पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी पूर्वकेन्द्रीय उपाध्यक्ष विद्यादेवी भण्डारीले उक्त पार्टीका महाधिवेशन प्रतिनिधिलाई लक्षित गर्दै पत्र लेखेकी छन् । केन्द्रीय कमिटीको साउन ५–६ गते बसेको बैठकको निर्णयको नाममा आफ्नो नवीकरण भइसकेको सदस्यतामाथि प्रश्न उठाइएकाले केही कुरा राख्ने उद्देश्यसहित पत्र लेखेको भण्डारीले उल्लेख गरेकी छन् ।
आजबाट सुरु हुन लागेको एमालेको दोस्रो विधान महाधिवेशनका प्रतिनिधिहरूलाई पत्र लेख्दै भण्डारीले आफूमाथि पार्टीले कुठाराघात गरेको गुनासो गरेकी हुन् ।
‘म अहिले एउटा यस्तो परिवेशमा उभिएको छु, मैले २०३७ सालमा प्राप्त गरेको पार्टी सदस्यता जो मेरो गहिरो आस्था र विश्वासको प्रतीक समेत हो, त्यसमा कुठाराघात गर्ने प्रयास गरिएको छ,’ उनले पत्रमा भनेकी छन्, ‘पार्टीले विशेष निर्णय गरेर देशको राष्ट्रपति हुन पठाएपछि कुशलतापूर्वक सो अभिभारा पूरा गरेर फर्किएँ र अब पार्टीमा नै संलग्न भएर अगाडि बढ्न चाहन्छु भन्दा पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दुःखको विषय हो । यस्तो प्रश्न मेरा निम्ति मात्र होइन कुनै पनि पार्टी सदस्यले भोग्नु हुँदैन भन्ने मेरो अडान हो ।’
भण्डारीले पार्टीमा आफ्नो लामो समयको योगदान र सङ्घर्षको उल्लेख गर्दै, सदस्यता नवीकरणको विषयमा उठेका विवादले पार्टीको एकता र लोकतान्त्रिक अभ्यासमा नकारात्मक प्रभाव पार्न सक्ने पनि बताएकी छन् । उनले पार्टीका अन्य सदस्यहरूलाई पनि आफ्नो अधिकारको रक्षा गर्न र पार्टीलाई सुदृढ बनाउनमा सक्रिय रहन आग्रह पनि गरेकी छन् । आफ्नो जीवनको लामो समय देश, जनता र पार्टीका निम्ति अर्पण गरेको भन्दै भण्डारीले अनेकौँ सङ्घर्ष, कठिनाइ र चुनौतीसँग आफूले कहिल्यै हार नमानेको पत्रमा लेखेकी छन् ।
‘यो पत्र मेरो आत्मरक्षाका लागि होइन, बरु यो हाम्रो पार्टीको उज्ज्वल भविष्यका लागि हो । त्यसैले, तपाईँहरूले यस पत्रलाई आफ्नो अधिकारको रक्षा, पार्टीको सबलता, सुदृढ एवम् दिगो एकताको रूपमा बुझ्नुहुनेछ भन्ने गहिरो विश्वास लिएको छु’, उनले भनेकी छन् ।
उनले स्कुले जीवनदेखि नै पार्टी, जनता र लोकतान्त्रिक मूल्यमान्यताका लागि सङ्घर्ष गरेको स्मरण गराउँदै राष्ट्रपतिसम्मको जिम्मेवारी पूरा गरेर पुनः पार्टीमा सक्रिय रहन चाहेको प्रस्ट्याउँदा आफ्नो सदस्यतामाथि भएको विवादलाई व्यक्तिगत नभई सम्पूर्ण पार्टीको लोकतान्त्रिक संस्कार, मूल्य र एकताको सवालको रूपमा बुझ्न आग्रह गरेकी छन् । यस विषयमा पार्टीले सकारात्मक निर्णय गर्दै सङ्गठनलाई अझ सबल र एकताबद्ध बनाउनुपर्नेमा उनले जोड दिएकी छन् ।
यद्यपि, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलक्षित टिप्पणी पनि भण्डारीले गरेकी छन् । ओलीले भण्डारीलाई पार्टीमा सक्रिय हुन रोक लगाउनु पर्ने बताइरहेका बेला भण्डारीले आफ्नो पत्रमा भनेकी छन्, ‘दुर्भाग्यवश, आज पार्टी नेतृत्वका केही व्यक्तिमा मेरो सदस्यता र भूमिकालाई अस्वीकार गर्ने, निष्क्रिय बनाउने वा बेवास्ता गर्ने प्रवृत्ति देखिएको छ । हाम्रो पार्टीको विधानले कहीँ कतैबाट पनि म पार्टीको सदस्य हुनबाट रोक्नुपर्ने अवस्था देखिँदैन । हाम्रो देश र अन्तर्राष्ट्रिय अभ्यासलाई आधार मान्दा पनि मेरो सदस्यता नवीकरणको सवालमा प्रश्न उठाउनुपर्ने होइन ।’
नेपालको संविधानले समेत प्रत्येक नागरिकलाई मौलिक हकको रूपमा सहभागिता, समानता र स्वतन्त्रताको अधिकार दिएको स्मरण गराउँदै उनले राजनीतिमा क्रियाशील हुन नरोकेको दाबी गरेकी छन् । आफूले एक वर्ष अघि नै पार्टी सदस्यता नवीकरण गरेको दाबी गर्दै त्यसपछि निरन्तर पार्टी कमिटीका बैठक बसेको र तर त्यस बेला केही नभनिएको अहिले आएर विवाद किन झिकियो ? भन्दै प्रश्न पनि गरेकी छन् । भण्डारीले एक वर्ष अघि नै पार्टी सदस्यता नवीकरण गरेको बताएकी थिइन् । तर जब १४ असार ०८२ मा उनले पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गरिन् तब भने सदस्यता नवीकरण नभएको भनिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।