२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

वर्षौँदेखि याक खर्कमा ​रमाइरहेका छन् नन्दबहादुर

झोलाभरी किताब, कापी र कलम बोकेर विद्यालय जानुपर्ने एउटा बालक जो १३ वर्षकै कलिलो उमेरमा भेडा धपाउँदै मुस्ताङ आए । विक्रम संवत् २०२८ साल बैसाख महिनामा आफ्नो थात थलो म्याग्दीको रघुगंगा–२ सांझापानीलाइ बिदाई गर्दै, वशन्तको पालुवाले बाटो वरपर देखिने हरियाली हेर्दै, भेडा धपाउँदै करिब चार दिन लगाएर मुस्ताङ उक्लिए । 


न्वारनामा पण्डीतले राखिदिएको नाम नन्दबहादुर भण्डारी । तर, वर्षौ भइसक्यो उनलाई मुस्ताङका धेरै जसोले ‘नन्दे’ भनेर बलाउने गरेको पनि । उनलाई अहिले यही नाम सबैभन्दा प्यारो लाग्छ । 



घरको जेठो छोरा भएकोले गर्दा उनलाई जिम्मेवारीको गह्रौं भारी धेरै नै रहेछ । कुरा गर्दै जाँदा त्यही जिम्मेवारीको भारी बोकेर एउटा ठूलो सपना सहित मुस्ताङ आएको बताए । बाबाको अंशमा परेको करिब ६९ वटा भेडा धपाउदै मुस्ताङ आएका उनै नन्दबहादुर भण्डारी अहिले जीवनको ६७ औं वसन्तमा पनि मुस्ताङको उच्च हिमाली लेकमा भेडा धपाउँदै छन् ।

टुकुचेको स्थानीयहरुले बतासे याक खर्कको नाम दिएको उच्च हिमाली लेकमा अहिले पनि निर्धक्कसँग उकाली ओराली गर्न भण्डारीलाई कसैले सक्दैन । उमेर ६७ वर्ष पुगेको भएपनि मनमा अझै जोस र जाँगर प्रस्ट देखिन्छ । 



आजकालका युवाहरु अप्ठयारो भीरमा उक्लदा खुट्टा कमाउँछन् तर नन्दबहादुर बिना कुनै सहारा भेडा चडाउन त्यहि जंगलको भीरमा दैनिक उकाली ओराली गर्छन् । सुरुआतको दिनहरुमा मोहर हात पर्दा र अहिले एउटा भेडा बेच्दा २६ हजार र खसी बेच्दा ४० हजार हात पार्दाको समय उनी छुट्टै आनन्दको महसुस गर्छन् । 

अप्ठयारो भूगोलमा बसेर कठयाङ्ग्रिदो जाडोमा भेडा धपाउन धेरै नै मुस्किल रहेको कारण पनि भावि सन्ततिले यो पेसा अगाल्न नचाहेको हो कि भन्ने उनको धारणा रहेको छ । यसोत देशमा संघीयता लागू भैसकेपछि व्यापक रुपमा कर प्रणालीले आजित बनाएको प्रति उनले दुखेसो पोखे । 

सरकारले दिने सेवासुविधा भने केहि नभएको तर जताततैबाट कर उठाउनाले व्यवसायीहरु मारमा परेको उनले बताए । सुरुआतका दिनहरूमा कुनै पनि करहरू लाग्ने थिएन । अहिले गाउँलेहरूले पनि चरिचरणको लागि भनेर ठाउँ नै पिच्छे चरिचरण (सेप्पल) कर, राजस्व विभागमा कर, घरेलुमा कर र उद्योग वाणिज्यमा कर तिर्दा तिर्दै आजित भइसकेको उनले बताएका छन् । 



  • प्रकाशित मिति : १९ भदौ, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया