्छ । आगामी सिजनको एनपिएल १७ नोभेम्बरदेखि आयोजना हुने तालिका छ ।
यो पनि
कुन विभागमा कस्ता विदेशी खेलाडीको खोजीमा छ पोखरा एभेन्जर्स ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।