नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ को मिति घोषणा भइसकेको छ । मंसिर १ देखि सुरु हुने दोस्रो सिजनको एनपिएलका लागि अहिले आठवटै टिम आन्तरिक रणनीति बनाउनमा व्यस्त छन् । मिनी अक्सनबाट घरेलु खेलाडी अनुबन्ध गरिसकेका टोलीहरू अब विदेशी स्टार भित्र्याउने तयारीमा छन् ।
एनपिएल टिम विराटनगर किंग्स पनि विदेशी खेलाडी अनुबन्ध गर्न गृहकार्यमा व्यस्त छ । पहिलो संस्करणमै न्यूजिल्याण्डका स्टार मार्टिन गप्टिललाई भित्र्याएको विराटनगर आसन्न सिजनमा पनि चर्चित विदेशी खेलाडी अनुबन्ध गर्ने योजनामा छ ।
अहिलेको अवस्थामा विराटनगर किंग्स युवा खेलाडीले भरिपूर्ण छ । र, उसले गत महिना सम्पन्न मिनी अक्सनबाट पनि युवा खेलाडी नै भित्र्यायो । विराटनगरले अक्सनमार्फत स्पिनर सूर्य तामाङलाई १० लाख, अलराउन्डर नारायण जोशी, ब्याटरद्वय शंकर राना र साहिल पटेललाई ५/५ लाख र फास्ट बलर श्रवण किस्कुलाई २ लाख रुपैयाँमा अनुबन्ध गरेको हो ।

ताजा अवस्थामा ब्याटिङतर्फ ओपनिङका लागि विराटनगरसँग लोकेश बम, शंकर राना र साहिल पटेल गरी तीनवटा विकल्प छन् । उनीहरूमध्ये लोकेश र शंकरसँग पहिलो सिजनको एनपिएल खेलेको अनुभव छ । यस्तै, साहिलले नेपालका लागि उमेर समूहको क्रिकेट खेलिसकेका छन् ।
मध्यक्रमको ब्याटिङका लागि विराटनगरसँग बसिर अहमद र नरेन भट्ट मात्र रहेका छन् । उनीहरूले गत सिजनको एनपिएल पनि विराटनगरबाटै खेलेका थिए, जहाँ बसिरले राम्रो प्रदर्शन गरे । उनले सात खेलमा एक अर्धशतकसहित १८१ रन बनाए । पहिलो सिजनमा बसिर विराटनगरका लागि सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थानमा थिए । गत संस्करणमा नरेनको प्रदर्शन भने सन्तोषजनक रहन सकेन ।
यस्तै, आउँदो एनपिएलका लागि विराटनगरमा फिनिसरको भूमिका नारायण जोशीले निर्वाह गर्न सक्छन्, जो आक्रामक ब्याटिङका लागि परिचित छन् । उनी पहिलो सिजनमा पोखरा एभेजर्समा आबद्ध थिए ।
बलिङतर्फ विराटनगर झन् बलियो देखिन्छ । विशेषगरी ऊसँग स्पिन विभागमा प्रशस्त विकल्प छन् । विराटनगरमा स्पिनरको रूपमा कप्तान सन्दीप लामिछानेसँगै बसिर अहमद, सूर्य तामाङ र सुवास भण्डारी रहेका छन् । उनीहरूमध्ये सन्दीप, बसिर र सुवास गत सिजनमा पनि विराटनगरमै थिए । सूर्यले पनि पहिलो सिजनको एनपिएल लुम्बिनी लायन्सबाट खेले ।
विराटनगरसँग फास्ट बलिङमा भने प्रतिश जिसी र श्रवण किस्कु मात्र रहेका छन् । उनीहरूमध्ये प्रशितले गत वर्ष पनि विराटनगरका लागि खेलेका थिए, जहाँ उनले ६ खेलमा ६.६८ को उत्कृष्ट इकोनमीमा ९ विकेट लिए ।

श्रवण भने पहिलोपटक एनपिएल खेल्ने तयारीमा छन् । यसरी हेर्दा विराटनगर युवा खेलाडीमा निर्भर छ । र, ऊ बलिङभन्दा ब्याटिङ कमजोर देखिन्छ । विराटनगर अब त्यो कमजोर पक्षलाई विदेशी खेलाडी भित्र्याएर सुधार गर्ने रणनीतिमा छ ।
अहिलेको अवस्थामा ऊ तीन ब्याटर र दुईजना बलिङ अलराउन्डरको खोजीमा छ । विराटनगर ती पाँच खेलाडी विदेशी कोटाबाट भित्र्याउने देखिन्छ । गत सिजनमा विराटनगरको प्रदर्शन कमजोर रह्यो । उसले लिग चरणमा सातमध्ये पाँचमा हार तथा दुई खेलमा मात्र जित निकाल्यो ।
विराटनगर छैटौँ स्थानमा सीमित भएको थियो । आसन्न सिजनको एनपिएलमा भने ऊ सुधारिएको प्रदर्शन गर्दै एनपिएल च्याम्पियन बन्ने योजनामा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।