२३ फागुन, २०८२ शनिबार
March 7, 2026

नेपाली बक्सअफिसमा सोसल-इमोसनल मेलोड्रामाको दबदबा : नयाँ स्वादको खोजीमा नेपाली दर्शक

नेपाली चलचित्र उद्योगमा पछिल्लो समय सामाजिक संवेदनशीलता बोकेका मेलोड्रामाले राम्रो उपस्थिति जनाइरहेका छन् । केही समयअघिसम्म ‘छक्का पञ्जा’ र ‘कबड्डी’ जस्ता कमेडी जनराका चलचित्रले बक्सअफिसमा राज गरिरहेका थिए ।

अहिले दर्शकको स्वाद विस्तारै समाजिक–भावनात्मक कथातर्फ रुपान्तरण हुँदै गएको देख्न सकिन्छ ।  समाजको मनोविज्ञानअनुसार दर्शकको रुचि परिवर्तन हुने गर्छ ।  अहिलेको पुस्ताले भने  आफ्नै जीवनसँग मेल खाने विषय खोजिरहेको छ ।



‘बोक्सीको घर’, ‘पूर्ण बहादुरको सारङ्गी’, ‘अन्जिला’, ‘ऊनको स्वीटर’,मोहर, ‘सिटामोल’, र हालै हलमा चलिरहेको ‘जनै हराएको मान्छे ’ ,‘कोशेढुङा’ जस्ता फिल्मले दर्शकलाई हलसम्म तानिरहेका छन् । यी सबै सोसल इमोसनल मेलोड्रामा हुन्, जसमा आम मानिसको दुःख, पिर, विदेश पलायन, सामाजिक अवस्था र जीवन संघर्षलाई चित्रण गरिएको छ । दशकौंसम्म सहरकेन्द्रित कथामा सीमित नेपाली फिल्म अब गाउँ पस्न थालेका छन् ।

६० को दशकसम्म सहरका धनी, सम्पन्न वर्गका कथामा आधारित फिल्म बनाइन्थे, जहाँ हिरो सहरको सम्पन्न परिवारको सदस्य हुन्थ्यो र गाउँकी सोझी युवतीसँग उसको प्रेम हुन्थ्यो । तर, ७० को दशकपछि निर्देशक, लेखक र निर्माताहरू गाउँ पस्न थाले, गाउँले जनजीवनका कथा फिल्ममा झल्किन थाले ।



सोसल मेलोड्रामा पारिवारिक सिनेमा भएकाले सम्पूर्ण परिवार हल पुग्ने गर्छ, जसले गर्दा ती फिल्महरू बक्सअफिसमा सफल हुने गरेका छन् । यदि भनिरहदा एक्सन र कमेडी जनराका फिल्म  नचलेका भने होइनन्, कुनै समय एक्सन, कुनै समय मेलो ड्रामा त कुनै समय कमेडी वा हरर–थ्रिलर सिनेमा दर्शकले रुचाइरहेकै हुन्छन्, जसले बक्सअफिसमा अन्य जनराका चलचित्रलाई पछि पारिरहेका हुन्छन् ।

गत साल मात्रै विराज भट्टनिर्देशित एक्सन फिल्म ‘बाह्र गाउँ’ ले तहल्का नै मच्चाएको थियो । यस वर्ष दसैँमा प्रदर्शन हुने सन्तोष सेन निर्देशित  फिल्म ‘बलिदान’ को चर्चा पनि चुलिएको छ । हालै प्रदर्शनरत फिल्म ‘माग्ने राजा’ले पनि रामै्र व्यापार गरीरहेको छ । सबै जनराका फिल्मले राम्रै व्यापार गरिरहेका छन् । तर, पारिवारिक शैलीमा फिल्म बन्न नसक्दा दर्शक सीमित हुने तथ्य देखिएको हो कि भन्ने पनि बुझिन्छ ।

यद्यपि, कुन समय कुन जनराको सिनेमा चल्छ भनेर निश्चित भन्न कठिन छ । बलिउडदेखि हलिउडसम्म मेलोड्रामाले बजारमा राम्रो व्यापार गर्ने गरेको देखिन्छ । मानिसहरू हलमा गएर आफ्नो जीवनसँग मेल खाने, संवेदनशील विषयका सिनेमालाई रोज्ने गरेको निर्देशकको बुझाई छ ।

अहिले नेपाली बक्सअफिसमा सोसल इमोसनल मेलोड्रामाले अग्रता लिएको छ । दर्शकको जीवन, अनुभव र भावनासँग मेल खाने यस्ता कथाले नेपाली फिल्म उद्योगलाई नयाँ उचाइ दिइरहेको देखिन्छ ।



 

  • प्रकाशित मिति : १४ भदौ, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया