पछिल्ला वर्षमा युवा प्रतिभाहरूले राष्ट्रिय क्रिकेट टिममा नयाँ ऊर्जा भर्दै आएका छन् । यहीक्रममा युवराज खत्री एक उदाहरणीय खेलाडी बनेका छन् ।
उनी लेगस्पिनर हुन्, जसले छोटो समयमै आफ्नो प्रतिभा, मिहिनेत र अनुशासनको बलमा क्रिकेटमा राम्रो पहिचान बनाउन सफल भएका छन् ।
युवराजको क्रिकेट यात्रा युवास्तरको प्रतियोगिताबाट सुरु भएको हो । प्रारम्भिक प्रशिक्षणले उनलाई बलियो आधार प्रदान गर्यो ।

उमेर समूहको क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शनका कारण प्रशिक्षक र चयनकर्ताको ध्यान उनीतर्फ केन्द्रित भयो । यही कारण उनलाई सिनियर टोलीको बन्द प्रशिक्षणमा अवसर दिइयो, जहाँ युवराजले आफ्नो कौसल र दबाबमा खेल्ने क्षमताले आफूलाई प्रमाणित गरे ।
उनी हाल नेपाल ‘ए’ टिमका साथ भारत भ्रमणमा रहेका छन्, जहाँ युवराजले सानदार डेब्यू गरेका छन् । युवराजले आसाम स्टेट टिमविरुद्धको टी–२० सिरिजको दोस्रो खेलमा सानदार डेब्यू गरेका हुन् ।
शुक्रबार भएको यस खेलमा उनले ३ दशमलव २ ओभरमा केवल १५ रन दिएर सर्वाधिक चार विकेट लिए । युवराजको उक्त सानदार प्रदर्शनले विपक्षी टिममाथि दबाब सिर्जना गर्यो ।
आफ्नो पहिलो ओभरमा कुनै पनि रन नदिएर एक विकेट लिएका युवराजले दोस्रो ओभरको पहिलो बलमै अर्को विकेट लिँदै विपक्षी टिमलाई पूरै दबाबमा राखे । त्यसपछि पनि उनले आफ्नो जादुमयी प्रदर्शन जारी राखेर नेपाललाई ९६ रनको एकतर्फी जित दिलाए ।

युवराजले उमेर समूहको क्रिकेटदेखि नै सानदार प्रदर्शन गर्दै आएका छन् । अन्डर–१९ एसिया कप २०२४ मा बंगलादेशविरुद्धको खेलमा उनले ६ ओभरमा ४ विकेट लिँदै धेरैको ध्यान खिचेका थिए । त्यसपछि युवराज घरेलु क्रिकेटमा पनि टिमहरूको रोजाइमा पर्न थाले, जहाँ उनले प्रभावशाली प्रदर्शन गरे ।
सोही कारण युवराज नेपाल प्रिमियर लिग (एनपिएल) को मिनी अक्सनमा पनि महँगो मूल्यमा बिक्री भए । उनी १० लाख रुपैयाँमा कर्णाली याक्समा अनुबन्धित छन् । र, युवराजले आसन्न संस्करणको एनपिएलमा डेब्यू गर्ने पक्काजस्तै छ ।
त्यसअघि उनी नेपाल ‘ए’ टिमका लागि झन् सानदार प्रदर्शन गर्ने सोचमा छन् । मुख्य प्रशिक्षक स्टुअर्ट लले उनलाई भविष्यमा राष्ट्रिय टोलीमा स्थान दिनको लागि तयारी गरिरहेका छन् । र, युवराजले त्यसका लागि आफू योग्य रहेको सन्देश दिइरहेका छन् ।
लेग स्पिन, आक्रामक खेलदृष्टि र दबाबमा शान्त रहन सक्ने क्षमता उनलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धामा समेत सक्षम बनाउने देखिन्छ । युवराज केवल विकेट लिनमा मात्र दक्ष छैनन्, बल नियन्त्रण, लाइन–लेन्थ र रणनीतिमा पनि उत्कृष्ट छन् ।

भारत भ्रमणअन्तर्गतको डेब्यू खेलमा गरेको प्रदर्शन हेर्दा उनले सिनियर टोलीमा अवसर पाउने सम्भावना अझ बलियो बनेको छ ।
युवराज अब आसामविरुद्धको बाँकी खेलमा पनि जादुमयी बलिङ गर्दै आउँदो अक्टोबरमा हुने टी–२० विश्वकप छनोटका लागि प्रमुख टिममा स्थान बनाउने दाबेदार खेलाडीको सूचीमा अग्र स्थानमा रहन चाहन्छन् ।
नेपाल र आसामबीचको दोस्रो टी–२० म्याच शनिबार हुने तालिका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।