नेपालीको महान चाड बडादसैँ नजिकिँदै गर्दा सर्वसाधारणमा उत्साहका साथै चिन्ता बढ्न थालेको छ । सडकको दुरावस्था कायमै रहेकाले दसैँमा सहजै घर जान नपाइने होकि भन्दै सर्वसाधारणमा चिन्ता बढ्न थालेको हो ।
दसैं–तिहारको अवसरमा काठमाडौंबाट लाखौं मानिस बाहिरिने गर्छन् । यसले गर्दा राजमार्गमा व्यापक भीडभाड हुन्छ । यात्रु र सवारीसाधनको चाप बढ्दै जाँदा दुर्घटनाको जोखिम अझ बढ्ने गर्छ ।
नेपालमा हुने अधिकांश सडक दुर्घटनाको प्रमुख कारण चालकको गल्ती मात्र होइन, सडकको दुरावस्था पनि एक हो । हरेक वर्ष दसैँमा यात्रुले लामो र कष्टकर यात्रा झेल्नु परेको यथार्थ नयाँ होइन ।
यस वर्ष परिस्थिति झन् गम्भीर देखिन्छ । गत वर्षको अविरल वर्षा र बाढीले देशभरका धेरै सडक तहसनहस पारेको थियो । त्यसको असर अझै मेटिन नसकेको अवस्थामा यस वर्षको वर्षाले सडक संरचना झनै क्षतविक्षत बनाएको छ ।
त्यसैले विगतमा झैँ यस वर्ष दसैँ–तिहारमा गाउँ फर्किने लाखौं यात्रुमा उमंगभन्दा बढी चिन्ता छ । काठमाडौं उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने मुख्य चारवटा राजमार्ग छन् । पश्चिम नेपाललाई काठमाडौंसँग जोड्ने मुग्लिन–नागढुंगा सडक खण्ड, काठमाडौंलाई उत्तरी जिल्लाहरू नुवाकोट, रसुवासँग जोड्ने पासाङल्हामु सडक, अरनिको राजमार्ग र बिपी राजमार्ग हुन् । यी अधिकांश सडकको अवस्था एकदमै नाजुक छन् ।
यात्रुले लामो जाम, धुलो, माटो र खतरनाक मोड पार गर्दै सकसपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । त्यसैले दसैँ यात्रा, कतै दशा बन्ने त होइन भन्ने चिन्ता बढ्दो छ । छोटो समयमा तीव्र गतिको उच्च वर्षात्, भिरालो भू–वनोट र अव्यवस्थित मानवीय क्रियाकलापका कारण अस्थिर प्राकृतिक सतह, राजमार्गमा अनुचित एवं अनियन्त्रित पहुँच मार्गको निर्माण, अनियन्त्रित नदी कटान आदि कारणले सडकमा क्षति पुगेको छ । त्यसकारण दसैँमा गाउँ जाने यात्रुहरूकै हकहितलाई मध्यनजर गर्दै सडक मर्मत–सम्भारको काम अगाडि बढाइएको बताउँछन्, सडक विभागका प्रवक्ता प्रभात कुमार झा ।

दसैँ नजिकिएसँगै सरकारले प्रमुख राजमार्गलाई सुरक्षित र सहज बनाउन प्राथमिकता दिएर काम गरिरहेको उनी बताउँछन् । उनका अनुसार सडक विभागले दसैँअघि नै देशभरका मुख्य सडकलाई पूर्णरूपमा सञ्चालनमा ल्याउन र मर्मतसम्भार गर्न सक्रिय रूपमा जुटेको हो ।
‘दसैँलाई लक्षित गरी विभिन्न राजमार्गमा चुस्त दुरुस्त बनाउने काम भइरहेको छ,’ उनी भन्छन्, ‘विशेषगरी अघिल्लो वर्ष र यस वर्षको मनसुनले पु¥याएको क्षतिलाई व्यवस्थापन गर्दै सडकलाई खाल्डारहित बनाएर यात्रुलाई सुरक्षित यात्रा सुनिश्चित गर्न हामी लागि परिरहेका छौँ ।’
उनका अनुसार दसैँ अगाडि नै काठमाडौंबाट बाहिरिने र भित्रिने नाकाको सडक सुधार गरिने छ । ‘दसैँअगाडि नै गाडी गुडाउनलायक सडक बनाउने गरी काम भइरहेको छ,’ उनी भन्छन्, ‘सडक मर्मतका लागि विशेष टिम नै परिचालन गरेका छौं ।’ साथै दसैँको समयमा सडक अवरुद्ध हुन नदिन तत्काल सञ्चालन गर्न साधन–स्रोतसहित टोली स्ट्यान्डबाई रहेको पनि उनले बताए ।
बीपी राजमार्गमा दसैं अवधिभर सडक सञ्चालनका लागि ३५ वटा विभिन्न उपकरण तयारी अवस्थामा राखिएको सडक विभागका प्रवक्ता झा बताउँछन् । यसमा विभागका २२ र ठेकेदारका १३ वटा जेसीबी, चेन एक्जसाभेटर, ह्वील लोडर, टिपरलगायत उपकरण छन् ।
यस्तै, दसैँमा अरनिको राजमार्ग सुचारु राख्न विभागले ११ वटा उपकरण तयारी अवस्थामा राखेको छ । यसमा विभागीय दुई र ठेकेदारका ९ उपकरण समावेश छन्, जसमा लोडर, चेन एक्साभेटर र टिपर रहेको उनी बताउँछन् । यस क्षेत्रमा कोठे, महाभीर, बुलकोटे, डाक्लाङ, कोप्लांग, कोदारी र जुरी मुख्य पहिरो स्थल हुन् । मर्मतसम्भारका लागि सरकारले चालू आर्थिक वर्षमा करिब १० अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।
सरकारले विशेष गरेर दसैँको समयमा सडक मर्मत सम्भार गर्दै आएको छ । हुन त यसअघि पनि रणनीतिक सडकहरूमा नियमित, पटके र आवधिक मर्मत तथा पुनःस्थापनासम्बन्धी कार्य योजनाबद्धरूपमा भइ नै रहेको उनी बताउँछन् ।
‘विभिन्न चरणमा सडक मर्मत सम्भारको काम निरन्तर चलिरहेको छ,’ प्रवक्ता झा भन्छन्, ‘तर, केही सडक निर्माणाधीन अवस्थामा छ । यिनीहरूको ठेक्कामार्फत काम भइरहेको छ । बाँकी सडक पनि नियमित, पटके र आवधिक मर्मत तथा पुनःस्थापनासम्बन्धी कार्य भइरहेकै छ ।’
सडक निर्माणको काम निरन्तर भए पनि चाडपर्वको समयमा सडकमा गुड्ने सवारीसाधनको चाप बढ्ने हुनाले दसैँअघि थप सडक मर्मत गरिने उनको भनाइ छ । ‘दसैँमा मात्रै सडक मर्मत गरिने भन्ने हाम्रो योजना होइन,’ उनी स्पष्ट पार्छन्, ‘मनसुन सकिने समय र दसैँ आउने समय लगभग एकैसमय हुन्छ । मनसुनका कारण सडक खाल्डाखुल्डी पर्ने, पहिरो खसेर धेरै बिग्रिन्छ । मनसुन सकिएपछि सडक मर्मत गर्नुपर्छ । मनसुन सकिएको र आर्थिक वर्षलगत्तै ठेक्का निकाल्नुपर्ने हुनाले पनि यो समयमा सडक मर्मत गर्छाैं । साथै चाडपर्वमा सवारीसाधनको चाप बढ्ने हुनाले यात्रुलाई सहज होस् भनेर पनि निर्माण व्यवसायीलाई सडक मर्मतको काम चाँडो सक्न निर्देशन दिने गरेका छौँ ।’
नेपालका प्रमुख राजमार्ग देशको जीवनरेखा हुन्, जसले राजधानीलाई विभिन्न प्रदेशसँग मात्र होइन, सामाजिक, आर्थिक र सांस्कृतिक सम्बन्धसँग पनि जोडिरहेका छन् । तर, यस्ता महत्वपूर्ण पूर्वाधार दशैँ–तिहारजस्ता चाडपर्व नजिकिँदा मात्र हतारमा मर्मत गरिनु विडम्बनापूर्ण अवस्था हो ।
नियमित मर्मत र समयमै स्तरोन्नति गर्नुपर्नेमा सरकारी निकायको ढिलासुस्तीका कारण यात्रुको अकालमा ज्यान गइरहेको छ । त्यसैले दीर्घकालीन समाधानका लागि नियमित मर्मत प्रणाली, गुणस्तरीय निर्माण सामग्रीको प्रयोग र इन्जिनियरिङ मानकअनुसार काम गर्ने संस्कृतिको विकास आवश्यक छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।