विश्वभरका मानिसलाई एकै ठाउँमा जोड्ने शक्तिशाली माध्यम बनेको छ, सामाजिक सञ्जाल । आजको समयमा सामाजिक सञ्जाल मानिसको दैनिक जीवनको अनिवार्य हिस्सा बनेको छ । फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता सामाजिक सञ्जाल केवल मनोरञ्जनका लागि होइनन्, बरु सूचना आदानप्रदान, सामाजिक सम्बन्ध कायम राख्ने र व्यक्तिगत तथा व्यावसायिक अवसर सिर्जना गर्ने महत्वपूर्ण माध्यम बनेका छन् ।
नेपालमा पनि सामाजिक सञ्जालको प्रयोग तीव्ररूपमा बढ्दो छ । तर, सरकारले कानुनअनुसार दर्ता नपाएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेपछि देशभरि ठूलो हलचल सुरु भएको छ ।
गत साता सरकारले सात दिनको समय तोकेर सूचीकरणको आह्वान गरेको थियो । तर, उक्त समयमा सूचीकरण नभएपछि सञ्चार मन्त्रालयले सूचीकरणमा नभएका सञ्जाल बन्द गर्न निर्देशन दिएको हो । मन्त्रालयले प्लेटफर्मले ७ दिनभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारीसमेत तोक्नुपर्नेछ भनेको थियो । त्यो नभएपछि बन्द भएको हो ।
हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइट गरी पाँच प्लेटफर्म सूचीकरण भइसकेका छन् । टेलिग्राम र ग्लोबल लिंक दर्ताको प्रक्रियामा छन् । यीबाहेकका आम मानिसको जीवनशैली बनिसकेको सामाजिक सञ्जाल बन्दबाट धेरै क्षेत्रमा असर पर्छ । नेपालमा फेसबुक लगायतका सामाजिक सञ्जालको प्रयोग अत्यधिक छ । सूचना आदान–प्रदानदेखि व्यवसाय विस्तारमा पनि सामाजिक सञ्जालको व्यापक प्रयोग भइरहेको छ ।
हाल नेपालमा १ करोड ६५ लाखभन्दा बढी फेसबुक प्रयोगकर्ता छन् । डिजिटल मार्केटिङदेखि अन्य प्रयोजनमा वार्षिक अर्बौंको कारोबार हुने गरेको छ । पछिल्लो केही वर्षयता सामाजिक सञ्जालले व्यापार र व्यवसायको स्वरूपै बदलिदिएको छ । अहिले यी प्लेटफर्मबिना व्यापार गर्नै नसकिने जस्तो अवस्थामा पुगेका छन् । ठूलो कम्पनीदेखि लिएर सडक छेउमा सानो पसल खोल्नेहरूसम्म सामाजिक सञ्जालमा प्रचारप्रसार गरिरहेका हुन्छन् ।
फेसबुक र इन्स्टाग्रामजस्ता प्लेटफर्महरू हजारौं व्यवसायीहरूका लागि ‘डिजिटल पसल’ बनेका छन् । कपडा, खाद्यान्न, हस्तकला र अन्य विभिन्न उत्पादन सिधै ग्राहकसम्म पुर्याउने यो सबैभन्दा सजिलो र प्रभावकारी माध्यम हो । यी प्लेटफर्म बन्द हुँदा उनीहरूको मुख्य व्यापारिक च्यानल नै बन्द भएको छ, जसले गर्दा हजारौं व्यवसायहरू बन्द हुने र बेरोजगारी बढ्ने बताउँछन्, अर्थशास्त्री ज्ञानेन्द्र अधिकारी ।
अहिले घर घरमै बसेर मानिसले सामाजिक सञ्जालको प्रयोगबाट रोजगारीको अवसर खोज्न सक्छन् । सामाजिक सञ्जालको प्रयोगबाट व्यवसाय सञ्चालन गर्न सकिन्छ । पहिलेको जस्तो रोजगारी पाइएन भनेर चिन्ता लिइराख्नु पर्दैन । मानिसले आफ्नो व्यापार, व्यवसायको प्रचारप्रसार गरी सामाजिक सञ्जालका प्लेटफर्मको प्रयोगबाट मुनाफा कमाउन सक्छन् । कुनै संस्था, कार्यालयमा कामदारको आवश्यकता भयो भने यसमै विज्ञापन दिन सकिन्छ । तर, सरकारले अधिकांश सामाजिक सञ्जाल नै बन्द गरेपछि ठूलो प्रभाव पर्ने उनी बताउँछन् ।
‘पहिले व्यापार भनेको पसल खोल्ने, ग्राहक आउन पर्खिने वा विज्ञापनका लागि रेडियो–टेलिभिजनमा खर्च गर्ने भन्ने बुझिन्थ्यो,’ अर्थशास्त्री अधिकारी भन्छन्, ‘तर, अहिले फेसबुक पेजमा आकर्षक तस्बिर हालेर वा इन्स्टाग्राममा भिडियो बनाएर लाखौँ दर्शकको ध्यान खिचिन्छ र यही ध्यान नै ग्राहक बन्छन् ।’

सामाजिक सञ्जाल बन्द हुँदा अर्थतन्त्रमा कति असर पर्छ भन्नेतर्फ सरकारले कुनै विश्लेषण नै नगरेको उनी बताउँछन् । ‘हाम्रो देशमा सनकको भरमा नीति नियम बनिरहेको छ,’ अर्थशास्त्री अधिकारीले फरकधारसँग भने, ‘सामाजिक संजाल बन्द हुँदा त्यसको सकारात्मक तथा नकारात्मक प्रभावको बारेमा सरकारले कुनै अनुसन्धान नै गरेन । यदि सामाजिक सञ्जाल बन्द हुँदा पर्ने प्रभावको विषयमा गहन अध्ययन गरेर बन्द गरेको भए राम्रो हुन्थ्यो । तर, सरकारले सनकको भरमा बन्द गर्यो ।’
सरकारले अधिकांश सामाजिक सञ्जाललाई नेपालमा बन्द गर्नुको असर टेलिकम कम्पनीमा पनि पर्नेछ । यस्तै, विदेशी पर्यटकले नेपालबारे जानकारी पाउन र आफ्नो अनुभव बाँड्न फेसबुक, इन्स्टाग्राम र युट्युबजस्ता प्लेटफर्मको व्यापक प्रयोग गर्छन् । यी सञ्जाल बन्द हुँदा नेपालको सुन्दरता र पर्यटकीय स्थलको विश्वव्यापी प्रचारमा ठूलो धक्का लाग्छ ।
‘हरेक कुराका सकारात्मक र नकारात्मक पक्ष हुन्छन्,’ अर्थशास्त्री अधिकारी भन्छन्, ‘सामाजिक सञ्जालको अवगुण छैन भन्ने किमार्थ होइन । तर, त्यसको समाधान प्रतिबन्ध हुँदै होइन ।’ अन्य विकल्प नदिई सिधै प्रतिबन्ध लगाउनु गलत भएको उनको भनाइ छ । ‘अरू देशले बन्द गर्यो भनेर हामीले पनि बन्द गर्ने अवस्था छैन,’ उनी भन्छन्, ‘अरू देशको आफ्नै प्लेटफर्महरू धेरै छन् । तर, नेपालको त्यो अवस्था छैन ।’
सरकारले स्वदेशी स्टार्टअपलाई प्रोत्साहन गर्न आफ्नै प्लेटफर्म सिर्जना गर्न वा ठूला लगानीकर्तासँग साझेदारी गरेर यस्तो वातावरण बनाउन सक्नुपर्छ । सामाजिक सञ्जालले व्यापार व्यवसायमा क्रान्तिकारी परिवर्तन ल्याएको स्पष्ट छ । यसले सानो उद्यमलाई ठूलो बजारमा पुर्याएको छ ।
ग्राहकलाई सजिलो बनाएको छ भने नयाँ रोजगारी सिर्जना गरेको छ । तर, यसकै कारण प्रतिस्पर्धा अस्वस्थ बनेको छ भने ठगीका घटना बढेका छन् । नियमनको अभाव देखिएको छ । तर, सामाजिक सञ्जाल पूर्णरूपमा बन्द गर्नुको सट्टा त्यसको प्रभावकारी नियमन गर्नु आवश्यक छ । यदि यो व्यवस्थित भएमा सामाजिक सञ्जाल नेपालकै व्यापारिक भविष्यको मेरुदण्ड बन्न सक्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।