१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

अफगानिस्तानमा भूकम्प : मृतकको संख्या ८ सय नाघ्यो, २ हजारभन्दा बढी घइते

अफगानिस्तानको दुर्गम पहाडी क्षेत्रमा आइतबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८ सय नाघेको छ । यस विपदमा २ हजारभन्दा बढी मानिस घाइते भएका छन् ।


राति करिब पौने १२ बजे गएको ६.० म्याग्नीच्यूडको कम्पन काबुलदेखि पाकिस्तानको इस्लामावादसम्म महसुस गरिएको थियो । मध्यरातमा गएको भूकम्पका कारण कच्ची घरहरू भत्किँदा निद्रामा रहेका सयौँ परिवारका सदस्यहरू मलबामुनि परेका थिए । अमेरिकी भू–वैज्ञानिक संस्थाका अनुसार भूकम्पको केन्द्रविन्दु जलालाबादबाट करिब २७ किलोमिटर टाढा रहेको थियो ।



भूकम्पका कारण धेरै स्थानमा पहिरो गएको छ भने सीमित रूपमा चल्ने यातायात समेत अवरुद्ध भएको छ । उद्धारमा कठिनाइ भए पनि ठूलो संख्यामा उद्धार कार्य निरन्तर भइरहेको तालिबान अधिकारीहरूले बताएका छन् ।

कम्तीमा पाँच प्रान्तमा व्यापक क्षति पुगेको पुष्टि भएको छ । भत्किएका घरहरूबाट सोमबार साँझसम्म पनि उद्धारकार्य जारी रहेको र घाइतेलाई हेलिकोप्टरमार्फत नजिकका सहरका अस्पतालमा लगिएको छ ।



पूर्वी कुनार प्रान्तका विपद् व्यवस्थापन प्रमुख एहसानुल्लाह एहसानले एएफपीसँग भने, ‘खोजी कार्य जारी छ । धेरै मानिस भग्नावशेषमा फसेका कारण मृतकको सङ्ख्या अझै बढ्न सक्छ ।’

तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदका अनुसार केन्द्रविन्दु नजिकै रहेको कुनार प्रान्तमा मात्रै करिब ८०० जनाको मृत्यु भएको छ भने २,५०० भन्दा बढी घाइते भएका छन् ।

त्यस्तै, छिमेकी नांगरहार प्रान्तमा १२ जनाको मृत्यु र २५५ जना घाइते भएको छ । लगमान प्रान्तमा भने ५८ जना घाइते भएका छन् ।

कुनारको नुर्गल जिल्लास्थित वादिर गाउँमा स्थानीय बासिन्दा उद्धारकर्मीहरूसँगै भग्नावशेषमा फसेका मानिसलाई बाहिर निकाल्न जुटेका छन् । एएफपीले सार्वजनिक गरेका तस्बीरहरूमा दर्जनौँ गाउँले आफ्नै प्रयासमा उद्धारमा संलग्न देखिएका छन् । 



  • प्रकाशित मिति : १६ भदौ, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया