भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो नगर क्षेत्रका विद्यार्थीहरुलाई शैक्षिक ऋण दिन सुरु गरेकाे छ ।
६ प्रतिशत ब्याजमा बढीमा पाँच लाखसम्म पाइने शैक्षिक ऋण भक्तपुर नपाले चालू आर्थिक वर्षमा ३६ जना विद्यार्थीलाई दिएकाे छ । भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले आइतबार एक कार्यक्रमबीच नपामा निवदेन दिएका ३६ जनालाई शैक्षिक ऋण प्रदान गरेका हुन्।
भक्तपुर नपाले विद्यालय तथा कलेजको पत्रको आधारमा विद्यार्थीहरुलाई ऋण प्रदान गर्ने व्यवस्था गरेको छ। नगरपालिकाले शैक्षिक ऋण विद्यालय वा कलेजको खातामै ऋणी विद्यार्थीको शुल्क भुक्तानी गर्ने व्यवस्था गरेको हो।
नगरपालिकाले चालू आर्थिक वर्षमा बढीमा एकसय जना विद्यार्थीलाई शैक्षिक ऋण दिने निर्णय गरेर पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो।
वडा कार्यालयको सिफारिसमा नगरभित्र स्थायी बसाेबास भएका विद्यार्थीले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर शैक्षिक ऋणसमेत पाउने गरि व्यवस्था मिलाएकाे नगरपालिकाले जनाएकाे छ ।
आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी पढाइबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उक्त ऋण प्रदान गरिएको नगर प्रमुख प्रजापतिले जानकारी दिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।