नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शनका बाबजुद सुदूरपश्चिम रोयल्सले उपाधि जित्न सकेन । उसले गत सिजनमा कुल ९ म्याच खेल्दा सातमा जित र दुई खेलमा मात्र हार बेहोर्यो ।
यद्यपि फाइनलमा जनकपुर बोल्ट्ससँग ५ विकेटको हार बेहोरेपछि सुदूरपश्चिम उपाधि जित्न चुक्यो । ऊ यसपालि त्यो फाइनल हारको पीडा बिर्सिँदै च्याम्पियन बन्ने योजनामा छ ।
कति बलियो छ सुदूरपश्चिम ?
सुदूरपश्चिमको टोली गत साउनमा सम्पन्न मिनी अक्सनमा त्यति सफल देखिएन । ऊ चाहनाअनुसारको खेलाडी अनुबन्ध गर्न असफल रह्यो । सुदूरपश्चिमले ‘ए’ क्याटागोरीबाट कुनै पनि खेलाडीलाई भित्र्याउन सकेन ।

उसले अरू क्याटागोरीका खेलाडीमा चित्त बुझायो । सुदूरपश्चिमले मिनी अक्सनमार्फत हेमन्त धामीलाई १० लाख, दीपक बोहरा र मिलन बोहरालाई समान ५ लाख तथा ‘सी’ श्रेणीका टेकबहादुर रावत र दीपेन्द्र थापालाई २–२ लाखमा खरिद गर्यो ।
सुदूरपश्चिममा जोडिएका पाँचैजना खेलाडी सोही प्रदेशवासी हुन् । सुदूरपश्चिमले मिनी अक्सनमा कुल २४ लाख रुपैयाँ खर्च गर्यो । अझैँ उससँग १७ लाख ५० हजार रुपैयाँ पर्समा बाँकी छ ।
स्वदेशी खेलाडीको कोटा लगभग पूर्ण गरिसकेको सुदूरपश्चिमको ध्यान अब विदेशी र ट्यालेन्ट हन्ट प्लेयर अनुबन्ध गर्नमा केन्द्रित हुनेछ । गत वर्ष सुदूरपश्चिम फाइनलसम्म पुग्न विदेशी खेलाडीको भूमिका अहम् रह्यो । र, यसपालि पनि उत्कृष्ट प्रदर्शन गर्न ऊ स्तरीय विदेश खेलाडी अनुबन्ध गर्ने सोचमा छ ।
सुदूरपश्चिम ब्याटिङ र बलिङमा नै राम्रो विकल्पको खोजीमा छ । त्यसको अभाव ऊ विदेशी खेलाडी भित्र्याएर पूरा गर्न चाहन्छ । अहिलेको अवस्थामा सुदूरपश्चिमसँग ओपनिङ ब्याटरको रूपमा विनोद भण्डारी, ईशान पाण्डे र टेक रावत गरी तीन विकल्प छन् ।
गत सिजनमा विनोद भण्डारी र इंग्ल्याण्डका सैफ जैबले ओपनिङ तथा ईशानले तल्लोक्रममा ब्याटिङ गरे । यसपालि पनि सुदूरपश्चिम ओपनिङका लागि आक्रामक विदेशी ब्याटरको खोजीमा छ ।
मध्यक्रममा सुदूरपश्चिमसँग ईशानसहित आरिफ शेख, दिपक बोहरा, टेक राउत र दीपेन्द्र थापा रहेका छन् । ऊ अब मध्यक्रमलाई थप बलियो बनाउन एकजना विदेशी ब्याटर भित्र्याउन चाहन्छ ।

हालको टिम संरचना हेर्दा सुदूरपश्चिम रोयल्सको फिनिसिङ कमजोर देखिन्छ । फिनिसिङको मुख्य जिम्मेवारीका लागि टोलीसँग सीमित विकल्प मात्रै छन्, जसमा कप्तान दीपेन्द्र सिंह ऐरी प्रमुख खेलाडीका रूपमा अघि छन् ।
यद्यपि फिनिसिङमा सानदार रेकर्ड नबनाएका उनलाई सुदूरपश्चिमले मध्यक्रमकै जिम्मेवारी दिने सम्भावना छ । बलिङ विभागमा पनि सुदूरपश्चिमको स्थिति त्यति बलियो छैन । ऊ अहिले अविनाश बोहरा, हेमन्त धामी, नरेन साउँद र मिलन बोहरामाथि निर्भर छ । तीमध्ये मिलन एनपिएलमा डेब्यू नै गरेका छैनन् ।
अहिलेको अवस्थामा टोलीले दुईजना ब्याटर र दुईजना विदेशी बलिङ अलराउन्डर भित्र्याउने योजना बनाएको छ । यसबाट टोलीको फिनिसिङ क्षमतामा सुधार आउने र बलिङ इकाई अझ सुदृढ हुने अपेक्षा गरिएको छ । विदेशी खेलाडीले टिममा आवश्यक अनुभव र विविधता थप्ने छन्, जसले सुदूरपश्चिमलाई प्रतिस्पर्धात्मक बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।
समग्रमा सुदूरपश्चिमको वर्तमान टिम सन्तुलित छैन । केही कमजोरी स्पष्ट देखिन्छन् । बलिङमा ओपनङि र फिनिसिङ तथा बलिङ इकाइमा स्थायित्वको कमीले टोलीको प्रदर्शनमा चुनौती थपिने देखिन्छ ।

यी कमजोरीलाई सुधार गर्दै सन्तुलित टोली बनाउन सुदूरपश्चिम स्तरीय विदेशी खेलाडी अनुबन्ध गर्ने योजनामा छ, यसले टोलीको रणनीति, आक्रामकता र प्रतिस्पर्धात्मक क्षमता बलियो बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।
यो पनि
एनपिएल २०२५ मा जनकपुर बोल्ट्स कस्ता विदेशी खेलाडीको खोजीमा ?
कुन विभागमा कस्ता विदेशी खेलाडीको खोजीमा छ पोखरा एभेन्जर्स ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।