२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

एनपिएल २०२५ : विदेशी ओपनर र बलरको खोजीमा काठमाण्डु गोर्खाज

गत साउनमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मिनी अक्सनमा काठमाण्डु गोर्खाज सर्वाधिक भाग्यमानी टिम बन्यो । उसले लक्की ड्रमार्फत आफूले चाहेका लगभग सबै खेलाडी पायो ।


मोन्टी देसाई हेडकोच रहेको ​काठमाण्डुले अक्सनमार्फत सबै टिमको प्राथमिकतामा रहेका मोहम्मद आदिल आलमलाई १५ लाख, सन्तोष यादवलाई १० लाख, आकाश त्रिपाठीलाई ७ लाख, उत्तम थापा मगरलाई ३ लाख तथा तुलबहादुर थापालाई २ लाख रुपैयाँमा भित्र्यायो ।



योसँगै अब काठमाण्डु विदेशी खेलाडी अनुबन्ध गरेर एनपिएल उपाधि जित्ने रणनीति बनाउने तयारीमा छ । ऊ नयाँ लोगो र नामसहित एनपिएल–२ को तयारीमा जुट्न थालेको हो । 



गत सिजनमा उसले काठमाडु गुर्खाजको नामबाट एनपिएलमा सहभागिता जनाएको थियो । यद्यपि उसको प्रदर्शन सन्तोषजनक रहन सकेन । पाँचौं स्थान हासिल गरेको काठमाण्डुले समूह चरणमा सातमध्ये चारमा जित र तीन खेलमा हार बेहोर्यो । ऊ आसन्न सिजनमा थप स्तरीय प्रदर्शन गरेर उपाधि जित्ने योजनामा छ । 

काठमाण्डु गोर्खाजको कमजोर र बलियो पक्ष 

अहिलेको अवस्थामा काठमाण्डुको टिम अपूरो छ । ऊ त्यो अभाव विदेशी खेलाडी अनुबन्ध गरेर पूरा गर्ने सोचमा छ । ताजा स्थितिमा काठमाण्डुको टिममा ओपनिङ ब्याटिङका लागि विकल्प छैन । ऊ यो भूमिकाका लागि यसपालि पनि विदेशी खेलाडीमा भर पर्ने देखिएको छ ।

गत सिजनमा अधिकांश खेलमा काठमाण्डुको ओपनिङ ब्याटिङको जिम्मेवारी इंग्ल्याण्डका स्टिफन एस्किनाजी र नेदरल्याण्ड्सका माइकल लेभिटले सम्हालेका थिए, जहाँ उनीहरूको प्रदर्शन अपेक्षाकृत रहन सकेन । यसपालि काठमाण्डुको टिम थप स्तरीय र आक्रामक ओपनिङ ब्याटरको खोजीमा छ । 



उससँग मध्यक्रमका लागि भने प्रशस्त विकल्प छन् । काठमाण्डुसँग यो भूमिकाका लागि भीम सार्की, प्रतीक क्षेष्ठ, उत्तम थापा मगर, राशिद खान र आकाश त्रिपाठी रहेका छन् । उनीहरूमध्ये भीम, प्रतीक र राशिद गत सिजनमा पनि काठमाण्डुमै थिए ।

यसपालि काठमाण्डुको टिममा फिनिसरको भूमिका आदिल आलम र करण केसीले सम्हाल्ने छन्, जो आक्रामक ब्याटिङका साथै बलिङ पनि गर्न सक्छन् । आदिलको आगमनले काठमाण्डु गत सिजनभन्दा थप बलियो देखिएको छ ।

मध्यक्रमको ब्याटिङ मात्र होइन बलिङमा पनि काठमाण्डुको टिम मजबुत छ । उसँग बलरको रूपमा कप्तान करण केसीसहित आदिल आलम, साहब आलम, दीपेश कँडेल, सन्तोष यादव र तुलबहादुर थापा रहेका छन् ।

उनीहरूमध्ये करण, साहब र दीपेशले गत सिजन पनि काठमाण्डुबाटै एनपिएल खेलेका थिए, जहाँ करणले १२ र साहबले ६ विकेट लिए । यस्तै, राशिद खानलाई पनि काठमाण्डुले बलिङमा प्रयोग गर्न सक्छ । गत सिजनमा उनले ६ विकेट लिएका थिए ।

अहिलेको स्थितिमा काठमाण्डुको टिम बलिङमा मजबुत र ब्याटिङमा विदेशी खेलाडीको भरमा छ । ऊ अब विदेशी कोटाबाट तीनजना ब्याटर एकजना बलर अनुबन्ध गर्ने सोचमा छ । साथै काठमाण्डुले ट्यालेन्ट हन्टमार्फत एक स्थानीय खेलाडीलाई भित्र्याउने छ । 

कति सशक्त छ सुदूरपश्चिम रोयल्स ?

कस्ता विदेशी खेलाडीको खोजीमा छ विराटनगर ? 

कुन विभागमा कस्ता विदेशी खेलाडीको खोजीमा छ पोखरा एभेन्जर्स ?

एनपिएल-२ : कति सशक्त छ कर्णाली याक्स ?

एनपिएल २०२५ मा जनकपुर बोल्ट्स कस्ता विदेशी खेलाडीको खोजीमा ?

  • प्रकाशित मिति : १९ भदौ, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया