काठमाडौं– भूमि व्यवस्था, सहकारी र गरीबी निवारण मन्त्री पदमा अर्यालले गुठी विधेयक हिजोकै निरन्तरता भएको बताएकी छिन् । सोमबार बसेको प्रतिनिधिसभा वैठमा प्रतिपक्षी नेपाली काँग्रेसले उठाएको प्रश्नको जवनफ दिंदै उनले उक्त कुरा बताएकी हुन् ।
मन्त्री अर्यालले भनिन्, ‘वास्तवमा विधेयक हिजोदेखिको निरन्तरता हो । हिजोको निरन्तरता, हिजोको मर्म, भावनालाई प्रतिकूल पार्नेगरी यो विधेयक प्रस्तुत भएको छैन ।’
मन्त्री अर्यालले परिवर्तित अवस्थामा गुठी व्यवस्थापन प्रदेश र स्थानीय तहको अधिकारभित्र पर्ने बताइन् । उनले हिजोको गुठी संस्थानको भूमिका र आजको गुठी संस्थानको भूमिका फरक रहेको बताइन् ।
उनले भनिन् ‘हिजोको गुठी संथानको भूमिका र आजको गुठी संस्थानको भूमिकामा फरक छ । गुठीको भूमिका हिजोकै तहमा रहन सक्दैन । हाम्रो संविधानले जे बोल्यो, संविधानले बोलेकै कुरालाई नै व्यवस्थित गर्नको निम्ति गुठी विधेयक ल्याइएको हो ।’
उनले सबै गुठीहरूलाई एकीकृत गरेर प्राधिकरणमा लैजान लागेको बताइन् । प्राधिकणमा लैजाने वित्तिकै गुठीको मूल्य समाप्त नहुने बताउँदै हिजोको गुठी विधेयक र आजको गुठी विधेयकलाई तुलनात्मक ढंगले अध्ययन गर्न मन्त्री अर्यालले प्रमुख प्रतिपक्षी काँग्रेसलाई आग्रह गरिन् ।
हाम्रा मूल्यमान्यता, धर्म संस्कृति र परम्परामा प्रतिकूल असर गर्नेगरी विधेयक नआएको उनले बताइन् । विधेयक निर्माण गर्दा सचेततापूर्वक ख्याल गरिएको उनको भनाई छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।