गत सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) मा सर्वाधिक कमजोर टिम मानिएको चितवन राइनोजले अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्यो । उसले सबैलाई चकित पार्दै प्लेअफको यात्रा गरेको थियो ।
चितवनले लिग चरणमा सातमध्ये चारमा जित र तीन खेलमा हार बेहोर्यो । तेस्रो स्थानका साथ प्लेअफको यात्रा गरेको ऊ एलिमिनेटरको खेलमा कर्णाली याक्सविरुद्ध २१ रनको हार बेहोरेपछि फाइनल दौडबाट बाहिरियो ।

चितवन यसपटक प्लेअफमा स्थान बनाउने मात्र होइन, उपाधि जित्ने लक्ष्यमा छ ।
कति बलियो छ चितवन ?
चितवनको टिम हाल आउँदो १ मंसिरदेखि सुरु हुने एनपिएलको रणनीति बनाउन र विदेशी खेलाडी अनुबन्धको तयारीमा छ । ताजा स्थितिमा ऊ ब्याटिङ र बलिङ दुवै विभागमा बलियो छैन । र, चितवन त्यो अभाव विदेशी खेलाडी अनुबन्ध गरेर पूर्ति गर्ने योजनामा छ ।
अहिलेको अवस्थामा उससँग ओपनिङ ब्याटिङका लागि देव खनाल, अर्जुन साउद र विपिन रावल विकल्प छन् । उनीहरू पहिलोपटक चितवनको जर्सीमा देखिन लागेका हुन् ।
चितवनले गत महिना सम्पन्न मिनी अक्सनमार्फत देव र अर्जुनलाई समान १५ लाख, विपिन रावललाई ५ लाख तथा रञ्जित कुमार र विपिन आचार्यलाई २/२ लाख रुपैयाँमा अनुबन्ध गरेको हो ।
उनीहरूमध्ये देव र विपिनले गत सिजनको एनपिएल लुम्बिनी लायन्स तथा देवले कर्णाली याक्सबाट खेलेका थिए । चितवनसँग मध्यक्रमको ब्याटिङका लागि दीपक बोहरा, कुशल मल्ल, अमरसिंह रौटेला र विपिन आचार्य रहेका छन् ।

ब्याटिङतर्फ फिनिसरको जिम्मेवारी सम्हाल्न चितवनमा अहिले खेलाडी अभाव छ । बलिङमा पनि चितवनसँग प्रशस्त विकल्प छैनन् । उससँग फास्ट बलरको रूपमा रिजन ढकाल, कमल सिंह ऐरी र गौतम केसी मात्र रहेका छन् ।
यस्तै, चितवनमा स्पिन विभागको जिम्मेवारी रञ्जित कुमार, कुशल मल्ल र विपिन आचार्यले सम्हाल्ने छन् । चितवनमा विकेटकिपरको रूपमा विपिन रावल र अर्जुन साउद रहेका छन् ।
यसरी हेर्दा टिमलाई थप सन्तुलित र बलियो बनाउन चितवन दुईजना आक्रामक ब्याटर, एकजना फिनिसर तथा दुईजना विदेशी बलर भित्र्याउने योजनामा छ । उसले गत सिजनको एनपिएलमा ६ जना विदेशी खेलाडी अनुबन्ध गरेको थियो । तीमध्ये इंग्ल्याण्डका रवि बोपारा र पाकिस्तान सोहेल तनवीरले सानदार प्रदर्शन गरे ।
रविले ८ खेलमा १३५.५४ को स्ट्राइक रेटमा २ सय ८६ रन बनाए । उनी सर्वाधिक रनकर्ताको सूचीमा दोस्रो स्थानमा थिए । यस्तै, सोहेल तनवीर गत एनपिएलमा सर्वाधिक विकेटकर्ताको सूचीमा तेस्रो थिए । उनले ८ खेलमा ५.७३ को इकोनमीमा १४ विकेट लिए ।

यसपालि पनि चितवन अनुभवी विदेशी खेलाडीलाई भित्र्याउने योजनामा छ । गत सिजनमा चितवनका लागि केही घरेलु खेलाडीले पनि राम्रो प्रदर्शन गरे । पहिलो सिजनमा चितवनका लागि ब्याटिङमा कप्तान कुशल मल्ल तथा बलिङमा रिजन ढकालको प्रदर्शन उत्कृष्ट रह्यो ।
कुशलले ८ खेलमा २२३ रन बनाउनुका साथै ९ विकेट लिए । यस्तै, रिजनले ८ खेलमा १३ विकेट लिँदै चितवनलाई प्लेअफमा पुर्याउन महत्वपूर्ण भूमिका खेले । उनीहरू यसपालि पनि सोही प्रदर्शन दोहोर्याउँदै चितवनलाई च्याम्पियन बनाउने योजनामा छन् ।
यो पनि
विदेशी ओपनर र बलरको खोजीमा काठमाण्डु गोर्खाज
कति सशक्त छ सुदूरपश्चिम रोयल्स ?
कस्ता विदेशी खेलाडीको खोजीमा छ विराटनगर ?
कुन विभागमा कस्ता विदेशी खेलाडीको खोजीमा छ पोखरा एभेन्जर्स ?
एनपिएल-२ : कति सशक्त छ कर्णाली याक्स ?
एनपिएल २०२५ मा जनकपुर बोल्ट्स कस्ता विदेशी खेलाडीको खोजीमा ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।