२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

बाढी पहिरोले देशभर दर्जन राजमार्ग ठप्प, अवरुद्ध सडक तत्काल खुलाउन के भइरहेको छ पहल ?

लगातारको वर्षा र बाढीपहिरोका कारण देशभरका १० राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् भने १५८ राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् । सडक विभागका अनुसार विभिन्न स्थानमा बाढीले सडक कटान गर्नुका साथै पहिरो खस्दा आवागमन ठप्प भएको हो । 


कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले अवरुद्ध सडक तत्काल खुलाउनका लागि निर्देशन दिइसकेका छन् । बाढीपहिरोका कारण अवरुद्ध भएका सडक सञ्चालन गरेर आवतजावत सहज बनाउन निर्देशन दिएका हुन् । 



आइतबार सिंहको अध्यक्षतामा बसेको बैठकमा उनले सडक अवरुद्ध हुँदा नागरिकलाई समस्या भएको भन्दै तत्कालै सडक सञ्चालन गर्नेगरी काम अगाडि बढाउन निर्देशन दिए । चाँडोभन्दा चाँडो सडक सञ्चालन गर्ने प्रयत्न भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीले बताए ।   

‘अवरुद्ध भएका सडक चाँडोभन्दा चाँडो खुलाउने प्रयास भइरहेको छ, कतिपय राजमार्गमा सुधारको काम भइरहेको छ, कतिपय स्थानमा वर्षा भइरहेको र नदीको बहाबसमेत बढेकाले पहिरो पन्छ्याउने तथा सफाइको काम गर्न अवरुद्ध भइरहेको छ,’ उनले भने । पूर्णअवरुद्ध भएका सडकमध्ये ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेसीँ–रसुवागढी सडक खण्ड रहेको छ । चीनबाट साउन १४ गतेको बाढी आएको कारण नदीले सडक कटान गरेकाले सडक अवरुद्ध भएको हो । 



हाल एक्साभेटर तथा लोडर प्रयोग गरी अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको छ । यसैगरी जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा (कर्णाली राजमार्ग) पनि अवरुद्ध भएको छ । पैमा खोलाको बहाब बढेकाले खोलामा पानीको लेभल घटेपछि राजमार्ग सफा गरिने सडक विभागले जनाएको छ । 

यसैगरी विभागको तथ्याङ्क अनुसार रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले,लेघुवाघाट–तुम्लिङटार खाँदवारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

विभागका अनुसार बरुण नदीमा डाइभर्सन बगाएको र पुल निर्माणमा ढलानको कार्य बाँकी रहेको तथा पानीको बहाब बढेको कारण डाइभर्सन पुनःस्थापना गर्न नसकिएको, पानी सतह घटेपछि डाइभर्सन निर्माण गरिने र सँगै ढलानको कामलाई पनि जोड दिइने छ ।

चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । करिब पाँच वर्ष पहिले रेमिट हाइड्रोबाट तमोर नदीमा निर्मित रानी पुल बेलीब्रिज यही साउन ६ गतेको अविरल वर्षाको बाढीले बगाएकाले अवरुद्ध भएको हो ।



हाल रेमिट हाइड्रो बाट पुनः बेलीब्रिज निर्माणका लागि पहल भएको छ । यसैगरी ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेसीँ–रसुवागढी सडकखण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको छ । 

असार २४ गते चीन तर्फबाट आएको भीषण बाढीका कारण उक्त सडक खण्ड अवरुद्ध भएको हो । हाल उपकरण परिचालन गरी नदी कटानको कार्य भइरहेको छ । छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम (भेरी करिडोर) पनि पूर्ण रूपमा नै अवरुद्ध भएको छ । शाखा बाटो र खोलाबाट आएको लेदो सहितको बाढी पहिरोको कारण उक्त सडक खण्ड अवरुद्ध भएको भन्दै हाल पहिरो पन्छाउने काम भइरहेको विभागले जनाएको छ । 

कोइलाबास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तीगाउँ–थवाङ–लुकुम (सहिद मार्ग) पनि पूर्णरूपमा नै अवरुद्ध भएको छ । हाल निरन्तर पानी परिरहेको र पहिरो पनि झरिरहेकोले पहिरो रोकिएपछि सफा गर्ने कार्य सुरु हुने विभागले जनाएको छ ।  

सुर्खेत तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक पनि अवरुद्ध भएको छ । सडकमाथिबाट पहिरोसँगै ठूला–ठूला ढुङ्गा आई सडक अवरुद्ध भएको विभागले जनाएको छ । ढुङ्गा हटाउने प्रयास भइरहेको तर ढुङ्गा झर्ने क्रम जारी रहेको छ । 

लगातार सुख्खा पहिरो झरिरहेकाले राति बाटो बन्द हुने र दिउँसो बाटो सञ्चालन गर्ने काम जारी छ । छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम (भेरी करिडोर) समेत पूर्ण रूपमा अवरुद्ध छ । पानी पर्न रोकिएपछि, खोला घटेपछि पुनः सडक मर्मतको कार्य अगाडि बढाइने विभागले जनाएको छ ।   

  • प्रकाशित मिति : १६ भदौ, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया